काङ्ग्रेसभित्र माओवादी असफल !

काङ्ग्रेसभित्र माओवादी असफल !



सभापति शेरबहादुर देउवालाई घेराबन्दी गरेर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन र केपी ओलीको राजीनामा माग्ने निर्णयमा पुऱ्याउन बाध्य गराइए पनि अन्ततः रामचन्द्र पौडेल, कृष्ण सिटौला र गगन थापाको टोली आफैंसँग पराजित भएको छ ।

गत चैतको तेस्रो सातामा आयोजित काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक पाँच घण्टा अवरुद्ध गरेर पौडेल र सिटौलाले देउवालाई घेराबन्दी गरी प्रधानमन्त्री पदबाट केपीको राजीनामा माग्न र अविश्वासको प्रस्ताव ल्याउन ‘राजी’ गराएका थिए । त्यसरी देउवालाई बाध्य पार्नेवित्तिकै गगन थापा र सिटौलाले कार्य समितिबाट निर्णय नहुँदै सञ्चारमाध्यमबाट ‘काङ्ग्रेसले अविश्वासको प्रस्ताव ल्याउने’ भन्ने समाचार सार्वजनिक गरिदिएका थिए ।

यस किसिमको प्रचारबाजी गराएपछि रामचन्द्र पौडेलले प्रचण्डको आग्रहमा महन्थ ठाकुरलाई भेटेर ‘काउन्सीलिङ’ गर्न प्रयास पनि गरेका हुन्, तर पौडेलले उल्टै ठाकुरको खप्की खाए । ठाकुरबाट सकारात्मक जवफ नपाए पनि प्रचण्ड, रामचन्द्र, गगन र कृष्ण सिटौला आफ्नो अभीष्ट पूरा गराउन अझै पनि निरन्तर क्रियाशील छन् ।

यही वैशाख ५ गते काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक तय भएको छ । उक्त बैठकलाई आफ्नो पक्षमा पार्न रामचन्द्रको टोली अहिले थप सक्रिय बनेको पाइएको छ । सो बैठकमा पौडेलको प्रतिवाद गर्न युवा नेता शङ्कर भण्डारी एक्लै पर्याप्त भए पनि अन्य नेताहरू समेतले पौडेललाई ठीक ठाउँमा ल्याउन आ-आफ्नै प्रकारले तयारी गरिरहेको बुझिएको छ । पौडेल, सिटौला र गगनको टोलीले प्रचण्डसँगै सहकार्य गर्ने उत्कट अभिलाषा राखेका भए पनि अन्य नेताहरूले ताजा जनादेशमा जाने ‘मूड’ बनाएका छन् । संसद् विघटन गरेर चुनावमा जाने विकल्प प्रचण्डसँग मिलेर सरकारमा पुग्ने विकल्पभन्दा उत्तम रहेको धारणा देउवासहित काङ्ग्रेसका अन्य नेताहरूमा रहेको छ । त्यसैले पौडेलको टोली जतिसुकै ‘मच्चिए पनि अन्ततः थच्चिनुपर्ने’ अवस्थामा पुग्न सम्भव छ ।

स्मरणीय छ, संसद् विघटन भएर देश चुनावमा जान लागेका बेला शेरबहादुर देउवाले केपीको उक्त कदमका विरुद्ध सङ्घर्षमा जान आनाकानी गरेको र, देउवाको प्रवृत्ति सत्तामुखी भन्दै पौडेलको टोलीले उनको ब्यापक आलोचना गरेको थियो । अहिले देउवा सत्तामा भन्दा पनि चुनावमा जाने रणनीतिमा प्रकट भएका छन्, पौडेलको टोलीचाहिँ देउवालाई सत्तामा पुऱ्याउन जोडबल लगाउँदैछ । पौडेल, सिटौला र गगनको यस्तो व्यवहारलाई स्वेच्छिक भन्दा पनि निर्देशित ठानिएको छ । प्रचण्ड मात्रको निर्देशनमा उनीहरूले यसो गरिरहेका हुन् या तिनका अदृष्य मालिकको इच्छासमेत त्यसैमा मिसिएको छ भन्ने यकीन हुन सकेको छैन ।