तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गर्ने गिरोह पक्राउ

तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गर्ने गिरोह पक्राउ


  • नारद कोहार, कपिलवस्तु

तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महिलाको हत्या गरी निजका हातका औंलाहरू ल्याएमा प्रतिऔंला ८० लाखसम्ममा बिक्री हुने भन्ने अत्यन्त क्रुर प्रकृतिको भ्रामक हल्लामा विश्वास गरी संगठित गिरोहले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुरस्थित आफ्नो माइतीघर बस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएका छ ।

प्रहरी अनुसन्धानपछि प्राप्त जानकारीअनुसार विगत १३ वर्षदेखि माइतीघरमा बस्दै आएकी ४२ वर्षीया दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी बोलाएका थिए । मृतक दर्जीलाई चैत्र १२ गते ललाइफकाइ कपिलवस्तु शुद्धोधन गाउँपालिका ३ हर्दीहवामा बोलाएर हत्या गरी दुवै हातका औंलाहरु काटेर शव बोरामा राखी बेतिया नदीमा फालेका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

अभियुक्तहरुले मृतकका हातका औंलाहरू बिक्री वितरण गर्ने प्रयोजनको लागि विभिन्न व्यक्तिहरुलाई दिइसकेका थिए । मृतकका हातका औंलाहरु विभिन्न स्थानमा सप्लाइ गर्ने तथा राख्ने ब्यक्तिहरुको संगठित गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरी सर्वजानिक गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं २ नन्दनगर बस्ने ३९ वर्षीय अव्दुल कलाम मुसलमामन, ४५ वर्षीय बेलाल अहमद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं ५ का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ वनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस वार्ड नं २ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ वर्षीय खेम बहादुर मल्ल रहेका छन् ।

उनीहरुमाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।