उमेर शारीरिक हो कि मनोवैज्ञानिक ?

उमेर शारीरिक हो कि मनोवैज्ञानिक ?


  • बबिता बस्नेत

‘महिलाको उमेर र पुरुषको कमाई नसोध्नु’ भन्ने भनाइ सानैदेखि सुन्दै आइएको हो । तर यी दुई कुरा सोध्न र भन्न किन नहुने भन्ने कुराको खोजी खासै गरिएन । कतिपयले ‘हुन त महिलाको उमेर नसोध्नु भन्छन् तर पनि… कति वर्ष हुनुभयो ?’ भनी सोध्दा ‘महिलाको उमेर सोध्न नहुनेचाहिँ किन रहेछ ?’ भनेर कहिल्यै प्रतिप्रश्न गरिएन, बरु जवाफमा बडो उत्साहित हुँदै सोधियो- ‘ल भन्नुस् त म कति वर्ष पुगेँ होला ? या कति वर्षकी देखिन्छु ?’ कसैले उमेर सोधेमा प्रायः हामी सबैले नै जवाफमा यस्तै प्रतिप्रश्न गर्ने गर्छौं । महिलाले मात्र होइन पुरुष र अन्य लिङ्गीले पनि त्यसैगरी सोधेको सुनेकी छु ।

यही २०७८ साल वैशाख १७ गते देखि ५० वर्ष लागेँ भनेर लेखेपछि केही आफन्त र साथीहरूले ‘आफ्नो उमेर पनि त्यसरी सार्वजनिक गर्ने ?’ भने । उमेर भन्न किन हुँदैन ? भन्ने बारेमा तर्कपूर्ण जवाफ भने कसैले पनि दिएनन् । मेरो विचारमा समाजमा विगतमा पुरुषको हैसियत कमाइसँग जोडेर हेर्ने गरिएकाले सायद थोरै कमाउनेहरूको आत्मविश्वास नगुमोस् भनेर पुरुषको कमाई सोध्नु हुँदैन भनियो । यता महिलाहरूको संसार पुरुषमा निहित थियो । अहिलेजस्तो आफ्नै कमाई र आफ्नै संसार हुने महिलाको परिकल्पना गरिएको थिएन, जसका कारण महिलाको शरीरले बढी मान्यता पायो । उमेर धेरै भएका महिलाप्रति आकर्षण कम हुने अर्थ लगाइ महिलाको उमेर नसोध्नु भनिएको हुनुपर्छ । यो मेरो अनुमान मात्रै हो । खासमा जीवनमा उमेर र कमाई दुवैले अर्थ राख्छ ।

सानो छँदा ठुलो हुन पाए हुन्थ्यो जस्तो लागेर अलि ठुलो देखिने खालको लुगा लगाइन्थ्यो । कसैले कति ठुली देखिएको भन्दा खुशी लाग्थ्यो । युवा अवस्थामा उमेरको बारेमा खासै सोचिएन । उमेर बढ्दै जाँदा अलि भर्खरको हुन पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ । यो मेरो मात्र नभएर हरेक सामान्य मानिसको मनोविज्ञान हो जस्तो लाग्छ । कतिपय मानिस भन्छन्- ‘मानिस कति वर्ष भयो भन्ने कुराले खासै माने राख्दैन, उमेर त केवल नम्बर मात्रै हो, उमेरले केही गर्दैन ।’ तर वास्तविकताचाहिँ के हो भने नम्बरमा चाहेजति सुन्ना (जेरो) थप्न सकिन्छ, मानिसको उमेर सीमित छ । उमेर ‘नम्बर’ त हो तर यो नम्बर कतिसम्म हुने हो भन्ने थाहै हुँदैन न त चाहेजति थप्न नै सकिन्छ । उमेर मनोविज्ञान मात्रै हो भन्नेहरू पनि छन् । खासमा उमेर साइकोलोजी हो कि बायोलोजी ? मेरो विचारमा दुवै हो । उमेर शारीरिक कुरा पनि हो र मनोवैज्ञानिक या मानसिक सोच र दृष्टिकोणसँग सम्बन्धित कुरा पनि हो । हामी प्रायः उमेर भन्न डराउँछौँ या इच्छा राख्दैनौँ । यसको अर्थ हामी जिन्दगीको वास्ततविकतासँग साक्षात्कार गर्न डराउँछौँ ।

कपाल सेतो होला कि भन्ने डर भन्दा पनि सेतो देखिएला कि भन्ने मनोविज्ञानले हामी त्रसित छौँ त्यसैले रङ्ग लगाउँछौँ । ती रङ्गहरूले आफूलाई के असर गर्छ भन्ने भन्दा आफू कस्तो देखिन्छु भन्ने कुरामा हाम्रो ध्यान गइरहेको हुन्छ ।

