मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलले माग गरे विशेष अधिवेशन

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलले माग गरे विशेष अधिवेशन



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलकातर्फबाट प्रदेशसभाको विशेष अधिवेशन माग गरिएको छ ।

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका तीन दलका सदस्यले बिहीबार नै प्रदेश प्रमुखको कार्यालय पुगी विशेष अधिवेशन माग गरिएको समावेदन पत्र दर्ता गराएका हुन् ।

उक्त अवसरमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यलगायत दलका प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

हिउँदै अधिवेशन चलिरहेको अवस्थामा सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले यही वैशाख १ गते रातको १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका थिए ।

ज्ञातव्य छ, गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट बिहीबार नै प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ । प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावका पक्षमा मतदान गर्ने सो दलले जनाएको छ ।

नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बनिसकेपछि संविधानको धारा १८८ (२) अनुसार गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महीनाको समयसीमा नाघ्दासमेत विश्वासको मत नलिएर संविधानको अवज्ञा रेको आरोप प्रस्तावक दलको तर्फबाट लगाइएको छ ।

यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्रीले हठात् अधिवेशनको अन्त्य गरेको भन्दै भत्सर्ना गरेका थिए ।

यस्तै, माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारका विरुद्ध विकल्पमा सरकार दिनुपर्छ भन्ने कुरामा आफूहरू एकमत बनेको धारणा राखेका थिए भने जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आफूहरू सहमतिका साथ अघि बढ्दै प्राविधिक कुरा मिलाएर जाने अभिव्यक्ति दिएका थिए ।