जनगणना र लामालाई सलामी दस्तुर !!

जनगणना र लामालाई सलामी दस्तुर !!


  • मोहन लामा रुम्बा

यसो गम खाएर कहिलेकाहीँ सोंच्छु, अचम्म लाग्छ ! आजको हाम्रो सामाजिक परिवेश देख्दा यस्तो लाग्छ- होइन म कुनै अर्कै देशमा त छैन ?

नेपाल त्यो देश हो जहाँ कहिल्यै धर्मको आधारमा समाजमा कित्ता छुट्टिएन ! नढाँटि भन्ने हो भने यहाँनेर हिन्दु समुदायलाई हामी हिन्दु हौँ भन्ने न थाहा थियो न त बौद्धलाई हामी बौद्ध हौँ फलानो समुदायचाहिँ हिन्दु हो भन्ने नै थाहा थियो । निश्चित वर्गलाई बाहेक आम सर्वसाधारणमा म कुन धर्मको, त्यो कुन धर्मको भन्ने नै थाहा थिएन । हाम्रै बाउबाजेको पालासम्म पनि ! सबैलाई एउटै थाहा थियो बाउबाजेको धर्म, पू्र्खाउली बिँडो धान्नुपर्छ, सनातनदेखि चलिआएको धर्म, यस्तै–यस्तै मात्रै थियो आमबुझाइ ! यहाँको माटो हावापानी वन–जंगल समाज यस्तो थियो कि दुग्ध र पानी घुलमिल भएजस्तो अन्तर्घुलित संस्कृतिले एकापसमा बाँधीराखेको थियो । हुन सक्छ सुक्ष्म यन्त्रले हेर्दा पानीको अस्तित्व अलग्गै थियो होला, दुग्धको पदार्थ अलग्गै थियो होला तर दुग्धजन्य पदार्थ र पानी मिसेर नेपाली संस्कृतिको विनिर्माण भैसकेको थियो । त्यसैले प्राचीन कालदेखि धर्मको इतिहास पल्टाएर हेर्दा नेपालको न त भारतिय सामाजिक इतिहाससँग मेल खान्छ न त तिब्बती सामाजिक इतिहाससँग नै मेल खान पुग्छ !

त्यसैले प्राचीन कालमा आएको चिनियाँ बौद्ध भिक्षु हुयेन साङले नेपालको (उपत्यकाको) चित्रण गर्दा एउटै भित्तामा दायाँबायाँ बसेर हिन्दु बौद्धले पुजा गर्ने रहेछ भनेर वस्तुगत घटनाको विवरण टिपोट गरेको थियो भने अर्को इस्ट इन्डिया कम्पनीको दूत बनेर नेपाल आएको सिल्भा लेभीले उपत्यकामा बसेर यहाँको धार्मिक साँस्कृतिक सामाजिक व्यवस्था अध्ययन गरेर लेखे– ‘हाम्रा (अंग्रेज) हरूले नेपालको धार्मिक क्षेत्रको अध्ययन नै नगरीकन लेख्छन् । भारतको भन्दा अलग्गै छ नेपालको अवस्था ! झन्डै एक शताब्दीअगाडि नै आफ्नो पुस्तक हिन्दुराज्यमा उनले यस्तो लेखेका थिए ।

नेपालमा राणा सरकार फालेर २००७ मा भएको राजनीतिक परिवर्तनपछि नेपालको धार्मिक साँस्कृतिक विशिष्ट पक्ष के छ भनेर नेतृत्व तहमा यस विषयलाई कहिल्यै गम्भीरतापूर्वक लिइएन ! उनीहरूले रुसको बोल्सेभिक क्रान्ति, फ्रान्सेली क्रान्ति, समाजवाद पुँजीवाद भन्दै दोस्रो विश्वयुद्धको चर्चा गर्दैमा समय फाले ! पश्चिमी युरोप अमेरिका हाम्रो सामाजिक आर्थिक धार्मिक विकासको रोलमोडल भयो, नेपालको राजघराना उच्च ओहदाको नोकरशाही वर्गदेखि नेताहरूको सन्तानको शिक्षादीक्षा इसाई मिसनरीले खोलेका स्कुलमा दिन सुरु गरे, जसको परिणामस्वरूप हो आजको नयाँ नेपाल ।

