मिडियाको आवरणमा फस्टाएको व्यापार

मिडियाको आवरणमा फस्टाएको व्यापार


  • गोपाल पराजुली

अदालतको अपहेलनामा मुद्दा चल्दा ११ पानाको आदेशमा जे बोलिएको थियो, त्यसलाई लिएर उक्त मिडियाले राजनीतिक पार्टीहरू, लगानीकर्ता र आफूलाई समाजमा केही हुँ भन्नेहरूलाई उतार्न कसरत गरिरह्यो । कतिपय पार्टीका वरिष्ठ नेतासमेत अदालतका प्राङ्गणमा उत्रिए तर पत्रिकाले लेखेका खबरहरूमा सत्यता थियो या थिएन भन्ने पुष्टि गर्नतिर उनीहरू कोही पनि लागेनन् ।

म मिडियालाई सम्मान गर्छु । मिडिया राष्ट्रका पहरेदार हुनुपर्छ । राष्ट्रको विकासमा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्छ । पत्रकारको कलमबाट केवल सूचना सम्प्रेषण हुने मात्र होइन, नागरिक सचेतना फैलाउन सकिन्छ । त्यसैले रामराजा पौडेलले पत्रकारिताको किताबमा लेखेजस्तो– रामको जस्तो सत्यवादिता, कृष्णको जस्तो व्युत्पन्न मति, दशरथको जस्तो कीर्ति, बेन्जामिन फ्राङ्कलिनको जस्तो आविष्कार, पुलित्जरको जस्तो जाँगर, एकलव्यको जस्तो एकाग्रता, अर्जुनको जस्तो दृष्टि, अब्राहम लिङ्कनको जस्तो सोच आदि हुनुपर्छ । कसैप्रति प्रतिशोध राख्नुपर्ने, पूर्वाग्रही हुनुपर्ने कुनै कारण नै छैन । आफ्नो गल्तीको स्वीकार्यता नै सबैभन्दा ठूलो कुरा हो । आफू सुध्रिन सक्नु नै महानता हो ।

एकपटक त्यसका प्रकाशक कैलाश सिरोहियाले ‘हाम्रो बीचमा अन्डरस्ट्यान्डिङ ग्याप भएजस्तो छ, म उहाँका विरुद्ध लेख्दिनँ । एकपटक भेट्न पाऊँ’ भनी खबर पनि पठाएका रहेछन् । ‘तपाईं मिडियाको धर्मभित्र रहनुस्, न्यायमाथि विश्वास गर्नुस्, आफैं समझदारी कायम हुन्छ’ भनेँ । अनि उनले अब मेरो पत्रिकामा आर्टिकलहरू पठाइदिनुस् भन्ने आग्रहसमेत गरेका थिए ।

‘अति गर्नु तर अत्याचार नगर्नु भन्ने भनाइ हाम्रोमा प्रचलित नै छ । एउटा बहालवाला प्रधानन्यायाधीशका विरुद्धमा बिग मिडिया हाउस र त्यसका मालिकले जे गरे, सामान्य जानकारी मात्र राख्नेहरूका निम्ति त्यो अकल्पनीय छ । २०७४ को मङ्सिरदेखि मेराविरुद्धमा बिस्तारै पूर्वनियोजित र योजनाबद्ध रूपमा अफवाहको थालनी गरेको त्यस मिडियाले पुसको अन्तिमताकादेखि फागुन महिनाभर निरन्तर केवल मेरो खोइरो मात्र खनिरह्यो । सुरुमा विभिन्न प्रकारका मिथ्या प्रसङ्ग बनाएर बाहिर ल्याइयो, तर जब ती कुरा पुष्टि हुन सकेनन् अनि सुरक्षित अवतरणका लागि अनेक बहाना खोज्न थाल्यो । राज्य सिध्याउने षड्यन्त्रमा लागेका देशी–विदेशी तत्वहरू उनीहरूले भनेअनुसार मैले न्यायमूर्तिको कुर्सी दुरूपयोग हुन नदिएका कारण मसँग असन्तुष्ट थिए । तिनै तत्वसँग उसको गठजोड बन्यो, षड्यन्त्रका लागि अकुत रकमको जोहो भयो अनि उनीहरू सामूहिक रूपमा कुर्लन थाले । के यसको हिसाबकिताब र गाम्भीर्य बोध आफूलाई राष्ट्रवादी भन्नेहरूले गर्नु जरूरी थिएन ? कहाँबाट उपलब्ध भयो त्यसको स्रोत ? मलाई बदनाम गर्न त्यसले लगाएको ताकत र गरेको खर्चको हिसाबकिताब थाहा पाउन उसको खाता हेर्ने आँट छ कसैको ? उक्त मिसनमा को–को भागीदार भए ? कस–कसले त्यसबाट लाभ प्राप्त गरे ? अनुसन्धान र खोज गरे छर्लङ्ग हुने छ ।

