२५ बैशाख २०७८, शनिबार

वैदिक साम्यवादलाई नियाल्दा…

  प्रकाशित मिति
१८ बैशाख २०७८, शनिबार ०५:४५


  • दिवाकरविक्रम शाह

मैले जानेबुझेसम्म विशुद्ध राष्ट्रवादी र सम्पूर्ण स्थावर तथा जङ्गम आत्मका हिमायती योगी नरहरिनाथ अष्टाङ्गयोगसिद्ध योगी नै हुनुहुन्थ्यो । वहाँले स्वआत्मा मात्र होइन, परआत्मा तथा परमात्मालाई झन् बढी चिन्नुभएको थियो । मानसिक विकार भन्नु नै काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यरूपी षड्रिपुहरू हुन् । तर, वहाँलाई ती कुनै पनि विकारले स्पर्शसम्म पनि गर्न सकेकै थिएन भन्ने यथार्थता त वहाँका निष्काम भाव र अपरिग्रहजस्ता सद्गुणहरूले नै प्रमाणित गर्दथ्यो जो वहाँका सत्सङ्ग पाउनु भएका अनगिन्ती महानुभावहरूले पनि अनुभूत गर्नु भएकै तथ्य हुन् ।

हाल ज्ञात हुन आएसम्म ३९४ प्रकाशित र १७७ प्रकाशोन्मुख गरी ५७१ वटा धर्म तथा राष्ट्र एवम् राष्ट्रियताले खोज र ओजपूर्ण सारगर्भित मौलिक पुस्तक, पुस्तिकाका द्रष्टा र श्रष्टा वहाँ श्री शिवगोरक्षनाथका प्रतीक तथा नेपाल आमाका एक वरदपुत्र नै हुनुहुन्थ्यो । आजकाल धेरै व्यक्तित्वहरूमा विद्वता देखिञ्छ तर सिद्धता देखिएको छैन । वहाँ त विद्वताका साथै सिद्धता समेत भएका महामना नै हुनुहुन्थ्यो भन्ने व्यहोरा वहाँका कार्यले नै सिद्ध गर्दछ ।

तिनै योगीद्वारा लिखित कृति र हिमालयको मुहानबाट छङ्छङ् गर्दै बहने निर्मल छहराझैँ सत्सन्देशहरूद्वारा प्रभावित कैयौं व्यक्तित्वहरू सुशिक्षित र विद्वतवर्ग भएको होलान् । योगीकै अग्रसरतामा संस्कृत विश्वविद्यालयहरू, विश्वहिन्दू महासंघजस्ता प्रतिष्ठित संस्थाहरू संस्थापित भए जुन अद्यापि छँदैछन् । ती संस्थामा समेत योगीका शुभनाम विरलै लिएको सुनिञ्छ, विडम्बना नै भन्नु पर्दछ ।

वर्तमानको कलियुगका एक वेदव्यास नै भन्न सुहाउने तिनै सिद्धयोगीकृत अनेकौँ कीर्तिहरू मध्ये ‘वैदिक साम्यवाद’ पनि एक अमर कीर्ति हो ।

हुन त वैदिक साम्यवाद शीर्षकको योगीको सो लेख पढिनसकेकाले झट्ट सुन्दा आधुनिक साम्यवाद (कम्यूनिज्म) नै ठान्लान् । तर, अध्ययन गर्ने हो भने वास्तवमा त्यो कदापि होइन । वैदिक साम्यवाद त ‘वैदिक सनातन धर्मकै वैदिक समवाद’ वा ‘समन्वयवाद’ वा सहवाद (सहअस्तित्ववाद) मात्र हो । अतः वैदिक सनातन धर्मको मूल मूहान ऋग्वेद, यजुर्वेद, धनुर्वेद, गान्धर्ववेद र स्थापत्यवेद गरी चार उपवेदहरू पनि छन् । प्रत्येक वेदको एक-एक ब्राह्मणग्रन्थ पनि मानिएको छ । ऋकको ऐतेरय, यजुको शतपथ, सामको साम र अर्थवेदको गोपथब्राह्मण ग्रन्थ हुन् ।

