मत सर्भेक्षणले देखायो- टोकियो ओलम्पिक रद्द होस् वा पछाडि सरोस् !

मत सर्भेक्षणले देखायो- टोकियो ओलम्पिक रद्द होस् वा पछाडि सरोस् !


  • जापान प्रतिनिधि

जापानमा ७० प्रतिशतभन्दा धेरैको चाहना टोकियो ओलम्पिक रद्द होस् वा पछाडि सरोस् भन्ने छ । कोरोना भाइरसको महामारी पुनः बल्झिँदै गर्दा प्रतियोगिता शुरु हुन सय दिनभन्दा केही बढी समय बाँकी रहँदा क्योदो न्यूजले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षणमा ३९ दशमलव २ प्रतिशतले प्रतियोगिता खारेज होस् भन्ने चाहेका छन् । ३२ दशमलव ८ प्रतिशत भने थप ढिलाईको पक्षमा छन् । २४ दशमलव ५ प्रतिशत उत्तरदाताले मात्रै प्रतियोगिता तय भएको समयमै होस् भन्ने चाहना व्यक्त गरेका छन् ।

सर्वेक्षणमा सहभागी ९२ दशमलव ६ प्रतिशत उत्तरदाताहरु पुनः बल्झिएको संक्रमणप्रति चिन्तित छन् ।

प्रधानमन्त्री योशिहिदे सुगाको मन्त्रीपरिषद्को समर्थन दर भने अघिल्लो सर्वेक्षणको तुलनामा १ दशमलव ९ प्रतिशत अंकले बढेर ४४ प्रतिशतमा पुगेको छ ।