जनतामा जाँगर चाहियो, नेताको नियत बदलिनु पऱ्यो !

जनतामा जाँगर चाहियो, नेताको नियत बदलिनु पऱ्यो !


  • दामोदर पौडेल

बेथितिको विरुद्धमा केही नगर्ने तर पद धरापमा परेपछि त्यो जोगाउन जङ्गल जाने धम्की दिने, सडक तताउँछौँ भन्ने, जनताको हित हैन बरु आफ्नो पदलाई विवादको चुरो तुल्याउने निकृष्ट प्रवृत्ति सबै दलमा भयो र, यो अहिलेका सत्ताधारीमा झनै बढ्ता देखिएको छ । नेताहरूको स्वाभिमान भनेकै ‘पदको प्राप्ति’ भएको विगतदेखि नै देखिएकोमा अहिले त्यो छताछुल्लै भएको छ ।

यसैबीच अनुमानका पसलहरू गरम भइरहँदा अहिलेसम्मका अधिकांश दलिलहरू आग्रहमा आधारित छन् वा पूर्वनिर्धारित धारणामा आधारित रहेका दखिन्छन् । देशको स्थिरता र विवादका अन्तर्यमा पुगेर निराकरण हुन सकेको छैन । कसैले पनि राजनीतिमार्फत देशको लागि सही दिशा दिन पर्दछ भन्ने आशा दिन सकेका होइनन् । एउटा उदाहरण यो पनि हुन सक्ला कि नेताले नेपालको नक्सा बदल्ने प्रयास गरे पनि नेपालको भूभागलाई सुरक्षित गर्ने नेपालीले हो, नक्साले हैन । देशको सुरक्षा गर्नको लागि नेपालीबीच भावनात्मक एकता र आत्मरिर्भरता आवश्यक हुनेमा त्यस्तो देखिने कार्य भएको छैन, बरु जनतामा दिनहुँ पीडा थपिएको छ ।

अहिले केपी ओलीको कदमविरुद्ध लागेका या उनले प्रधानमन्त्रीबाट राजीनामा नदिएको भन्दै मुर्मुरिएकाहरूले ‘ओली हटाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्दा देशमा केही हुन्छ’ भनी आश्वस्त तुल्याउन सकेका छैनन् । फगत् केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि उनको तेजोबध भएको अनुभूति गरेर सन्तुष्टि लिने ओली–विरोधीहरूले यसरी नै आनन्द प्राप्त गर्न लागेको जस्तो देखिएको छ । नेपाली जनताले झलनाथ खनाल, माधव नेपाल, शेरबहादुर देउवालगायतका व्यक्तिलाई प्रधानमन्त्री बनेको देखेकै हुन् । उनीहरू प्रधानमन्त्री बनेर यस्तो उपलब्धि भयो भन्न सकिने खास कुरा केही देखिएन । ऐनहरू बने होलान्, लाखौँ गर्भवती महिला पीडाबाट गुज्रेकोमा एक जनालाई हेलिकप्टरबाट उद्दार गरी प्रचार गरियो होला । अमुक बालबालिकालाई प्रधानमन्त्रीले पढाउने घोषणा गरेर लाखौँ बालबालिकाहरूको अवस्था त सुध्रिएन । बरु अरुको पीडा थपियो । त्यसैले ओली वा अरु ब्यक्ति प्रधानमन्त्री वा राष्ट्रपति बनेर वा ब्यवस्था बदलेर वा कुनै अमुक प्रधानमन्त्री वा नेतालाई बदलेर जनताले केही पाउने होइनन्, किनभने यसभन्दा पहिला र अहिले पनि व्यक्ति बदलिँदा ठोस परिवर्तन भएको देखिएन ।

देशमा राजनैतिक प्रणाली बदलेर समस्या समाधान हुन्छ भन्नेहरू बेइमान अवश्य हुन् । होइन भने लोकतन्त्र आएपछि समस्या समाधान गरिन्छ भन्नेहरूले लोकतन्त्र ल्याएपछि किन केही गरेनन् र, गणतन्त्र आएपछि गर्छु या गर्दछौँ भन्नेहरूले त्यसपछि पनि किन गरेनन् ? जनतालाई आशामा दौडाएर मर्न किन तयार गरेका ?

