किन र कसको लागि लेख्ने ?

किन र कसको लागि लेख्ने ?



यसकारण सङ्कटमा छ मानव अस्तित्व

  • डिल्ली अम्माई

संसारको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा जीवमाथि भएको अन्यायलाई भित्री गहिराइदेखि अनुभूति गर्ने प्रयासले नै सम्वेदना र चेत तहको पाइन देखाउँछ र, त्यही भावले नै उसको दृष्टिकोणलाई समुदायमा स्थापित गर्छ । मानवताको चेतना माथि उठेका मान्छेहरूबाट मानवका अथाह पीडाहरूको महसुस गर्ने चेतग्रन्थी निःसृत हुन्छ । सृष्टिप्रति समवेदित करुणा र कर्तब्यभावका लागि कुनै विज्ञताको खाँचो पर्दैन । त्यो नै प्राकृतिक न्यायको अनुभूतिबाट उत्सर्जित सुक्ष्म ज्ञान हो । जुन पवित्र भाव विकसित हुँदै गयो भने त्यसले पु¥याउने गन्तब्य भनेको प्राकृतिक समानतायुक्त संसार नै हो । जसलाई हामी प्राकृतिक साम्यवाद पनि भन्न सक्छौँ, जहाँ सबै चराचर सबैका निम्ति बाँच्न सकुन् ।

मानवताको अनुभूतिलाई प्रमाणित गर्ने माध्यम भन्नाले व्यक्ति, समाज, समुदाय, राष्ट्र र जीव जगतको जीवनचक्रलाई प्राकृतिक सौन्दर्यको रूपमा स्विकारेर सम्मान गर्नुलाई बुझाउँछ । त्यसैले नै भनिएको होला– यथास्थितिको परिवेशले सर्वप्रथम मानिसलाई बदल्छ, उसको चेतनालाई असर पार्छ । त्यही सिकाइको प्रेरणा लिएर मानिस मानवताको लागि ब्युँझिन्छ, उठ्छ र गतिशील बन्छ । उसले तत्कालको लागि असम्भव जस्तो देखिने तर सिङ्गो मानव समुदायको अस्तित्वको लागि चीरकालिक मुद्धा बोकेर अगाडि आउँछ । अनि मात्र उसले मानव अस्तित्व अन्य जीव वा वनस्पतिको अस्तित्वबिना सम्भव छैन भन्ने बुझ्छ र ऊ प्राकृतिक सहअस्तित्वको शरणमा परिक्रमा गर्न थाल्छ । जसरी वातावरण र मानिसबाहेकको देश हुँदैन, त्यस्तै प्रकृतिवादीहरूको देश हुँदैन । प्रकृतिप्रेमीहरू जैविक सहअस्तित्व र जीव जगतको न्यायको लागि लड्नुपुर्व अन्तर्राष्ट्रियवादी हुनु जरुरी हुन्छ । किनकि पर्यावरण विनासको प्रभाव राष्ट्रिय कानुनको सम्मान गरेर एक देशमा मात्र बस्दैन ।

अहिले संसारभरि वातावरणविदहरूले उठाइरहेको एक गम्भीर प्रश्न हो– हामीले केको लागि लेख्ने ? आफ्नो अस्तित्वरक्षाको लागि लेख्ने कि सामरिक युद्धमा गरिएका युद्धको समर्थन वा विरोधमा लेख्ने ? देशको लागि मात्र लेख्ने कि प्राकृतिक न्यायले सञ्चालित आगामी विश्व ब्यवस्थाको प्रेरणाका निम्ति लेख्ने ? चेतनाको एक आयात र निर्यातकर्ता लेखक र पत्रकार हो । त्यो एक साहित्यकार वा दार्शनिक पनि हुन सक्छ । प्रायः लेखक वा पत्रकारहरूले पनि नियमित रूपमा यी सत्यहरू तथ्यसहित समुदायमा बाँड्नु आवश्यक छ । आफ्नो प्यारो धर्तीको वातावरण ध्वस्त हुनबाट बचाउन, मानव अस्तित्वको रक्षा गर्न वा जीव जगतको नियति र गतिबारे के–कति लेखेका छौँ, के –ति गरेका छौँ ? यो हामी आफैंलाई पनि एक प्रश्न हो ।

