रौतहटमा मास्कको मूल्य रु. ५ तोकियो, बढी मूल्य लिनेलाई कारवाही गरिने

रौतहटमा मास्कको मूल्य रु. ५ तोकियो, बढी मूल्य लिनेलाई कारवाही गरिने


  • आरके श्रीवास्तव, रौतहट

रौतहटमा सर्जिकल मास्कको मूल्य ५ रुपैयाँ निर्धारण भएको छ । रौतहट उद्योग वाणिज्य संघले मंगलबार सर्जिकल मास्कको मूल्य ५ रुपैयाँ निर्धारण गरेको हो ।

रौतहट जिल्लाका शहर बजारमा बढी मूल्यमा सर्जिकल मास्क बिक्री भइरहेको भनी नागरिक स्तरबाट व्यापक रुपमा गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले मास्कको न्युनतम मूल्य निर्धारण गरिदिन रौतहट उद्योग बाणिज्य संघलाई अनुरोध गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय गौरले गरेको अनुरोधलाई मध्यनजर गर्दै उद्योग बाणिज्य संघ रौतहटले नेपाली सर्जिकल मास्कको मूल्य ५ रुपैयाँ तोकेको हो । उद्योग बाणिज्य संघले मास्कको मूल्य ५ रुपैयाँ तोकेकोले यसअघि १० रुपैयाँमा बिक्री हुँदै आएको मास्क अब ५ रुपैयाँमा उपलब्ध गर्नुपर्ने भएको छ ।

हालको अवस्थामा कोरोना महामारीबाट जुध्न मास्क अति आवश्यक भएकोले सर्जिकल मास्क ५ रुपैयाँमा मात्र बिक्री वितरण गरी आमजनतालाई सहयोग गर्न उद्योग वाणिज्य संघ रौतहटले जिल्लाका सम्पुर्ण व्यवसायीलाई आग्रह गरेको छ ।

योसँगै रौतहटमा अब १० रुपैयाँमा बिक्री हुँदै आएको मास्क ५ रुपैयाँमा बेच्नुपर्ने भएको छ । तोकिएको मुल्य ५ रुपैयाँ भन्दा बढीमा मास्क बिक्री वितरण गरेको पाइएमा कडा कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैबीच उद्योग वाणिज्य संघले एक सूचना जारी गर्दै यस संकटको घडीमा खाद्यान्न सामग्रीको कृतिम अभाव नगर्न व्यावसायीहरुलाई अपिल गरेको छ ।

कोरोनाबाट विश्वसहित नेपाल अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा अति आवश्यक खाद्यान्नलगायत सामग्रीको कृत्रिम अभाव सृजना नगरी उचित मूल्यमा मात्र बिक्री वितरण गर्न जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरेको उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडितप्रसाद जयसवालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।