यस्तो परिवेशमा अब नेताहरूले चाहे ‘हामी यहाँ छौँ’ भनुन् वा सडक जाम गरेर तिनका कार्यकर्ताहरूले आन्दोलन नै गरुन्- जनताले बुझ्ने भनेको यो आन्दोलन जनताको लागि होइन केवल आफूहरू बलियो बन्नका लागि नेताहरूको चलखेल वा अभीष्टको प्रकटिकरण मात्र हो । अहिले पनि कुनै आन्दोलन भएर जनताले दुःख पाउनु भनेको आफूले केही राहत पाउनको लागि होइन बरु नेताहरूकै प्राप्तिका लागि हो भन्ने बुझेका नै छन् । तैपनि राजनीतिक दलका कार्यकर्ताहरूले भ्रम दिने तथा जनतामा रहेका ब्यक्तिगत निकटता र केही डर, केही आशाको कारणले मात्र सरकारको पक्षमा वा विपक्षमा जनता उभिएको जस्तो देखिएको छ । समर्थक र कार्यकर्ताहरू बेरोजगारीको कारणले यो गरे हुन्छ कि त्यो गरे हुन्छ कि भनेर वा राम्रो ब्यवसाय र काम नजानेर नै सजिलो माध्यमबाट जीविकोपार्जनको माध्यम देखेर बाध्यतावश दलको पछि लागेका पनि छन् र एक पटक लागेपछि आशा र संगतले गर्दा मानिसले त्यो बाटो सामान्य अवस्थामा छोड्दैन ।

अबको निकास त कुनै ब्यवस्था र ब्यक्ति बदलेर आउँदै आउँदैन । किनभने, बेलायतमा संसदीय ब्यवस्था राम्रोसँग चलेको छ तर भारत तथा बंगलादेशमा राम्रो नदेखिएको हुन सक्छ । राजसंस्था जापानमा राम्रोसँग चलेको छ नेपालमा भने चलेन । राजसंस्था आफै सामन्तवादको प्रतीक हो भने जापान र बेलायतमा हटिसकेको हुनुपर्ने हो, किन कायम रहेको होला ? यस प्रश्नको सरल उत्तर छ तर यसलाई हामीले धेरै जटिल बनाएका छौँ ।

प्रायजसो देशमा देशभित्रै रहेको मानव चरित्र र ब्यवहारले निकासलाई रोकेको हुन्छ तर गल्ती अरु कतै खोजिन्छ र, त्यो गल्ती कहिल्यै पनि पत्ता लगाउन सकिँदैन । ढुङ्गा भएको ठाउँमा लगेर आफैले हलो अड्काउने र हलो तानेन भनेर गोरु चुट्ने कार्य नेपालमा अहिले भइरहेको छ । गल्ती आफू गर्ने तर दोषको कारण अरुमा या अरु ठाउँमा खोज्ने प्रकृत्ति हाबी भइरहेको छ ।

बेलायतमा संसदीय ब्यवस्था राम्रोसँग चलेको छ तर भारत तथा बंगलादेशमा राम्रो नदेखिएको हुन सक्छ । राजसंस्था जापानमा राम्रोसँग चलेको छ, नेपालमा भने चलेन । राजसंस्था आफै सामन्तवादको प्रतीक हो भने जापान र बेलायतमा हटिसकेको हुनुपर्ने हो, किन कायम रहेको होला ?

चन्द्र समशेरले चन्द्र नहर, त्रिचन्द्र कलेज आदि देशकै ढुकुटी खर्च गरेर बनाए । हामी अहिले विदेशी सहयोग नभई एउटा चर्पी पनि देशको ढुकुटीबाट बनाउन सक्दैनौँ । केवल विदेश वा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग वा ऋण नगदमा दिएकोले हामीलाई थाहा हुँदैन । कतिपय परियोजनाहरू विदेश वा संस्थाहरूले आफैले बनाइदिएकोले थाहा हुने मात्र हो । राणा शासन नराम्रो थियो र फ्याँकियो तर त्यसको विकल्प विदेशीमा निर्भर हुनु होइन र थिएन । लोकतन्त्रलाई महेन्द्रले कु गरेर हटाए, त्यो पनि विकास र जनहितको लागि हो वा उनी शक्तिसाली वन्नको लागि हो भन्ने पनि ऐनाजस्तै छ । पञ्चायती ब्यवस्था फालेर बहुदलीय ब्यवस्थाको लागि सयौँ नेपालीले बलिदान गरेका वा ज्यानको बाजी लगाएका पनि आ-आफ्ना दलका नेताहरूले भ्रष्टाचार गरुन्, विदेशीको इसारामा चलुन् र विदेशीको पैसाले देशको धर्म-संस्कृति नै बेचिदिउन् भन्नाको लागि पनि थिएन । आन्दोलनको एजेण्डामा त अरु नै जनताको हितका कुरा थिए तर भनिएका बाचाहरू पूरा भएनन् । नेताहरूका लुकाइएका चाहना पूरा भए ।

