बेल्जियममा क्वारेन्टिन प्रक्रियालाई कडाई गर्ने सम्भावना

बेल्जियममा क्वारेन्टिन प्रक्रियालाई कडाई गर्ने सम्भावना


  • सनत आचार्य, युरोप प्रतिनिधि

बेल्जियम सरकारले कोरोना संक्रमणको उच्च जोखिममा रहेका मुलुकबाट आउने व्यक्तिहरूमा संक्रमण देखिएपछि क्वारेन्टिन प्रक्रिया र अवधिमा कडाइ गर्ने सङ्केत दिएको छ ।

अध्ययनका लागि भारतका विभिन्न स्थानबाट लुभेन र आल्स्ट क्षेत्रमा आएका बीस विद्यार्थीमा गत बिहीबार भारतीय भेरियन्टको कोरोना भाइरस संक्रमण देखिएपछि सरकारले कडाई गर्ने संकेत गरेको छ ।

गत शुक्रबार प्लामिस रेडियोमा बोल्दै आन्तरिकमन्त्री एनिलिज भरलेन्डेनले उच्च जोखिम रहेका मुलुकबाट आउने व्यक्तिहरूलाई क्वारेन्टिनमा कसरी अनिवार्य र व्यवस्थित गर्ने भन्नेबारे सोच्न आवश्यक रहेको र यसबारे सम्बन्धित निकायहरूसँग छलफल गरी छिट्टै निर्णय लिने बताएकी छिन् ।

मन्त्री भरलेन्डेनले भनिन्- ‘सिद्धान्ततः अहिलेको अवस्थामा भारतलगायतका देशबाट बेल्जियम आउन सकिँदैन । भारत युरोपियन युनियनबाहेकको तेश्रो मुलुक हो तर भारतलगायत अन्य देशबाट अध्ययनका लागि विद्यार्थी, स्वास्थ्यकर्मी र कुटनीतिक नियोगका मानिसह भने आउन सक्छन् ।’

‘प्रवेशबिन्दुहरूमा कडाइ गर्दा यात्रुहरूलाई समस्या हुन सक्छ, तर हामी दैनिक जीवनलाई जटिल बनाउने अवस्थामा छैनौँ’– उनले थपिन् ।

पछिल्लो समयमा बेल्जियम सरकारले उच्च जोखिम भएका देशहरूबाट बेल्जियम आउने यात्रुका लागि दुई पटक पीसीआर परीक्षणलाई अनिवार्य गरेको छ ।

पहिलो परीक्षण आएकै दिन र अर्को परीक्षण सात दिनमा अनिवार्य गरेको छ । यसका अलावा आउनुभन्दा पहिले भर्नुपर्ने फारामहरूलाई पनि कायम राखिएको छ ।

यसैबीच बेल्जियम सरकारले आगामी हप्ता नौ लाख खोप लगाउने योजना बनाएको छ, जसअनुसार ३ लाख ९६ हजार ६ सय ३० पीफाइजर, ५२ हजार ८ सय मोडरना, ३ लाख ८६ हजार ४ सय अष्ट्राजोनेका र ६२ हजार ४ सय जोन्सन एण्ड जोन्सन कम्पनीद्वारा उत्पादित खोप लगाइने बताइएको छ ।