त्यसैगरी उपनिषद् छन्, जुन १०८ प्रकारका छन् । केहीको नाम ईसावाष्य, केन, कठ, प्रश्रन, मुण्ढक, माण्डुक्य, तैत्तिरिय, छान्दोग्य, बृहदारण्यक, स्वेचाचोत्तरक इत्यादि ।

वेदाङ्गहरू- शिक्षा, कल्प, निरूक्त, छन्द, ज्योतिष र व्याकरण शास्त्रहरू हुन् ।
वेदोपाङ्ग वा षड्दर्शनहरू न्याय, वैशेषिक, मीमांसा, सांख्य, योग र वेदान्त दर्शनहरू हुन् ।

त्यस्तै, महर्षि वेदव्यासकृत १८ वटा महापुराण र १८ वटा उपपुराणहरू पनि छन् ।

साथै, योगवाशिष्ट, रामायणहरू महाभारत, गीताहरू स्मृतिग्रन्थहरू इत्यादि पनि छन् । उपर्युक्त वेदहरू र वेदविहीन सम्पूर्ण वैदिक सनातनी हिन्दू धर्मशास्त्रहरू संख्यात्मकताको अतिरिक्त अत्यन्त गूढ तथा गुणात्मक समेत छन् ।

माथि उल्लेखितलगायत हाम्रा अन्य शास्त्रहरू पनि नभएका होइनन्् । सो उल्लेख गर्नाको कारण हाम्रा विश्वकै प्राचीनतम् धर्मशास्त्रहरू आत्मदर्शनरूपि वैदिक समवाद भनौ वा समन्वयवाद भनौँ वा सहवाद (सहअस्तित्ववाद) हरूले नै ओतप्रोत वैदिक साम्यवाद हो । सोको ताङ्खिवक अर्थ आत्मीयतावाद नै हो । सोको सम्पुष्टिमा केही शास्त्रीय उक्ति पनि उद्धृत गर्दा प्रासङ्गिक नै होला-

आत्माखलू विश्वमूलम्, कृण्वन्तो विश्वमार्यम्
(भावार्थ : आत्माहरू नै विश्वको मूल हुन, विश्वलाई आर्य तुल्याऊ)
आत्मनः प्रतिकूलनि परेषां न समाचरेत्
(आफ्नो आत्मालाई प्रतिकुल लाग्ने अरूलाई पनि नगर्नु)
मा हिंस्यात् सर्वाभूतानि
(कुनै पनि प्राणीको हिंसा नगर्नु)
दया धर्मस्य मूलं हि
(दया नै धर्मको मूल हो)
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा काश्चिद् दुःख भाग्भवेत् । ।
(सबै सुखी रहुन् । सबै निरोगी रहुन्÷सबैले भलो देखुन्/कसैलाई पनि दुःख नहोस्)
सर्वजन हिताय सर्वजन सुखाय धर्मो
(सबैजनको हित र सबैजनको सुख नै धर्म हो)
परोपकारः पुण्याय पापाय परपीडनम्
(परोपकार नै पुण्य हो, परपीडा पाप हो)
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी
(जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन)
दुष्टस्य दण्डः सुजनस्य पूजा
(सज्जनलाई सम्मान, दुष्टलाई दण्ड) आदि, इत्यादि ।

माथिका उक्ति हाम्रा वेद र वेदविहीन धर्मशास्त्रहरूका केही उदाहरण मात्र हुन् । विश्वका लागि नै महनीय यस्ता शाश्वत सत्य वाक्य भएका धर्मग्रन्थहरू त कति छन् कति !

ती सम्पूर्ण धर्मशास्त्रहरूका निचोड नै केवल मानव अपितु समस्त जङ्गम प्राणीलगायत स्थावर– बोट, विरूवा, वृक्ष, वनस्पति इत्यादि प्रति समेत विवेक विचार पुर्‍याउनु नमार्नु, नमास्नु हो ।