गणतन्त्र ल्याउने क्रममा माओवादीहरूले भने जस्तै हजारौँ मानिसको बलिदान भएको हो भने पनि या अरु दलहरूको सडक आन्दोलनको कारण भएको वा दुवैको फ्युजनबाट नै भएको भए पनि त्यो आन्दोलन अमुक नेपालको सन्तानलाई राष्ट्रपति र प्रधानमन्त्री तथा अन्य पद दिनको लागि मात्र भए जस्तो देखियो । जनताका छोराछोरी राष्ट्रपति बनेर ्हामी नेपाली जनताको रोजगारी नेपालमा नै भएर विदेश जान परेको छैन भन्ने पनि भएन, विदेशमा जानेको सङ्ख्या बढिरहेको छ । देशमा विदेशी चलखेल बढिरहेको छ र सरकारको मन्त्री पनि विदेशीको इसारामा बन्छ र इसारामा नै विदेशीले आवश्यक ठानेको काम गराउँछ भने यस्ता कार्यले देशको र नेपालका गरिव जनताको शीर उचो हुँदैन ।

अब लोभबाट मुक्ति चाहिएको छ । भ्रमबाट बाहिर आउनुपरेको छ । जाँगरका साथै र सिपको विकास चाहिएको छ । नेताको नियत पनि बदलिनु अपरिहार्य छ । नेपाली नेता र जनतामा यत्ति परिवर्तन आइदिए देश बन्छ, त्यस्तो अवस्थामा ब्यवस्थाको नाम त जे राखे पनि फरक पर्दैन ।

यसप्रकार देशमा राजनैतिक प्रणाली बदलेर समस्या समाधान हुन्छ भन्नेहरू बेइमान अवश्य हुन् । होइन भने लोकतन्त्र आएपछि समस्या समाधान गरिन्छ भन्नेहरूले लोकतन्त्र ल्याएपछि किन केही गरेनन् र, गणतन्त्र आएपछि गर्छु या गर्दछौँ भन्नेहरूले त्यसपछि पनि किन गरेनन् ? जनतालाई आशामा दौडाएर मर्न किन तयार गरेका ? त्यसैले ब्यवस्था त सामान्य माध्यम मात्र हो । गर्ने त नेताहरूले हो र खबरदारी गर्ने जनता एवम् नागरिक समाजले हो । त्यो नागरिक समाजको नेतृत्व दलीय भागबण्डामा हुने र नागरिक नै बाँकी नरहेर सबैजसो दलका हनुमान भएपछि कुनै ब्यवस्थाले पनि केही गर्न सक्दैन । दलहरू र ब्यवस्था उपयोगी बनाउने नेताहरूले हो र खबरदारी गर्ने जनताले तथा नागरिक समाजले हो । त्यो नागरिक समाजको नेतृत्व दलिय भागबण्डामा हुने र नागरिक नै बाँकी नरहेर सबैजसो दलका हनुमान भएपछि कुनै ब्यवस्थाले पनि केही गर्न सक्दैन । लोभी जनता खराब व्यवस्था तथा बेइमान नेताका फेस सेभिङ गर्ने हतियार या माध्यम बनेका छन् । भनिन्छ कि जनता जस्ता छन् लोकतन्त्रमा नेताहरू पनि उस्तै-उस्तै हुन्छन् । त्यो ऐना हेर्न सक्नु पर्दछ । ऐनामा लागेको धुलो नेता र जनता नै हुन् । लोकतन्त्रको ऐना संधै प्रष्ट र तथ्य देखाउने वा अनुहार जस्तो छ ठिक्क उस्तै देखिने हुन्छ ।

अब लोभबाट मुक्ति चाहिएको छ । भ्रमबाट बाहिर आउनुपरेको छ । जाँगरका साथै र सिपको विकास चाहिएको छ । नेताको नियत पनि बदलिनु अपरिहार्य छ । नेपाली नेता र जनतामा यत्ति परिवर्तन आइदिए देश बन्छ, त्यस्तो अवस्थामा ब्यवस्थाको नाम त जे राखे पनि फरक पर्दैन ।