विश्व बक्सिङमा सुमिना पराजित

विश्व बक्सिङमा सुमिना पराजित



नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् ।

पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासँग पराजित भएकी हुन् । तीन राउन्ड नै प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासँग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाए ।

प्रतियोगितामा नेपालबाट सुमिनासहित दुई खेलाडी सहभागी छन् । महिला ४८ केजीमा सुष्मा तामाङ वाइ पाएर दोश्रो चरणमा प्रवेश गरेकी छन् । सुमिनाले अप्रिल १७ तारिखमा लिथुआनियाकी खेलाडीसंग प्रतिस्पर्धा गर्ने छिन् ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष उमार क्रिमलेमले उद्घाटन गरेका थिए । प्रतियोगितामा ५२ राष्ट्रका २ सय ७४ पुरुष र १ सय ४० महिला खेलाडीको सहभागिता रहेको प्रवक्ता अवालेले जनाएका छन् ।