सो वैदिक साम्यवाद नामक लेखमा के धार्मिक, के समाजिक, के आर्थिक । के न्यायिक, के राजनीतिक आदि हर क्षेत्रमा संक्षेपमै भए पनि शास्त्रसम्मत एवम् विवेचनात्मक वर्णनहरू पाइञ्छन् । ती सम्पूर्ण शास्त्रोक्त यथार्थताहरू हाम्रो वैदिक दर्शनका मार्गदर्शक सिद्धान्त नै हुन् जुन कार्यान्वयन हुन नितान्त जरुरी देखिञ्छ । यसर्थ, वैदिक साम्यवादलाई योगी नरहरिनाथको लेखोट मात्र भन्न मिल्दैन । वहाँले त सारांशमा भएपनि वैदिक धर्मशास्त्रहरूका सारगर्भित मर्महरूलाई उजागर गरिदिनुभयो, जसरी स्कन्द महापुराणको हिमवत्खण्डलाई उजागर गरिदिनु भएर सोको महत्ता जान्न, बुझ्न सर्वसुलभ भयो ।

सो वैदिक साम्यवादमा सम्पूर्ण भौतिक पक्षहरू आध्यात्मिक पक्षबाट निर्दिष्ट हुनुपर्दछ र ती दुवै पक्षहरू सोही अनुरूप सामानान्तरमा चलेर अन्ततोगत्वा एउटै बिन्दुमा पुग्नुपर्दछ भन्ने सद्विचार रहेको छ । यही नै राष्ट्र र विश्वशान्तिको एकमात्र अत्युत्तम मार्ग वा उपाय हो । किनकि, यसमा समस्त जङ्गम र स्थावर प्राणीको समेत आत्मा छ, समान अधिकार छ भन्ने प्राकृतिक न्यायको पनि सतविचार अन्तर्निीहत छ । न्याय दूधको दूध, पानीको पानीमै निष्पक्ष हुनुपर्दछ । अन्याय, अशान्ति कही हुनुहुन्न कल्याणदायी शिवशान्ति हुनुपर्दछ, न कि शवशान्ति अर्थात् मुर्दाशान्ति ।

यसमा व्यक्ति, समाज र राष्ट्रले सत्कर्म गरेर नै आर्थिक उन्नति गर्नुपर्ने, राज्यको प्रशासनिक सुरक्षा व्यवस्थादि सवल र सुदृढ हुनुपर्ने र राज्यमा सुनीतिपूर्वक नै सुख, शान्ति गरिनुपर्ने व्यहोराहरू प्रचूर मात्रामा छन् ।

उपर्युक्त व्यहोराका अतिरिक्त मानव अधिकारमात्र होइन, ईश्वरको सृष्टिमा अन्य सम्पूर्ण प्राणीहरूको समेत यस धर्तीमा समान हक अधिकार छ र सबैले सबैको कल्याण हुने कार्यमा लाग्नु नै परम धर्म र कर्म हो भन्ने उच्च र विशाल लक्ष्य छ । म होइन हामी, मेरो होइन हाम्रो भन्ने भावना प्रतिविम्बित छ ।

भौतिकतावादीलाई एकलकाँटे तवरमा जे-जति चाहिञ्छ, केवल बाँचुञ्जेल मात्र चाहिञ्छ । तर, आध्यात्मवादी (वैदिक साम्यवादी) लाई एकलकाँटे तवरमा त चाहिंदै चाहिंदैन । बरू उसलाई त मरेपछि चाहिञ्छ, त्यो हो सत्- चित्-आनन्द धाम अर्थात् मोक्ष ! यावत् मनसा, वाचा, कर्मणा आदर्शवादले नै मानवलाई मानवरूपी दानव समाज. नबनाएर मानव समाजै बनाउँदछ र अझ देव समाजझैं बनाउन पनि सक्दछ भन्ने तथ्यहरू उद्गारित छन् ।