सार कुरा के भने, जिज्ञासा चेतनाको बिज हो, त्यसले खोजलाई प्रोत्साहित गर्छ, अनुसन्धान वा खोजले तथ्यहरूलाई समाजको बीचमा ल्याइदिन्छ । खोज पत्रकारितामा भनौँ, विज्ञानको प्रयोगशालामा भनौँ वा विश्लेषण र अनुसन्धानमुलक लेखहरूमा विगतमा भएका प्रयोगका भित्री नतिजा र परिणामलाई सौन्दर्यपूर्ण तरिकाले बाहिर ल्याइन्छ । ती सबै तथ्यहरू कुनै व्यक्तिको त्यागबाट मात्र प्राप्त हुन्छन् । समुदायको असल भविष्यको लागि, मानवको सुखद प्रयोजनको लागि अगुवाहरूले त्याग गर्दछन् । त्यो विभिन्न क्षेत्रमा हुन सक्छ । त्यो पत्रकारिता वा लेखकीय विधामा पनि हुन सक्छ । भाषाको उन्नतिको लागि, पहिचानको लागि, दिग्दर्शन वा मार्ग निर्देशनको लागि र अन्त्यमा धर्तीमा जैविक अस्तित्वको लागि समेत मानिसले खोजिरहेको छ, लेखिरहेको छ र, संसारलाई चेतनाको निर्यात गरिरहेको छ ।

सुन्दा बिषाद लाग्न सक्छ तर सत्य कुरा केहो भने ‘जीवनमा आफ्नो लागि मात्र सोच्नु अपराध हो ।’ किनकि व्यक्तिगत स्वार्थले अरुको हितलाई बेपर्वाह मिल्काइदिन्छ र आत्मकेन्द्रित बनाउँछ । त्यसैले समाज विज्ञानमा व्यक्तिवादी सोच घातक मानिन्छ । समाज परिवर्तनको अर्को तर महत्वपुर्ण सोच अरुको अस्तित्वलाई स्विकार्ने सोच हो । आफ्नो अस्तित्व अरुको अन्तर्निहीत गर्ने सोच, आफ्नो हित समुदायको हितसँग जोड्ने सोच नै उत्कृष्ट सोच हो । समुहको हित, समुहको अस्तित्व र सम्पूर्ण सभ्यतालाई आँफूजत्तिकै महत्व दिने सोच नै प्राकृतिक न्यायसंगत सोच हो । किनकि प्रकृतिमा अरुको पनि जबर्जस्त अस्तित्व छ । प्रकृतिमा अरुको पनि त्याग र जिम्मेवारी छ ।

प्रकृतिमा जति जीव चराचरको अस्तित्व छ ती सबैको एकापसमा सघन सम्बन्ध पनि छ । हाम्रो छिमेकीसँगको सम्बन्ध भन्दा घनिष्ट सम्बन्ध ती सबैसँग छ । उनीहरू बिना हामी बाँच्न सक्दैनौँ । हाम्रो खाना, हाम्रो बासस्थान, हाम्रा पेय, हाम्रो जीवनका प्रत्येक यस्ता क्षण नहोलान् जुन बिना हामी बाँच्न सकौँ । त्यसैले हाम्रा जीवनका ती सबै आधारहरू हामीले भत्कन नदिनको लागि, सबैले सबै चराचरको सम्मान र सहअस्तित्वको लागि प्रेरणा दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर लेख्नु वा बहस गर्नुपर्छ । अरु व्यक्तिगत विषय भन्दा पृथ्वीको सन्तुलन बचाउने कुरा महत्वपुर्ण छन् । देश नरहे पनि मानव बाँच्न सक्छ तर वातावरण नरहे मान्छे बाँच्न सक्दैन । दुई–तीन महिनासम्म वातावरण केही दिनअगाडिको काठमाडौंको जस्तो प्रदुषित भयो भने संसार एक ठूलो मानव चिहानमा परिणत हुन सक्छ । यो सबै हाम्रो लापर्वाहीको कारणले भएको हो ।

