भारतबाट आउनेलाई राख्न पर्यटन मन्त्रालयले तोक्यो आठ होटल

भारतबाट आउनेलाई राख्न पर्यटन मन्त्रालयले तोक्यो आठ होटल


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ । नेपाल-भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि होटल सूचीकृत गरिएको हो ।

मन्त्रालयले क्वारेन्टिनका लागि बुधबार जारी गरेको होटलहरूमा गोदावरीको भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौशालाको अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम तथा जगातीस्थित फार्म हाउस रिर्सोट र ए-वान रिर्सोट रहेका छन् ।

यी होटेलमा १० देखि ९१ कोठा उपलब्ध छन् । उल्लेखित होटलको विवरण नेपाल पर्यटन बोर्डले आवश्यकताअनुसार समयसमयमा अधावधिक गरी सरोकारवालालाई सूचित गर्ने मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

सूचीकृत होटलले यात्रुलाई विमानस्थलदेखि होटलसम्म यात्रुलाई ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था मिलाइएको छ । मूल्य अभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति रु तीन हजारसम्म मात्र शूल्क लिन सक्ने गरी होटल दर कायम गरिएको छ ।

नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको पनि सूचनामा उल्लेख छ । यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ ।

मन्त्रिपरिषद्को वैशाख १९ गते भएको बैठकले नेपाल र भारतबीच एयर बबल प्रणाली अनुसार सातामा बढीमा दुई उडान हुने र यसरी आउने यात्रुले यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचिकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे–नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्नुपर्नेछ । होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कार्बाहीका लागि लेखि पठाउनुपर्ने छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको छ । कोभिड महामारीको जोखिम नियन्त्रणकालागि सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।