राजाप्रति भारतीय ब्यवहारको अर्थ

राजाप्रति भारतीय ब्यवहारको अर्थ


  • बबिता बस्नेत

आफ्नै देशका मन्दिर जाँदा नेताहरूबाट विभिन्न प्रश्न र आक्षेप खेप्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्रलाई भारतमा नेपाल नरेशका रूपमा भब्य स्वागत गरिएको छ । भारतको उत्तराखण्ड राज्य सरकारको निमन्त्रणामा हरिद्वार पुग्नुभएका उहाँले पाएको सम्मानले देश-विदेशमा बस्ने नेपालीहरूलाई आश्चर्यमिश्रित गौरव प्रदान गरेको छ ।

कुनै पनि नेपालीलाई बाह्य मुलुकले दिने मान-सम्मान अर्को नेपालीका लागि खुशीको कुरा हो । तर यो सम्मानमा खुशीसँगै आश्चर्य किन मिसिएको छ भने तत्कालिन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले पूर्व राष्ट्रप्रमुखका रूपमा नभएर राजाकै हैसियतमा भारतमा सम्मान पाउनुभएको छ । हरिद्वारमा आयोजित कुम्भमेलाको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिनु भएका उहाँलाई नेपाल सम्राट भनी सम्बोधन गरिएको छ र भारतीय मिडियाले आफ्ना सामग्रीका हेडलाइनमा ‘नेपालका राजा ज्ञानेन्द्र’ भनी उल्लेख गरेका छन् । उत्तराखण्डका मुख्यमन्त्री तीर्थसिंह रावतले नेपालका राजालाई स्वागत गर्न पाउनु अहोभाग्य भनेका छन् भने साधुसन्तहरूले कुम्भमेलामा राजाले नुहाउनुलाई ‘शाही स्नान’को संज्ञा दिएका छन् ।

‘नेपाल किङ ज्ञानेन्द्र रिचेज हरिद्वार टु पार्टीसिपेट इन कुम्भ’, ‘किङ अफ नेपाल भिजिट हरिद्वार’ लगायतका शीर्षकमा हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया, लोकमत ग्रुप आदि अखबारहरूले समाचार छापेका छन् । टेलिभिजन च्यानलहरूले पनि ‘किङ अफ् नेपाल’बाट कुम्भमेलासम्बन्धी रिपोर्टिङको सुरुवात गरेका छन् । कतिपय टेलिभिजनले त ‘नेपाल एक मात्र हिन्दूराष्ट्र भएको र त्यहाँका सम्राट नारायणका स्वरुप मानिने’सम्म भनेका छन् । केही मिडियाले नेपाल भारत सम्बन्धका सेतु राजा ज्ञानेन्द्र भनी उल्लेख गरेका छन् । नेपालका राजालाई औपचारिक मर्यादामा स्वागत गरिएको भनी सन्तले भनेको कुरालाई मिडियाले समाचार बनाएका छन् । केही दिनयताका भारतीय मिडियामा कुम्भमेलाको समाचार पढ्ने, हेर्ने मानिसले नेपालमा राजा छैनन् भन्ने अनुमानसम्म पनि गर्न सक्दैनन् ।

यसको अर्थ के हो ? जुनसुकै बहानामा भए पनि आखिर भारतले अहिले राजालाई उच्च प्राथमिकताका साथ किन विशेष खातिरदारी गऱ्यो ? यो सम्मान नेपालका नेताहरू प्रतिको असन्तुष्टि मात्रै हो या नेपालमा राजा चाहिने रहेछ भनी आत्मसात गर्न थालिएको हो ?

नेपालमा गणतन्त्र आएपछि पूर्वराजा ज्ञानेन्द्र पहिलोपल्ट भारत जानुभएको होइन । राजतन्त्रको अन्त्यपछि यो १३ वर्षको बीचमा भारतका विभिन्न शहरमा पुग्नुभएका उहाँलाई दिइएको सुरक्षा ब्यवस्था पनि विगतमा भन्दा फरक छ । यसपटक उत्तराखण्ड सरकारले दिएको उच्च सुरक्षासँगै केन्द्र सरकारले पनि ‘पेट्रोलिङ’को ब्यवस्था गरेको थियो । सरकारी उच्च सुरक्षा र साधु-सन्तले दिएको सम्मानलाई हेर्दा राजाको भ्रमणले राजकीय भ्रमणको झलक दिएको छ । यसको अर्थ के हो ? जुनसुकै बहानामा भए पनि आखिर भारतले अहिले राजालाई उच्च प्राथमिकताका साथ किन विशेष खातिरदारी गऱ्यो ? यो सम्मान नेपालका नेताहरू प्रतिको असन्तुष्टि मात्रै हो या नेपालमा राजा चाहिने रहेछ भनी आत्मसात गर्न थालिएको हो ? विभिन्न तह, तप्कामा यस्ता प्रश्नहरूले ठाउँ लिइरहेका छन् । मानिसहरूले राजाप्रति भारतीय ब्यवहारको अर्थ खोज्न थालेका छन् ।