दुम्सी र जंगली जनावर रोक्न हामीले जंगलमा आगो लगायौँ । सुकेका रुख बेचेर निजी पुँजी कमाउन हामीले जंगलमा आगो झोस्यौँ । जंगलमा खेति गर्न वा बस्ती बसाल्न हामीले जंगल जलायौँ । निजी लाभको लागि हामीले हाम्रो जंगल मात्र जलाएनौँ, हाम्रो भविष्य जलाएका छौँ । त्यसैले निजी सम्पतिको अवधारणा प्राकृतिक न्यायसम्मत छैन । निजी पुँजीको स्थापना वास्तवमा प्राकृतिक समानता, जैविक समानता र स्वयम् रचयिताको लागि समेत अस्वीकार्य छ ।

अर्को शब्दमा भन्नुपर्दा प्राकृतिमाथिको मानव हमलाले आज नेपालको राजधानी मात्र हैन संसारभरि जुन ऋतु–सन्तुलनमा समस्या देखिएको छ त्यो निजि पुँजीको प्रणालीले निम्त्याएको खतरा हो । आज संसारलाई केवल उपभोक्ता बनाउने, कजाउने र प्रकृतिको दोहनलाई अझै तीव्रता दिँदै नाफाको प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्ने होडले अबको केही वर्षमा अमेजन, पूर्वी एसिया र नेपाललगायतका वनसम्पदा सकिने छन् । मरुभूमिकरण तीव्र बनेर जाने छ । प्रदुषणले अक्सिजनको सिलिण्डर किनेर बाँच्नुपर्ने अवस्था आउने छ । लेखकहरू अब त्यसको लागि लेखौँ जसले प्राकितिक जैविक समानाताको लगि चेतनाका फुलहरू फुलाउन सकोस् ।

पृथ्वीको राजनैतिक प्रणालीले गलत बाटो लिएको छ । उपभोगको लागि उत्पादनको बाटो छोडेको छ । समुदायको प्रगतिको लागि प्राकृतिक सन्तुलनको बाटो छोडेको छ । मानव अस्तित्वको लागि चराचरले बलिदान दिनुपर्ने ? सिङ्गो जीव–जगतले मानवको अनावश्यक नाफाको लागि बहुसङ्ख्यक मानव र सिङ्गो प्रकृतिको विनास सहनुपर्ने ? इश्वरको न्यायमा यसको सजाय कसले पाउनुपर्छ पङ्क्तिकारलाई जानकारी छैन, तर प्राकृतिक न्यायको लागि मानव अस्तित्व नासिनु नै यो अपराधको उचित दण्ड हुन सक्छ । मेरो विचारमा कठिन समयको सन्निकट उभिएका हामीले पृथ्वीको वातावरणलाई चाह्यौँ भने अझै लामो समय यथास्थानमा राख्न सक्नेछौँ । अन्यथा यही प्रकारले प्रकृतिको दोहन भइरह्यो भने मानव अस्तित्वको अन्त्यलाई रोक्न प्रलयले पनि सक्ने छैन । मानिसको प्रकृतिमाथिको निर्मम आक्रमण देखर नै महान् वैज्ञानिक स्टेफन हकिङ्ग्सले ‘मानिसले आफ्नो अस्तित्व रक्षाको लागि अर्को बस्न योग्य ग्रहको खोजि गर्नुपर्ने अन्यथा’ भविष्यवाणी गरेका होलान् ।