आइसिसीको महिनाको उत्कृष्ट खेलाडी मनोनयनमा परे कुशल

आइसिसीको महिनाको उत्कृष्ट खेलाडी मनोनयनमा परे कुशल



नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा परेका छन् । आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उनलाई मनोनयन गरेको हो ।

पुरस्कारको घोषणा यही वैशाख २७ गते गरिने छ ।

पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा परेका हुन् । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयन गरिएको आइसिसीले जनाएको छ । यही वैशाख पहिलो साता नेपालमा भएको त्रिदेशीय टी–२० सिरिजमा नेपालका लागि २४ वर्षीय भुर्तेलले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

नेपाल, मलेसिया र नेदरल्याण्डस सम्मिलित सो सिरिजको उपाधि नेपालले जितेको थियो । सिरिज जिताउनमा भुर्तेलको ठूलो योगदान थियो । उनले टी २० क्रिकेटको डेब्यू खेलमै लगातार तीन अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाएर चर्चा र प्रशंसा बटुलेका थिए । सो प्रतियोगिताभर पाँच अर्धशतकसहित सर्वाधिक २७८ रन उनले बनाएका थिए ।

प्लेअर अफ दि सिरिज घोषित भएका भुर्तेलले नेदरल्याण्डसविरुद्धको पहिलो खेलमा ६२, मलेसियाविरुद्धको खेलमा ६१, नेदरल्याण्डसविरुद्धको दोस्रो खेलमा ६२ तथा नेदरल्याण्डससितको फाइनल खेलमा ७७ रन बनाएका थिए ।

सिरिजमा गरिएको प्रदर्शनका आधारमा उनी पहिलो पटक आइसिसीको टी–२० वरियतामा ९३औँ स्थानमा पर्न सफल भएका थिए । आइसिसीले जारी गरेको अर्को वरियतामा भुर्तेल ६१औँ स्थानमा उक्लिएका थिए ।