भ्रमणदलमा सामेल एक सदस्य मात्र कोरोनारहित !

भ्रमणदलमा सामेल एक सदस्य मात्र कोरोनारहित !



पूर्व श्री ५ महाराजाधिराज तथा बडामहारानी कोमल राज्यलक्ष्मीदेवीको स्वास्थ्य स्थिति सामान्य रहेको र उहाँहरू अब चाँडै नै रोगमूक्त हुने विश्वास भएको अस्पताल सूत्रले जनाएको छ । पूर्व श्री ५ हरूमा कोरोना पोजिटिव देखिएपछि केही दिन घरमै आराम गरेर थप उपचारका लागि गत साता नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । राजकुमारी प्रेरणाको स्वास्थ्य स्थिति पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

गत चैत्रको अन्तिम साता भारतको साताब्यापी धार्मिक भ्रमणमा पूर्व श्री ५ हरूसँगै रहेकामध्ये स्वकीय सचिव सागर तिमिल्सिनाबाहेक सबैमा कोरोना पोजिटिव भएको पाइएको छ । सागर तिमिल्सिना बारम्बार पूर्व श्री ५ हरूको निकट सम्पर्क भएर पनि उहाँमा पोजिटिव देखिएको छैन । तर अर्का सचिव डा. फणिराज पाठक भने कोरोना पोजिटिव देखिएपछि आफ्नै घरमा एक्लिएर बसिरहनुभएको जानकारीमा आएको छ । भ्रमणबाट फर्किएलगत्तै आफ्नी सुपुत्रीको विवाह तयारीमा लागेका डा. पाठकले आफू कोरोना पोजिटिव भएको रिपोर्ट आएपछि वैवाहिक कार्यक्रम स्थगित गरिदिनुभएको छ । वैशाख १२ गते तय भएको विवाह समारोह अब यसै महिनाको चौथो सातामा आयोजना गरिने बुझिएको छ ।

सधैं राजारानीको निकट सम्पर्कमा रहेर पनि सागर तिमिल्सिनामा कोरोना पोजिटिव देखिएन, तर एकपटक मात्र सम्पर्कमा पुगेकी राजकुमारी प्रेरणालाई भने पोजिटिव देखिनु आश्चर्यको विषय भएको छ । वैशाख ५ गते पूर्व श्री ५ हरूको भारतबाट स्वदेश आगमन भएपछि राजकुमारी प्रेरणाले त्यस साँझको खाना निर्मल निवासमा आफ्ना मातापितासँगै बसेर खानुभएको थियो । राजकुमारी प्रेरणा भारत भ्रमणमा सामेल हुनुहुन्नथ्यो ।

भ्रमणमापूर्व बडामहारानी कोमलको परिचारिका बनेर गएका दुई ‘नानी’हरूलाई पनि कोरोना पोजिटिव भएको छ । उनीहरूको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पताल सूत्रबाट थाहा भएको छ ।

चैतको अन्तिम साता भारत भ्रमणमा जानुअघि राजारानीसहित भ्रमण दलमा सामेल हुने सदस्यहरूको काठमाडौंमा परीक्षण गरिँदा सबैमा कोरोना ‘नेगेटिव’ देखिएको थियो भने भारतबाट वैशाख ५ गते नेपाल फर्कनुअघि वैशाख २ गते बिहीबार दिल्लीमा परीक्षण हुँदा पनि सबैमा ‘नेगेटिव’ आएको थियो । तर वैशाख ६ गते काठमाडौंमा पुनः परीक्षण गराउँदा राजारानीमा कोरोना पोजिटिव देखिएपछि उहाँहरूले आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई कोरोना परीक्षण गराउन सुझाउनुभएको थियो । त्यसरी परीक्षण गराउँदा छोरी प्रेरणा, सचिव डा. फणिराज पाठक र दुई परिचारिकामा पोजिटिव देखिएको थियो ।

file photo