आजको यो नयाँ नेपालमा तँ हिन्दु तँ बौद्ध तँ किराँत, बोन, मस्टो भन्दै तँ–तँ र म–म जुन भैरहेको छ भोलि गएर यस्तै हुन्छ भनेर धेरै अगाडि झन्डै ७० वर्षअगाडि नै टोनी हेगनले भनिसकेका थिए । उनी सन् १९५० मा पहिलो स्विस विकास सहयोग अभियान लिएर नेपालमा आइ सन् १९५२ मा नेपाल सरकारको मातहतमा र संयुक्त राष्ट्र सङ्घको तर्फबाट नेपालसम्बन्धी खोज र अनुसन्धानमा जुटिरहेको बेला एकपटक नेपालले कसरी जनगणना गरेर तथ्यांक राखेको रहेछ भनेर तथ्यांक विभागमा गएर हेर्दा ठ्याक्कै युरोपेली मोडेलको जनगणना गरेको देखेर अचम्मित हुँदै युरोपेली समाज र नेपाली समाज त फरक छ अब यसरी जनगणना गर्दै गए भविष्यमा नेपालमा सामाजिक द्वन्द्व हुन्छ भनेर त्यतिबेला नै चिन्ता व्यक्त गरेर आफ्नो पुस्तकमा लेखेका थिए, जुन आज सत्य सावित भैसकेको छ ।

यो देश शैव बौद्धहरूको तन्त्र अभ्यास गर्ने तान्त्रिकहरूको देश हो, थियो र छ । तन्त्रले सबैलाई एक ठाउँमा उभ्याउँछ । बौद्ध तान्त्रिक जामन गुभाजु प्रख्यात छन् । प्रत्येक युद्धअगाडि नेपालको हिन्दूराजाले बज्राचार्य तान्त्रिक गुभाजुहरूलाई अगाडि सारेर सेनाको जीउ बाँध्ने काम गर्दथे । बज्राचार्यले बज्र भैरवको तन्त्र साधना गर्दथे । पृथ्वीनारायण शाहको दरबारमाथि बज्र भैरवको थान नै छ । यो काम उपत्यकामा मात्रै होइन लमजुङको दरबारदेखिको इतिहास पाइन्छ । यस्तै एउटा इतिहास (दिनेशराज पन्त– गोर्खाको इतिहास) पृथ्वीनारायण शाहको बुबा नरभुपाल शाहको पालामा आम्दानी–खर्चको टिपोटमा विभिन्न खर्चको विवरणमध्ये एउटा खर्च छुट्टाएको रहेछ ‘भुटानी धर्म लामाको सलामी खर्च रु–१’ भनेर । लामालाई सलामी दस्तुरस्वरुप १ रुपैयाँ चढाएको रहेछ । त्यो राजकीय सलामी त्यतिबेलाको १ रुपैयाँँ धनराशि ठुलो त यसै भैगयो, त्यसमाथि राज्यले दस्तुर टक्राएर लामालाई राजकीय सलामी चढाउने शाहवंशीय राजपरम्परा र आजको हाम्रो नेपाली समाज तुलना गरेर हेरौँ अनि सोचौँ त एकपटक ! हामी साँच्चै त्यही नेपालमा छौँ र ? हामी त्यही नेपाली हौँ र ?

बाँकी के लेखौँ ! जनगणना हुँदैछ । यही संक्षिप्त दुई शब्दका साथ ‘कारण’ र त्यसको ‘परिणाम’ बारेमा उल्लेख गरेपछि बुझ्नेले यत्तिकैमा पक्कै बुझे होलान् । सबैको जय होस् !!