धादिङमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु

धादिङमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु


  • विकाश रौनियार, धादिङ

कोरोना भाइरस कोभिड १९ का कारण मंगलबार धादिङ्गमा एक जनाको मृत्यु भएको छ । गजुरीका एक वृद्धको मृत्युु भएको हो । योसँगै धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यस्तै, धादिङमा मंगलबार थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा निलकण्ठ नगरपालिकामा ६५, धादिङ अस्पतालबाट स्वाव संकलन गराएकाहरुमध्ये ४७, धुनिबेसि नगरपालिकाका २, बेनिघाट रोराङ्ग गाउँपालिकाका १ गरी १ सय १५ र धादिङ स्थायी ठेगाना भई हाल जिल्ला बाहिर रहेका ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लाभित्र अहिलेसम्म सक्रिय संक्रमितकोे संख्या ३ सय ३१ र जिल्ला बाहिर १ सय १९ गरी ४ सय ५० पुगेको छ । जिल्लाभित्र होम आइसोलेसनमा ३ सय १० र हस्पिटल आइसोलेसनमा २४ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा १ सय १४ र हस्पिटल आइसोलेसनमा ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यस्तै बैशाख २० गते धादिङ अस्पतालबाट १०१ जनाको स्वाब संकलन गरी पिसिआर रिपोटको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काभ्रे धुलिखेल पठाउदा धादिङ अस्पतालका सुचना अधिकारीसहित १३ जनाको रिपोट पोजिटिभ आएको छ । योसँगै धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकसहित अन्य स्वास्थ्यकर्मी गरी अस्पतालमा मात्रै कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।