जापानमा भूमिगत पार्किङ लटमा फसेर चार जनाको मृत्यु

जापानमा भूमिगत पार्किङ लटमा फसेर चार जनाको मृत्यु


  • जापान प्रतिनिधिबाट

जापानको टोकियोस्थित शिन्जुकु वडामा बिहीबार एक कन्डमिनियम भवनको पार्किङ क्षेत्रमा फसेर चार जनाको मृत्यु भएको छ ।

केही मानिस भवनको भूमिगत पार्किङ लटमा फसेको भन्दै साँझ ६ बजेतिर आकस्मिक फोन आएको थियो । पार्किङ लटमा २० देखि ५९ वर्षबीचका ६ जना पुरुषहरु फसेका थिए ।

टोकियो महानगर प्रहरी विभागसमेतका स्रोतहरुले बताएअनुसार उनीहरु पार्किङ क्षेत्रको सिलिङमा कोरोडेड प्लाष्टिक बोर्ड फेरिरहेका थिए । सो काम बिहीबार बिहानदेखि शुरु भएको थियो । सटर बन्द भएपछि गल्तीवश सक्रिय भएको अग्निनियन्त्रक उपकरणबाट कार पार्कमा कार्बन डाइअक्साइड भरिएको अनुमान गरिएको छ ।

त्यो उकुसमुकुसको वातावरणबाट ६ मध्ये एक जना उम्कन सकेको बताइएको छ । अरु पाँच जनाको उद्धार गरिए पनि तीमध्ये चार जनाको भने मृत्यु भइसकेको थियो । एक जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।