बेल्जियमका रेष्टुरेण्ट मे ८ बाट आंशिक रूपमा खुल्ने

बेल्जियमका रेष्टुरेण्ट मे ८ बाट आंशिक रूपमा खुल्ने


एउटा टेबुलमा चार जनाभन्दा बढी बस्न नपाइने

  • सनत आचार्य (युरोप सम्वाददाता)

बेल्जियमका प्रधानमन्त्री एलेक्सएन्डर डे क्रोले कोरोनाविरुद्ध गरिएको कडाइमा केही खुकुलो गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री क्रोले कोरोनाका कारण बन्द भएको होरेका (होटल तथा रेष्टुरेण्ट) क्षेत्र र मानिसहरू जम्मा हुने सवालमा पछिल्लो समयमा बेल्जियम सरकारद्वारा निर्धारण गरिएको मापदण्डका सम्बन्धमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै परिस्थितिअनुसार आगाडि बढ्ने बताए ।

प्रधानमन्त्री क्रोले यो निर्णय मे र जुन महिनाका लागि भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री क्रोले कोरोनाविरुद्धको खोप अभियान तीव्र गतिमा बढेको बताउँदै ६५ वर्षभन्दा माथिका ७२ प्रतिशत नागरिकले पहिलो डोज खोप लगाइसकेको जानकारी दिँदै यो महिनाको अन्त्यसम्ममा जोखिममा रहेका अन्य समुहलाई समेत खोप लगाइसक्ने दाबी गरे ।

खोप अभियानले सफलता पाएसँगै आगामी मे ८ देखि होरेका क्षेत्र निश्चित मापदण्ड पूरा गरी टेरस (रेष्टुरेण्टको बाहिरी भागमा राखिने टेबुल) खोल्न सक्ने निर्णय गरेको प्रधानमन्त्रीेले बताए ।

हिजो जारी गरिएको नयाँ नियमअनुसार टेरस खोल्दा एउटा टेबुलमा चार जनासम्म ग्राहक राख्नुपर्ने, प्रत्येक टेबुलको दूरी डेढ मिटरको हुनुपर्ने, रेण्टुरेण्टमा काम गर्ने कर्मचारीहरूले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, ग्राहकले पनि मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, ग्राहक ट्वाइलेट जाँदा ग्राहकले मास्क लगाउनै पर्ने र टेरस बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म खोल्न सकिने शर्तहरू राखिएका छन् ।

त्यस्तै, मे ८ बाट घरबाहिर ५० जनासम्मको साँस्कृतिक कार्यक्रम आयोजना गर्न सकिने, युवाहरूद्वारा गरिने गतिविधिमा २५ जनासम्म सहभागी हुन सक्ने र घरभित्र १२ वर्ष सम्मका १० जना बालबालिका जम्मा हुन सक्ने जनाइएको छ ।

जुन महिनादेखि घरबाहिर आयोजना गरिने कार्यक्रममा २०० जनासम्म सहभागीहुन सक्ने तर हल वा अन्य क्षेत्रमा गरिने कार्यक्रमहरुमा हलको क्षमताको आधारमा ७५ प्रतिशत मात्र ओगट्ने गरी कार्यक्रम आयोजना गर्न सकिने र कार्यक्रममा सहभागी हुने सबैले अनिवार्य रूपमा मास्क र सामाजिक दूरी कायम गर्नुपर्ने बताइएको छ ।

जुन २५ देखि भने घरभित्र र बाहिर आयोजना गरिने कार्यक्रमहरुमा ५० जनासम्म सहभागी हुन सक्ने जनाइएको छ । युथ क्याम्प र रात्रीकालिन बसाइ पनि उक्त मितिदेखि गर्न सकिने जनाइएको छ ।

सरकारले जुलाई र अगस्त महिनाका लागि मे मध्यमा थप निर्णय लिने पनि जनाएको छ ।

symbolic image:google