गोकुलको चयनले एकथरीमा आतङ्क !

गोकुलको चयनले एकथरीमा आतङ्क !



नेकपा एमालेका नेता एवम् सांसद गोकुलप्रसाद बास्कोटा संसद्को लेखा समितिमा चयन भएपछि एकथरी मानिसमा बेग्लै प्रकारको आतङ्क पैदा भएको छ । खासगरी कर तथा भ्याट छलेर कारोबार गर्नेहरू, सञ्चारमाध्यम खोलेर ब्ल्याकमेलिङ गरेर अर्बौं कमाइ गर्नेहरू र जसले जुनसुकै ठूलो उद्यम ब्यवसाय सञ्चालन गर्न खोजे पनि ब्ल्याकमेलिङ गरेर कम्पनीको शेयर हडप्नेहरू गोकुलको लेखा समितिमा प्रवेशपछि ज्यादा आतङ्कित भएको पाइएको छ ।

ज्ञातव्य छ, लेखा समितिले मुलुकमा भइरहेका या भइसकेका अनियमितता एवम् भ्रष्टाचारजन्य क्रियाकलापमाथि अनुसन्धान गर्ने, त्यस्ता कार्यलाई सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने र आवश्यक कानूनी कारबाहीका निम्ति सरकार तथा सम्वद्ध निकायलाई निर्देश गर्ने जस्ता कार्यहरू गर्दछ । गत वर्ष आफूमाथि लागेको आरोपमाथि छानविन गर्न सहज होस् भन्दै मन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको छ ।

बास्कोटाले आफूमाथि मिथ्या आरोप लगाएर मानहानी गरेको भन्दै विजय मिश्र नामक व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा पनि अहिलेसम्म विचाराधिन अवस्थामा छ । दुवै मुद्दाको किनारा लाग्न बाँकी भए पनि लेखा समितिमा उनको चयन कानूनी, राजनीतिक या अन्य कुनै पनि दृष्टिले टिप्पणीयोग्य मानिँदैन । तर राज्यमा लुट मच्चाएर बसिरहेका केही ब्यापारीहरूको भने गोकुलको नियुक्तिले सातो लगेको छ । उनीहरूले यो नियुक्तिलाई निकै ठूलो चर्चा र टिप्पणीको विषय बनाएका छन् ।