अफवाहको मूल माध्यम बनेको सो पत्रिकाका कैयन अङ्कहरू मसँग अहिले पनि सुरक्षित छन् । म आफै अचम्ममा पर्छु, मेरा लागि मिसन बनाइएका ती सबै समाचार छापिएका ठाउँमा विज्ञापन छापेको भए त्यसले कति करोडको हिसाब लगाउँथ्यो होला ? टेलिभिजन र रेडियोतिरको त कुरै छोडौँ ।

त्यस कुप्रचारक मिडियाले ‘प्रधानन्यायाधीशका सर्टिफिकेट नक्कली’ भन्ने समाचारलाई ठूला अक्षरमा कभर पृष्ठमै छापेर विषवमन गर्न सुरु गरेको थियो । थुप्रै रकम खर्च गरेर त्यो भरमग्दुर तिकडमका साथ लागेको थियो । मिसन मिडियाको महान् कर्म भन्ने नाउँ दियो त्यसलाई तर जब उक्त झुट सत्य साबित हुन सकेन, झुट सच्याउनु सट्टा न्यायालय र मेरो गरिमालाई सिध्याउन चाहने देशी–विदेशी तत्वसँग साँठगाँठ गरी अन्य केही मिडियाहाउसमा पनि तिनको लगानी छर्न थाल्यो । उससँग स्वार्थ मिल्ने र इबी साध्नेहरूको गठजोड बिस्तारै बढ्दै गयो तर मूल रूपमा अनर्गल प्रचार गर्नेहरूका लहलहैमा सुनियोजित षड्यन्त्र गर्नेहरूले आफ्नो स्वार्थपूर्ति गरे ।

सञ्चारक्षेत्रको कलङ्क :

‘नबिराउनू नडराउनू’ भन्ने हाम्रो प्रचलित उक्ति मेरो जीवनको पनि पर्याय हो । मैले केही बिराएको छैन, त्यसकारण मलाई डर पनि छैन । म के कुरामा विश्वास राख्छु भने सत्य लुकाएर लुक्दैन; एकदिन प्रकट भएरै छोड्छ, स्थापित भएरै छोड्छ । सानातिना समस्या पर्दैमा धीर मानिस विचलित हुँदैनन् भन्ने हाम्रो परम्परागत मान्यतालाई मैले राम्ररी मनन गरेको छु । त्यसकारण समयको अनवरत गतिभित्र सत्यको मार्गमा मैले कहिल्यै कुनै कुरामा अनावश्यक सम्झौता गरिनँ र गर्ने पनि छैन ।

नेपालमा ठूला भनिएका मिडियाका मालिकहरूले के के गरे, के के गरिरहेका छन् र यिनले के गर्न सक्छन् भन्ने कुरा धेरैजसो उच्च तहका राजनीतिज्ञ, प्रशासनिक व्यक्ति र विभिन्न सुरक्षा संयन्त्रका मानिसहरूलाई थाहा छ । त्यस्ता विषयमा मसँग सहानुभूति राख्नेहरू पनि धेरै देखिए । त्यस मिडियाका कर्तुतहरूका कुरा पनि उनीहरूले गरे । जब कारबाही गर्ने कुरा आयो, आगोमा घिउ पग्लिए जस्तै ती सबै लल्याकलुलुक भए । म त्यतिबेला चकित परेँ, जतिबेला अरू सबै यस कुरालाई बोध गरेर पनि पन्छिए ।

बडो रहस्य के छ भने ती कुरा उनीहरू सार्वजनिक रूपमा बोल्ने र प्रतिवाद गर्ने आँट गर्न सक्दैनन् तर म ठोकुवा गरेर भन्छु– इतिहासले देखाउने छ, संसारका ठूला–ठूला महासामन्त र षड्यन्त्रकारी पापिष्टहरूका सञ्जाल पनि निमेषभरमा ध्वस्त भएका छन् । एक दिन त्यो समय आउने छ । एउटा मिडिया हाउसले धेरैलाई गुमराहमा राखेर जन तहदेखि सर्वोच्च तहसम्मको जुन दूषित राजनीति गरिरहेको छ त्यसको भण्डाफोर भएरै छाड्ने छ ।

