बुधबार एकैदिन २,३५१ मा सङ्क्रमण

बुधबार एकैदिन २,३५१ मा सङ्क्रमण


कोभिड-१९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार मात्र २,३५१ मा सङ्क्रमण देखिएको जानकारी दिउ । मङ्गलबार १, ७३६ जना सङ्क्रमित थपिएका थिए भने गत सोमबार (वैशाख ६ गते) १,२८१, आइतबार (वैशाख ५ गते) १,०९६, शनिबार (वैशाख ४ गते) ८४३, शुक्रबार (वैशाख ३ गते) ९०० जनामा सङ्क्रमण देखिएको थियो ।

आठ हजार ८८४ नमूनाको पिसिआर परीक्षण गर्दा दुई हजार २२० र ८०३ मा एन्टिजेन टेष्ट गर्दा १३१ मा सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म दुई लाख ८९ हजार ७८७ जना सङ्क्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा १,०५१ जनामा सङ्क्रमण देखिएको छ । भक्तपुरमा ८४, ललितपुर १८१ र काठमाडौँमा ७८६ जनामा सङ्क्रमण देखिएको हो ।

विगत २४ घण्टामा सङ्क्रमणबाट ६ जनाको निधन भएको छ । यसअनुसार अहिलेसम्म ३,११२ जनाको सङ्क्रमणबाट निधन भएको छ ।