मलेसिया सरकारद्वारा पुरस्कृत नेपाली युवा भन्छन्- ‘स्वदेशको लागि केही गर्ने सोच छ’

मलेसिया सरकारद्वारा पुरस्कृत नेपाली युवा भन्छन्- ‘स्वदेशको लागि केही गर्ने सोच छ’



नेपाली व्यवसायी शुभकरण छाजेर र स्व. शशी छाजेरका सुपुत्र अमर छाजेरलाई मलेसिया सरकारले पीजेके (Pingat Jasa Kebaktian) उपाधि प्रदान गरेको छ । देशमा अर्थव्यवस्था र टेक्नोलोजीको क्षेत्रमा रोजगारी सिर्जना गर्ने कार्यमा विशेष योगदान पुऱ्याएवापत उनलाई पेनाङ राज्य सरकारले उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो । ‘पीजेके’ सम्मान समुदायको लागि योगदान पुऱ्याउने व्यक्ति-व्यक्तित्वलाई त्यहाँको राज्यपालको जन्मदिवसका अवसरमा मलेशियन सरकारले प्रदान गर्ने राष्ट्रिय उपाधिमध्येको एक हो ।

सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रका समस्या समाधानमा महत्वपूर्ण सेवा प्रदान गर्दै आएको युएसटीले मलेसियाका लगभग एक हजार स्थानीयलाई रोजगारी प्रदान गर्दै आएको छ । मलेसियाकै सबभन्दा ठूलो आइटी कम्पनीको हेडका रूपमा सेवा पुऱ्याउनुका साथै अमर मलेसियाका सूचना प्रविधिसम्बन्धी विभिन्न संस्थाहरूको संगठन ‘ग्लोबल बिजनेस सर्भिस’का उपाध्यक्षको रूपमा पनि क्रियाशील रहेका छन् । मलेसियामा सूचना प्रविधिको क्षत्रमा लगानी आकर्षित गराउन उनी सिंगापुर र अष्ट्रेलियाको लागि मलेसियाका प्रतिनिधिसमेत हुन् । उनलाई सन् २०१८ मा गोल्डेन ग्लोबद्वारा ‘बिजनेस एक्सलेन्स अवार्ड’द्वारा पुरस्कृत गरिएको थियो ।

० तपाईंलाई मलेसिया सरकारले उच्च सम्मानका साथ पुरस्कृत गरेको छ, कस्तो अनुभूति भइरहेको छ ?
– म आफूलाई भाग्यशाली सम्झिरहेको छु । युएसटीमा नेतृत्व मेरो भए पनि मेरा सहकर्मीहरूले गरेको कडा परिश्रमको परिणाम हो मैले पाएको सम्मान । अर्को कुरा आज मलाई यो स्थानमा पु¥याउन मेरी आमाको अठोट, अथक प्रयत्न र आशीर्वादले पनि अहम् भूमिका निर्वाह गरेको छ । यतिबेला म मेरी आमालाई श्रद्धाका साथ स्मरण गरिरहेको छु । आफ्नो सन्तान शिक्षित बन्नुपर्छ भन्ने उहाँको अभिलाषा थियो । उहाँ भन्नुहुन्थ्यो- ‘यदि हामीले सन्तानको लागि सम्पत्ति छोड्यौँ भने त्यो सम्पत्ति विभिन्न कारणले नष्ट वा समाप्त हुन पनि सक्छ, तर यदि हामीले उनीहरूलाई शिक्षित बनाएर छोड्यौँ भने त्यो ज्ञान कहिल्यै नष्ट हुँदैन र, तिनीहरू सँधै स्वतन्त्र अनि खुशी रहनेछन् ।’ आमाको यही उच्च सोचले गर्दा म आज सम्मानित अवस्थामा आइपुगेँ ।

० नेपालका युवाका लागि तपाईंले कस्तो सन्देश दिन चाहनुहुन्छ ?
– उत्तम शिक्षा र उत्तम अवसरहरूको खोजी गर्नुहोस् । अनि, तपाईंसँग भएको क्षमता अरूको लागि अवसर सिर्जना गर्नमा लगाउनुहोस् । यसले सबैको कल्याण गर्छ ।

० नेपालको सम्बन्धमा टेक्नोलोजी उद्योगबारे तपाईं के भन्न चाहनुहुन्छ ?
– आजको युगमा टेक्नोलोजी उद्योगको उपयोगिता र महत्व निकै उच्च छ । देशलाई उत्कष्टतातर्फ लैजान र उच्च रोजगारी सिर्जना गर्न यसले ठूलो भूमिका खेल्छ । नेपाल सरकारले पनि आईटीको महत्व बुझेको अनुभूति हुन थालेको छ । अब हामीले धेरैभन्दा धेरै प्रतिभा, ज्यादा अवसर र अधिक कम्पनीहरू सिर्जना गर्न प्रयास गर्नुपर्दछ ।

० यसका लागि नेपालमा योगदान पुऱ्याउने तपाईंको कुनै सोच वा योजना छ ?
– तत्काल नै यस्तो कुनै योजना त मसँग छैन, तर म र मजस्ता विश्वभर छरिएर रहेका थुप्रै प्रतिभाहरू आफ्नो मुलुकको लागि केही न केही योगदान गर्न लागिपरेका हुन्छन् । आफ्नो देशको लागि केही त गर्नैपर्छ भन्ने सोच मसँग पनि छ । हेरौँ, भविष्यले यस्तो अवसर सिर्जना गर्छ नै भन्ने लाग्छ ।