त्यस मिडिया हाउसको सञ्जाल र उसको दूषित दृष्टिलाई मैले बोध गरेको छु । अरू जो–जो यसको कोपभाजनमा परे तिनले चेतिसके र भविष्यमा पनि चेत्लान् तर आज फर्केर हेर्दा म मात्र त्यस्तो व्यक्ति हुँ, जो शिर ठाडो पारेर एक्लै त्यो बनावटी बाह्य आवरण ओढी षड्यन्त्रको जालो बुन्ने कारकतत्वलाई उचित मार्गमा ल्याउन कहिल्यै हिच्किचाइनँ ।

मलाई के थाहा थियो भने सत्यलाई बाहिर ल्याउने प्रयासमा मेरो ज्यानमाथि पनि खतरा थियो । यो मैले पटक–पटक बोलिसकेको कुरा हो तर म सत्य र तथ्यलाई उजागर गर्न अहिले पनि किञ्चित डराउन्नँ । स्वाभिमानपूर्वक आफूले हिँडेको सत्मार्गमा अविचलित लागिरहन्छु । मृत्युभन्दा सत्य प्रिय छ मेरा लागि । म सत्यको प्राप्ति अहिंसाकै मार्गबाट प्राप्त हुन्छ भन्ने अठोट बोकेर बाँचेको छु ।

नेपालमा अहिले हजारौँका सङ्ख्यामा मिडियाहरू छन्, छापा, अनलाइन, रेडियो र टेलिभिजनहरू छन् । अर्को तथ्यमा के छ भने टाइकुन शैलीका एकाधबाहेक अन्य कुनै पनि मिडियाले मेराबारेमा त्यस्तो अनर्गल प्रचार गरेका छैनन् ।

मलाई विशेष सूत्रबाट के थाहा भयो भने ‘गोपाल पराजुलीलाई पदच्युत गर्ने अभियान’ भनी विदेशी एजेन्सी र सो मिडियाले करोडौँ रुपियाँ जम्मा गरेका थिए । ‘यसलाई मिसन न्युज बनाऊ, २ करोड दिन्छु’ भनिएको थियो तर सत्यवादी मिडियाले त्यो प्रस्ताव अस्वीकार गरेका थिए । त्यो दुई करोड खाएरै हो कि के हो, पछि अरु १–२ अनलाइनहरू पनि मिसनमा थपिएका थिए । म अहिले पनि भन्छु जिम्मेवार निकायहरूले पत्ता लगाउन्, मेराविरुद्धमा विदेशी एजेन्टहरूको संलग्नतामा के–के गरियो ?

म सम्मान गर्छु, देशका यतिका मिडियाहरूप्रति जसले साजिस, झुट र अनर्गल कुरालाई साथ दिएनन्, सत्यतथ्य नबुझी लेखेनन् । यदि त्यो अभियान सत्य थियो भने, प्रायोजित थिएन भने हजारौँ मिडियाले किन ती कुरा उठाएनन् । एक्लो मिडिया मात्र किन लागिरह्यो भन्ने कुरालाई सबैले बुझ्नु जरुरी छ ।

मेरो भोगाइमा यो मिडिया सूचना सम्प्रेषणको बहाना अगाडि सारी राष्ट्रलाई आफ्नो इच्छाअनुकूलको गोटी बनाउने एउटा बिम्ब मात्र लाग्छ । यस्ता केही निकाय छन् जसले आफ्नो निहित स्वार्थका लागि जे पनि गरिरहेका छन् । मेरो अन्तर्यले के भन्छ भने ती जतिसुकै शक्तिशाली किन नहोऊन्, कपटी र रकमी किन नहोऊन् तिनीहरूमा यदि सत्यता छैन भने त्यस्ता तत्वहरू हराएर र दबिएर गएको सुशासनका पक्षधरहरूले देखाउन सक्नुपर्छ । नत्र भने हाम्रो राष्ट्रिय अस्तित्व र स्वाभिमानमा खिया लाग्ने निश्चित छ । यो देशको अस्तित्व सङ्कटमा पर्ने निश्चित छ, अराजक र माफियाहरूको चङ्गुलबाट कहिल्यै फुत्कन सक्ने छैन । मिडियालाई माध्यम बनाएर घृणित रसास्वादन गर्न चाहनेहरूले पनि अब बिस्तारै यी कुराहरूको आत्मबोध गरेको हुनुपर्छ ।

(पूर्वप्रधानन्यायाधीश पराजुलीको पुस्तक ‘संयोगका पानाहरू’बाट)