सन्तोषको ‘प्रेमगीत ३’ हिन्दी र नेपालीमा रिलिज हुने

सन्तोषको ‘प्रेमगीत ३’ हिन्दी र नेपालीमा रिलिज हुने


  • राजन घिमिरे


प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित सिनेमा हो ‘प्रेमगीत ३’ । तर, विश्वभर फैलिएको कोरोना महामारीका कारण सिनेमा ‘पोस्टपोन्ड’ भयो । महामारीका बीच सिनेमाको प्राविधिक रूपमा पनि उत्कृष्ट बनाउने लक्ष्यसहित निर्माता तथा निर्देशक सन्तोष सेन मुम्बई पुगे ।

मुम्बईमा सम्पादनको काम गरिरहेका सेनलाई प्राविधिक काम गरिरहेको कम्पनीले ‘प्रेमगीत ३’लाई हिन्दी डबमा रिलिज गर्न सल्लाह दिए । स्टुडियो र बलिउड वितरकको सल्लाहमा निर्माता सेनले सिनेमाको हिन्दी डबको काम सकाउने तयारीमा छन् । अबको एक महिनामा सिनेमाको सम्पुर्ण काम सकिने निर्देशक सेनले बताए ।

स्व. छेतेन गुरुङसँग मिलेर निर्देशनमा समेत डेब्यु गरेका सेनले ‘प्रेम गीत ३’ हिन्दी र नेपालीमा एकसाथ रिलिज गर्ने बताएका छन् । कोरोना नआएको भए हिन्दीमा ‘प्रेमगीत ३’ डबिङ नहुने बताउँछन् निर्माता सेन । कोरोनाको समयमा सिनेमा रिलिज गर्न हतार गर्नुभन्दा पनि सिनेमालाई बलिउड बजारमा समेत लैजाने सोचेर हिन्दी भाषामा सिनेमा रिलिज गर्न लागेको उनले जानकारी दिए ।

हिन्दीमा पनि ‘प्रेमगीत ३’ रिलिज गर्ने भएपछि डविङको लागि सबै क्यारेक्टरको फिजिकल हाउभाउ अनुसारको आवाज खोज्न अलिक समय लागेको सेनले भनाइ छ । दक्षिण भारतीय सिनेमामा भ्वाइस दिएका सबै चल्तीका डबिङ आर्टिस्टहरूको छनौट गरेर डबिङको काम सकिएको सेनले बताए ।

सिनेमामा पछिल्लो समयका चर्चित अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरीलगायतका कलाकारको अभिनय छ ।

आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको लगानी छ भने छेतेन गुरुङ र मन्दीप गौतम मिलेर सिनेमा लेखेका हुन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।