सनातन, वैदिक र प्राकृत..

सनातन, वैदिक र प्राकृत..


  • स्वयम्भूनाथ कार्की

‘फुटाउ र राज गर’ भन्ने विस्तावादी नीतिले शताब्दियौँसम्म बेलाइतले आफ्नो सम्राज्यलाई कहिल्यै सुर्यास्त नहुने तुल्यायो । त्यसबेला पनि उसको नीतिअनुसार फुटाउने भ्वाङ धर्म, जाति, सम्प्रदाय आदि थिए । अहिले पश्चिमेलीहरूको संसारमा भएको यो पुरानो रजगज फेरि फर्काउन यिनै भ्वाङ च्यात्ने काम हुँदैछ । यसैको ताजा प्रहार मष्ट र सनातन अलग गर्ने प्रचारको रूपमा भइरहेको छ । यसमा तेल थप्ने काम सनातनभित्र वैदिक भएर वैदिक हो भन्ने तर्क गर्नेहरूले गर्दैछन् । उनीहरूको यो भक्तिसमर्पणले समाज जोड्ने भन्दा तोड्ने काम गर्दैछ । त्यसैले सनातनका दुई भेद वैदिक र प्राकृत अनि त्यसको अभिन्नता बारेमा चर्चा गर्ने प्रयत्न आवश्यक छ । यो आलेख त्यही प्रयत्न हो ।

गीतामा श्रीकृष्ण भन्नुहुन्छ- ‘अरु धर्म जत्तिकै सुखकर र आफ्नो धर्म जत्तिकै दुःखकर लागे पनि स्वधर्म पालन नै कल्याणकारी हुन्छ । स्वधर्ममा मृत्यु श्रेयष्कर हुन्छ, परधर्म भने भयदायक हुन्छ ।’ यसलाई अलिक भिन्न कोणबाट हेरेर त्यसबेलाको सामाजिक बनोटमा धर्मको अवस्था बुझ्न खोजिनु पर्छ । छिद्रान्वेशी र गीतालाई मिथक कथा मान्नेहरूले पनि महाभारत जसअन्तर्गत श्रीमद्भागवत गीता पनि छ पाँच हजार वर्ष पुरानो मान्छन् । आजकल चर्चामा भएको इशाई धर्म गीता प्रकट्यको कम्तीमा पनि ३ हजार वर्षपछि प्रादुर्भाव भएको हो । त्यसको झण्डै-झण्डै पौने सहश्राब्दीपछि अर्थात गीताभन्दा पौने ४ हजार वर्ष पछि इस्लाम प्रारम्भ भएको हो ।

अब यहाँ प्रश्न उठ्छ- भगवान श्रीकृष्णले भयदायक परधर्म भनेर कुन धर्मलाई भनेको हो ? क्रिस्तानी, मुसलमानी धर्मको प्रादुर्भाव नै भएको थिएन । अर्थात् ‘परमेश्वर पुत्र’ जिजस क्राइष्ट जन्मेकै थिएनन्, पैगाम्बर महमदको जन्म भएकै थिएन । फेरि श्रीकृष्णले हिन्दुधर्म छोड्नु हुन्न पनि भनेका हैनन्, अर्को फलाना धर्मचाहिँ भयदायक भनी धर्मविशेषको नाम तोकेका पनि छैनन् । यसको सिधा अर्थ मान्नुपर्ने हुन्छ कि त्यसबेला पनि फरक धर्महरू रहेछन् । अनि भगवानले सबैलाई आ-आफ्नो धर्ममा रहन भनेका रहेछन् । फेरि त्यसबेलाको वर्णनमा सबै चराचरको उपासना परमात्मा परमेश्वरको नै हुने गरेको देखिन्छ । यसले प्रष्ट हुन्छ कि यहाँ भनिएको धर्म वास्तवमा सम्प्रदाय वा पथ हो जो सबै सनातनका अङ्ग हुन् ।

आजकल सनातनको शुरुमा वैदिक जोड्ने चलन चलेको छ, तर शास्त्र पुराण आदिमा सनातनमा वैदिक विशेषण लागेको छैन । अब यदि सनातनलाई वैदिक विशेषण लगाएर छुट्याउने हो भने अर्को सनातनको पनि अस्तित्व मान्नुपर्ने हुन्छ । त्यो सनातन प्राकृत सनातन हो, अर्थात् सनातनका दुई भेद भए वैदिक र प्राकृत सनातन । भीमपुत्र घटोत्कचकी आमा हिडम्बा वैदिक सनातनी थिइनन् । हिडम्बासुर जुन सम्प्रदायका थिए त्यो सम्प्रदाय वैदिक मन्त्रले पुजा-आराधना गर्दैनथ्यो तर पुजा-आराधना भने गर्दथ्यो । त्यसैले सनातनको वैदिक भेद छुट्याउने हो भने बाँकी रहेको सनातन पनि हुन्छ । मुल सनातनमा आफ्ना दुवै भेदको अंश हुनै पर्छ त्यो वैदिक अवैदिक, प्राकृत अप्राकृत हुन्न । दुवैले एकअर्काको अस्तित्व स्विकार गर्ने वैदिक सनातन र प्राकृत सनातन । दुवैमा एकअर्कामा स्थायी वैरभाव हुन्न । त्यसै कारणले त हिडम्बा भीमको विवाह सम्भव भयो ।

त्यसैले सनातनको निमित्त प्राकृत विशेषण जति अनौठो लाग्छ त्यति नै अनौठो वैदिक सनातन पनि लाग्छ । सनातनले वेदमन्त्रमा आधारित भएर इसाइले जस्तै विश्वासी र गैरविश्वासी भनेर भन्दैन । बरु वसुधैव कुटुम्बकम् भनेर सबैलाई अपनाउँछ । यदि यो आदर्श मान्ने हो भने वैदिक र प्राकृतको भिन्नताको कुनै अर्थ रहन्न । श्रीकृष्ण वचन पालन गर्ने हो भने आफ्नो सम्प्रदाय वा पन्थ छोडेर अर्को पन्थ वा सम्प्रदायमा जानु वा ल्याउनु दुवै ठिक हैन । स्वधर्म निधनं श्रेय भन्नाले स्मार्त वैष्णव हुने वा वैष्णव स्मार्त हुने दुवै काम गीताको यो वचनविरुद्ध हो । शैव, शाक्त, वैष्णव (गाणपत्य, सौर्य) सबै सम्प्रदायले एकअर्काको संस्कार परम्परामा घात नगरी सहअस्तित्व कायम गर्नुपर्छ ।

कुरो यत्तिमै टुङ्गिँदैन, वैदिक सनातनीहरूले प्राकृत सनातनीहरूको पनि सम्मान गरेर सहअस्तित्व कायम गर्नुपर्ने हुन्छ । उसै पनि हाम्रो परम्परा संस्कृति आदिमा यो समिश्रण भइसकेको छ । हाम्रा कतिपय अनुष्ठानहरू वेदमन्त्र वा पुरोहितबेगर नै हुन्छन्, कुलपुजाहरू धामीले गर्दछन् । मुन्धुममा आधारित कर्महरू पनि सबैका परम्परामा सामेल छन् । त्यसैले चाहे वैदिक होस् वा प्राकृत एकै सनातनको अङ्ग हुन्, केवल एक खुड्किला माथि चढ्नुपर्छ ।