कुशल पहिलोपटक विश्व टी-२० क्रिकेटको बरियतामा

कुशल पहिलोपटक विश्व टी-२० क्रिकेटको बरियतामा



नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी-२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन् । रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बरियातामा समावेश गरेको हो ।

भुर्तेल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन् । उनी ९३औँ स्थानमा रहेका छन् । भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका छन् ।

भुर्तेलले तीन खेलमा एक सय ८५ रन बनाउनुभएको छन् । उनले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अद्र्धशतक बनाएका थिए । नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको खेलमा ६२ रन बनाएका थिए ।

यसैगरी आइसीसीले जारी गरेको नयाँ बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औँ स्थानमा परेका छन्, यसअघिको बरियतामा उनी ७३औँ स्थानमा थिए । अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी–क्रिकेट सिरिज खेल्नबाट वञ्चित भएका छन् ।

यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व बरियतामा ७७ औँ स्थानमा रहेका छन् । उनी यसअघि ८४औँ स्थानमा रहेका थिए । हाल जारी टी-२० सिरिजमा लामिछानेले तीन खेलमा आठ विकेट लिएका छन् । उनले नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा मङ्गलबार चार विकेट लिएका थिए । योसँगै लामिछाने नेपालका लागि टी-२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् ।