यस्तो विश्वकै सर्वप्राचीन वैदिक सनातनी हिन्दू धर्म र कर्म (कार्य) अध्ययन गरेर कार्लमाक्र्स, फ्रेडरिक एङ्गेल्स, भ्लादिमिर लेनिन जस्ताले आधुनिक साम्यवादको सूत्रपात गरेका थिए । तर, तिनले र लोकतन्त्रवादी हौ भन्ने (पुंजीवादी तथा इसाइवादी) हरूले वैदिक साम्यवादका मूल्य मान्यताहरूलाई लत्याएर आ-आफ्नै क्षुद्र स्वार्थका लागि लगभग एकै किसिमको द्वन्द्वात्मक भौतिकवादोन्मुख भए । तिनका अनुयायी हौ भन्नेहरू अझ उग्ररूपमा प्रस्तुत भैरहेका देखिञ्छन् । फेरि माक्र्सवाद त यूरोपमा इसाइको क्रुर शासनविरुद्ध विद्रोही विचार थियो । वर्तमानमा ती वादीहरूमध्ये पनि लोकतान्त्रिक (इसाइ) वादी नै फैलिएको अनुभूति हुन्छ । तिनले आधुनिक साम्यवादीका अवसरवादीहरूलाई क्षुद्र स्वार्थमै भुलाइ हतियार तुल्याएर वैदिक साम्यवादका सच्चा आदर्शहरूलाई अन्तर्घात गर्दैछन् । विश्वका अन्य धर्मावलम्बी राष्ट्रहरूमा दोहन र इसाइकरण गर्नका लागि हैकम जमाउँदै छन् । हैकम जमाउन नसकेको स्थितिमा विभिन्न वहानामा आपसी फुट गराएर ध्वंसात्मक भौतिकवाद मच्चाएर विध्वंश गरिरहेका अनेकौ दृष्टान्तहरू छन् ।

उहिले संविधान नै थिएन । मात्र धर्म नामक दुई अक्षरको एउटा शब्दको शाश्वत सत्यको आधारमा शासन, व्यवस्थादि चल्दथ्यो । पछि आएर आधुनिक साम्यवाद र पूँजी (इसाइ) वादको फ्युजनमा अन्य राष्ट्रका धर्मावलम्बीलाई चाहिँ धर्म भनेको अफिम हो भन्ने झुट्टा भ्रम फैलाउँदै द्वन्द्वात्मक भौतिकवादका साथै इसाइकरण चलाइरहेका छन् । यद्यपि, आधुनिक साम्यवाद त निस्तेजप्रायः हुन लागेको आभास हुञ्छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा वि.सं. २०५८ सालकै राष्ट्रिय जनगणनामा पनि ९३ प्रतिशतभन्दा बढी जनसंखया हिन्दू बहुल हुँदाहुँदै तिनै दुई वादीका गठबन्धनले लोकतन्त्रको नाम भट्याउँदै लोकतन्त्रकै उपहास गरेर वि.सं. ०६२/६३ को कथित जनआन्दोलनको म्याण्डेट नै नभए पनि निशाचरलेझै रातारात धर्मनिरपेक्षता घोषणा गरे । त्यस्तै अनेकानेक कर्तुतहरू पनि गरेका छन् ।

शासक भनाउँदाहरूमा धर्म शून्य भएपछि यस्तै यस्तै उपद्रो हुँदोरहेछ, शास्त्रवचन झुट्टा हुँदैन । झन् सर्मसमेत नभएपछि त जति ब्रह्मलुट गरेर भए पनि अधिनायक हुने भयो । तर, सुषुप्तावस्थाबाट जनता जनार्दन जागरूक भएपछि लाग्दछ । यसका लागि ‘जनता आऊ, देश र धर्म बचाऊ भन्नैपर्ने भएको छ । यदि, अब पनि एकत्रित भएर नआउने हो भने भयावह अवस्था जनताकै हुन जानेछ । अन्त्यमा, सिद्धयोगी नरहरिनाथकृत ‘वैदिक साम्यवाद’ अवश्य अध्ययन गरौँ ।

योगीमा वैदिक शक्ति थियो, २०१७ सालपछिको चर्चित गोरखा घटनामा आज गोरखा भएका योगी तेस्रो दिन जुम्ला पुग्नुभयो । यसरी पैदल पुग्नु आश्चर्यजनक थियो हामी जस्ताका लागि । उहाँले यो संसार छोड्दा मुखबाट आगोको ज्वाला निस्कियो जहाँ म उपस्थित थिएँ । उहाँ सिद्ध कर्मयोगी पनि हो ।

(अर्जुन ज्ञवाली र पेशलकुमार निरौलाद्वारा सम्पादित वैदिक साम्यवाद योगी नरहरिनाथ दोस्रो संस्करणबाट)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका

विशेष प्रतिनिधि, दाङ दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने