माधव पक्ष सामूहिक राजीनामा दिनेबारे छलफल गर्दै

माधव पक्ष सामूहिक राजीनामा दिनेबारे छलफल गर्दै



प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिनुहुने भएपछि माधव नेपाल पक्ष थप धर्मसङ्कटमा परेको छ। विश्वासको मत नदिँदा सांसद पद जाने र दिँदा राजनीतिक हैसियत र अहिलेसम्म लिइँदै आएको अडान थला पर्ने हुनाले नेपाल सङ्कटमा परेका हुन् ।

नेकपा एमालेले संदिग्ध २७ सांसदसँग गत साता स्पष्टिकरण मागेकोमा सबैजसोले स्पष्टिकरण बुझाइसकेका छन् । सत्ताइसमध्ये सात समानुपातिक र २० जना प्रत्यक्ष निर्वाचित छन् । माओवादी र काङ्ग्रेसले अविश्वासको प्रस्ताव ल्याएमा फ्लोर क्रस गर्ने र ओलीलाई बिस्थापित गर्न निर्णायक सहयोग पुर्‍याउने गुप्त योजनामा रहेको माधव नेपाल पक्ष त्यसअघि नै विश्वासको मतबारे निर्णय दिनुपर्ने भएकोले सकसमा परेका छन् ।

पार्टी ह्वीप नमान्नेबित्तिकै त्यस्ता सांसदलाई पार्टीबाट निष्कासन गरी समानुपातिक सात जनाको ठाउँमा तत्काल अन्यको मनोनयन हुनेछ । त्यसैले कारबाही भोग्नुअगावै सामुहिक राजीनामा दिएर राजनीति बचाउने या अहिले विश्वासको मत दिएर पद जोगाउने र अविश्वासको प्रस्ताव आएपछि फ्लोर क्रस गर्ने भन्ने विकल्पमा उनीहरूबीच गुप्त छलफल चलिरहेको बुझिएको छ ।

अधिकाङ्श सांसद सामूहिक राजीनामाको पक्षमा भएको बताइन्छ । विश्वासको मत दिनुभन्दा केही समयअघि मात्र राजीनामा दिने सोच बनाइएको एक सूत्रले जनाएको छ । यसरी राजीनामा दिनेको सङ्ख्या १३ देखि बढीमा २० सम्म हुन सक्ने सम्भावना छ । बीस जनाले राजीनामा दिएमा एमालेको कुल १२१ सांसद सङ्ख्या घटेर १०१ मा सीमित हुनेछ ।

हाल प्रतिनिधिसभाका २७५ मध्ये चार जनालाई माओवादीले पदमूक्त गरिदिएपछि २७१ सङ्ख्या कायम भएको छ । त्यसमध्ये काङ्ग्रेस ६१, माओवादी ४८ र उपेन्द्र यादव पक्षका १२ सांसद सरकारको विरूद्ध स्पष्ट देखिएका छन् । महन्थ ठाकुरको पक्षमा सत्रदेखि २३ सांसद रहने विश्वास गरिएको छ। माधव पक्षका बीसै जनाले राजिनामा दिएको अवस्थामा सरकार गठन हुन १२७ सांसदको आवश्यकता रहन्छ, जुन सङ्ख्या पुर्‍याउन प्रचण्डलाई निकै कठिन छ । त्यसैले विश्वासको मत नपाए पनि संसदको ठूलो दलको नेताका हैसियतले केपी ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुनसक्ने प्रबल सम्भावना छ । त्यसपछि विश्वासको मत पाएनन् भने केपीले संसद् विघटन गरेर ताजा जनादेश लिन सक्ने स्थिति उत्पन्न हुनेछ ।