केही वर्षअघिसम्म मलाई पनि ‘उमेर किन भन्नु ?’ जस्तो लाग्थ्यो, तर प्रकृतिको नियम र मानव–जीवनको सीमितता बुझ्दै जाँदा यस्ता कुराहरू सामान्य लाग्ने रहेछन् । मानिसले आफ्नो उमेर भने पनि नभने पनि उसको कपाल फुलेरै छाड्छ । हामीलाई बुढो हुन भन्दा पनि देखिन मन लाग्दैन । बुढो हुनबाट रोकिने कुरा हाम्रो हातमा छैन तर नहुने देखिनका लागि कोशिस भने गर्न सक्छौँ । कपाल सेतो होला कि भन्ने डर भन्दा पनि सेतो देखिएला कि भन्ने मनोविज्ञानले हामी त्रसित छौँ त्यसैले रङ्ग लगाउँछौँ । ती रङ्गहरूले आफूलाई के असर गर्छ भन्ने भन्दा आफू कस्तो देखिन्छु भन्ने कुरामा हाम्रो ध्यान गइरहेको हुन्छ । अनुहारमा रेखा बस्दा हामीलाई दुःख लाग्छ । दाँत झर्दा, कान कम सुन्न थाल्दा, आँखा धमिलो हुँदै जाँदा हामीले शारीरिक रूपमै आफू बुढो हुँदै गएको महसूस गरिरहेका हुन्छौँ तर स्वीकार्न हामीलाई यति गाह्रो हुन्छ कि सकेसम्म मुहारसुहाउँदो चस्मा लाउँछौँ र नयाँ दाँत हाल्छौँ । प्रकृतिको नियमलाई भ्रम दिने सामाग्री मानिस आफैले निर्माण गरेका छन्, जसको उपयोग हामीमध्ये धेरैले गरिरहेका छौँ, गर्नुपर्ने अवस्थामा पुग्दैछौँ ।

मानिस बुढो हुँदै जानु या बुढो हुनु मूलतः शारीरिक कुरा हो । वृद्ध हुँदै जाँदा के गर्न हुन्छ र के हुँदैन भन्नेचाहिँ मानसिक र मनोविज्ञानसँग जोडिएको कुरा हो । ‘यो उमेरमा यस्तो गर्ने ?’ भनेर कसैले भन्छ भने बच्चालाई छोडेर अन्य सबै उमेर समूहका मानिसमा त्यो गलत हो । ‘यस्तो भरर्खरकै उमेरमा ध्यान गर्ने ? बुढो भइसक्यो नाच्न जाने ? ६० वर्षमा विवाह गर्ने ?’ विवाहलाई शरीरमा आधारित सम्बन्ध ठान्नेहरूका लागि वृद्ध उमेरमा विवाह गर्नु अनौठो कुरा हो । तर जीवनको हरेक मोडमा असल साथी भए राम्रो ठान्नेहरूका लागि प्रेम र विवाह उमेरसँग सम्बन्धित हुँदैन होला । मानिसको मस्तिष्क, मन, भावना, उर्जा लगायतका कुराले शरीरलाई निर्देश गरिरहेको हुन्छ । केही गरौँ भन्ने उमङ्ग र जाँगर छैन भने युवा भएर मात्रै के गर्नु ? यदि छ भने उमेरले बाधा कहाँ गर्छ ? हो, स्वास्थ्यले भने जुनसुकै उमेरका मानिसलाई पनि बाधा गर्न सक्छ ।

महिनावारी रोकिने बेलामा महिलाको शरीरमा हुने परिवर्तन ‘मेनोपोज’लाई लिएर मैले लेखेको ‘आफ्नै शरीरमा क्लाइमेट चेन्ज भएपछि’ भन्ने लेखलाई धेरैले चाख दिएर पढेको र मनन गरेको पाएँ । किनभने त्यो मेरो विचार नभएर अनुभव थियो । कुनै पनि विषयमा विचार र अनुभव फरक कुरा हुन् । विचार ब्यक्त गर्न सहज हुन्छ तर बिर्सन सकिन्छ, अनुभव बिर्सिइँदैन । आफूले महसूस गरेको कुरा मानिसले हत्तपत्त बिर्सदैन । उमेर बढ्दै जानु पनि महसूस गर्ने कुरा हो । कतिपय मानिस भन्छन्, उमेरसँगै मौनता पनि बढ्दै जान्छ । खासमा उमेरले होइन सोचले, तहले मौनता बढाउने हो । जब मानिसले गहिरिएर खोज, अनुसन्धान र अध्ययन गर्न थाल्छ उसमा बोल्ने शब्दहरू थोरै हुँदै जान्छन् । जति बोल्छ ती कामलाग्ने खालका विषय-बस्तुकेन्द्रित हुन्छन् । भगवान गौतम बुद्ध जति मौन कोही रहेन, उहाँले जति धेरै कसैले बोलेन भन्ने छ । बुद्धले जति बोल्नुभयो अनुभव बोल्नुभयो र, ती सबै स्लोगन बने ।

