बुधबार कोरोनाका कारण ५८ जनाको मृत्यु, काठमाडौमा मात्रै १५ जनाको ज्यान गयो

बुधबार कोरोनाका कारण ५८ जनाको मृत्यु, काठमाडौमा मात्रै १५ जनाको ज्यान गयो



बुधबार नेपालमा थप आठ हजार ६५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा पिसीआर विधिबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पिसीआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट ६१६ गरी २१ हजार ३७२ को स्वाब परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ६१० पुगेको छ ।

कोरोना सङ्क्रमण भएका चार हजार ७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । आइसीयुमा ६०० र भेन्टिलेटरमा १५६ जना उपचार गराइरहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ । यस अवधिमा एक हजार ९९३ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ८९ हजार ७८३ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा तीन हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंंमा दुई हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । एकै दिन काठमाडौं उपत्यकामा १५ जनाको मृत्यु भएको छ ।