कतिपय मानिस भन्छन्, उमेरसँगै मौनता पनि बढ्दै जान्छ । खासमा उमेरले होइन सोचले, तहले मौनता बढाउने हो । जब मानिसले गहिरिएर खोज, अनुसन्धान र अध्ययन गर्न थाल्छ उसमा बोल्ने शब्दहरू थोरै हुँदै जान्छन् । जति बोल्छ ती काम लाग्ने खालका विषय-बस्तुकेन्द्रित हुन्छन् ।

कसले कति बोल्यो होइन कि के बोल्यो भन्ने कुराले अर्थ राख्छ । आफूले बोल्ने शब्दहरू जसले पनि घटाउँदै लगे हुन्छ । आफैले घटाउने भन्दा पनि ज्ञानको तह बढ्दै गएपछि बोल्ने कुरा आफै घट्दै जान्छन् । तर हामीकहाँ बोल्न दिएका हरेक ठाउँमा जानेको जति सबै बोल्नुपर्छ भन्ने झैँ छ । लामा-लामा पट्यारलाग्दा बतासे भाषण गरेर र सुनेर मानिसले अमूल्य समय गुजारिरहेका हुन्छन् । प्रायः सभा-समारोहहरूमा प्रशस्त ध्वनी प्रदुषण हुने गर्छ । दार्शनिक लाओत्सेले भनेका छन्- ‘धेरै जान्ने मान्छे कम बोल्छन्, जो धेरै बोल्छन् तिनले धेरै कुरा जानेका हुँदैनन् ।’

के जिन्दगी योजना बनाएर चल्ने कुरा हो ? केही दिनअघि साथी वन्दना राणाले भनेकी थिइ्– ‘७० वर्षसम्ममा के–के गर्ने भनेर मैंले योजना बनाएकी छु । त्योभन्दा बढी बाँचेँ भने जिन्दगी बोनस, अगाडी मरेँ भने लस (घाटा) ।’ हो, मृत्यु हाम्रो हातमा हुँदैन तर योजना बनाएर अगाडि बढ्न सक्यो भने जिन्दगीको वास्तविकतालाई सहज रुपमा स्वीकार्न सकिन्छ । आफू बढीमा यति वर्ष बाँच्छु भनेर मानिसले आत्मसात मात्रै गऱ्यो भने पनि धेरै कुरामा तँछाड मँछाड र हारालुछी हुँदैन जुन हामीकहाँ छ । अन्यत्र पनि छ तर आफ्नो कर्तब्यबाटै च्युत भएर शक्ति-सङ्घर्षमा समय खर्चिने कामचाहिँ राम्रा आत्माहरूले गर्दैनन् । सायद यही भएर होला प्लेटोले दार्शनिकहरूले राज्य सञ्चालन गर्नुपर्छ भनेका थिए ।

उमेरले होइन मानिसको सोचले हरेक कुरामा फरक पार्छ, अर्थ राख्छ । हामीले गर्ने काममा फरक नपारे पनि उमेरलाई रोक्न सकिँदैन, जसरी समयलाई रोक्न सकिँदैन । हामी जन्मिएको, हुर्किएको र बाँचिरहेको मुलुकलाई ‘सिस्टम’मा ढाल्न नसके पनि प्रकृति सधैं सिस्टममा चल्छ । जतिसुकै राम्रो दिन भए पनि रात परेरै छाड्छ, रात जसरी बिताए पनि बिहान उज्यालो भएरै छाड्छ । प्रकृतिका उपज घाम, पानी, जुन, तारा, रुख, चराचुरुङ्गी, जनावर सबै आ-आफ्नो सिस्टममा चलेका छन् । ‘के सबै मानिस बुढो हुन्छन् ? म पनि हुन्छु ?’ यही प्रश्नले राजकुमार सिद्धार्थलाई भगवान् गौतम बुद्ध बनायो । पहिल्यै धेरै खोज, अनुसन्धान र अभ्यास भइसकेकाले यति बुझ्न तपस्या गरिरहनु नपर्ने अवस्थामा हामी छौँ । मानिसको उमेर शारीरिक र मनोवैज्ञानिक दुवै हो तर मृत्युचाहिँ यी सबै कुराभन्दा माथि अकाट्य सत्य हो । अन्तिम सत्यलाई हामी पन्छाउन सक्दैनौँ तर उमेरलाई चाहिँ ‘यस्तै त हो नि, सकेको राम्रो गर्ने हो’ भनी आत्मसात गर्दै अघि बढ्न सक्छौँ ।