नेपालबाट राजसंस्था हटाइएकोमा भारतको हिन्दु समूदाय, साधु समाज सुरुदेखि नै असन्तुष्ट थियो । सनातनी धर्म-संस्कृतिमाथि प्रहार भइरहेका बेला एक मात्र हिन्दूराष्ट्रबाट नेपाललाई धर्मनिरपेक्ष बनाइकोमा उनीहरूले आपत्ति जनाइरहेका थिए । तर तात्कालिन भारतीय सत्तापक्षलाई हिन्दु धर्म-संस्कृति भन्दा बढी आफैंले लामो समयदेखि हुर्काइबढाइ गरेका माओवादीहरूलाई सत्तामा पुऱ्याएर प्रयोग गर्नु थियो । राजसंस्था फाल्नुका विभिन्न कारणहरूमा नेपालमा खेल्नका लागि सहज हुने ठम्याई प्रमुख थियो भन्न सकिन्छ । तर समयक्रममा नेपालसँगको सम्बन्ध अन्दाज गरेजस्तो सहज भएन । नेपालको राजसंस्था फाल्नुमा आफ्नो हात रहेको भनी कुनै नेपाली नेताले ठान्छ र भन्छ भने त्यो गलत हो । उनीहरू त्यतिबेला प्रयोग मात्र भएका हुन् ।

धेरै कोशिस गर्दा पनि हाम्रा नेताहरूले तात्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाल र पशुपतिनाथका पूजारीलाई हटाउन नसकेको उदाहरण हामीसँग छ । सेनाका प्रमुख र मन्दिरका पूजारी हटाउन नसक्नेहरूले ऐतिहासिक राजसंस्थालाई हटाएको ठान्नु आत्मरति मात्रै हो । त्यसो त, अहिले तामाम कोशिसका बाबजुद तिनै नेताहरूले संसदमा अल्पमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन सकेका छैनन् । बोल्दा जे-जे भने पनि खासमा नेताहरू आफ्नो तागतका बारेमा बेखबर छैनन् । यदि सर्वसाधारणलाई विगतमा कुनै भ्रम थियो भने पनि अहिलेसम्मका प्रमुख केही तथ्यगत घटनाहरूबाट स्पष्ट हुनका लागि अवश्य नै मद्दत पुगेको छ, हुनुपर्छ ।

अहिले तामाम कोशिसका बाबजुद तिनै नेताहरूले संसदमा अल्पमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन सकेका छैनन् । बोल्दा जे–जे भने पनि खासमा नेताहरू आफ्नो तागतका बारेमा बेखबर छैनन् ।

२०६२ सालमा भारतीय सरकारको दूत बनेर आएका करण सिंहपछि भारतले नेपालको राजसंस्थासँग कुनै पनि औपचारिक सम्बन्ध राखेको छैन । नेपाल र भारतबीचको साँस्कृतिक सम्बन्धमै खलल पुग्न थालेपछि नेपाललाई माया गर्ने भारतीय ठूलो तप्का आफ्नो सरकारकारले अवलम्बन गरेको नीतिसँग असहमत देखिएको पाइएको छ । आचार्य महामण्डलेश्वरलगायतले भारत सरकारलाई नेपालप्रतिको नीति परिवर्तन गर्नका लागि पटक-पटक आग्रह गरेका छन् । हिन्दु धर्म संस्कृतिसँग जोडेर गरिएको नीति परिवर्तनको मागमा राजसंस्थाको पुनःस्थापना स्वतः पर्छ भन्ने सम्बन्धित पक्षको दाबी छ ।

आचार्य महामण्डलेश्वर लगायतका महासन्तले नेपाल-भारत सम्बन्धको सेतु राजसंस्था हो भनेका छन् । भारतले नेपालका लागि अपनाएको हिन्दूविरोधी, धर्मनिरपेक्ष कुटनीति फापेन भन्ने सन्त समाजको भनाइ छ । नेपाललाई सन्तहरूले तपोभूमि मान्छन् र नेपाललाई तपोभूमि मान्ने र नेपालमै लामो समय तप, ध्यान गर्नुभएका नरेन्द्र मोदी अहिले भारतका प्रधानमन्त्री हुनुहुन्छ । धर्म, संस्कृतिका सवालमा भारतका लागि नेपाल र नेपालका लागि भारत जति निकट अन्य मुलुक छैनन र हुने सम्भावना पनि छैन ।

भारतको साधु समाजले पूर्वराजालाई ‘नेपाल नरेश’ र ‘नेपाल सम्राट’ भनी सम्बोधन गर्दै छिमेकी मुलुक नेपालका राजाकै हैसियतमा उच्च सम्मान दिइ भारत सरकारलाई स्पष्ट सन्देश दिएका छन । ‘नेपालको राजसंस्था नेपाल-भारत सम्बन्धको सेतु’ महासन्तहरूको स्पष्ट सन्देश यही नै हो जसलाई त्यहाँका मिडियाले पटक-पटक दोहोऱ्याएर प्रशारण गरिरहेका छन । त्यसो भए के भारत राजसंस्था पुनःस्थापनाको पक्षमा छ ? या राजसंस्था चाहिने रहेछ भन्ने निष्कर्षमा पुगेको हो या पुग्दैछ ? कुटनीति र राजनीतिमा यो सम्मानको अर्थ के हो ? यी र यस्ता प्रश्नहरूले सचेत नागरिकको मनमा ठाउँ लिए पनि यसै भन्न सक्ने अवस्था छैन । पूर्वराजा ज्ञानेन्द्रले पाएको यो सम्मानलाई भारतले नेपालको राजसंस्थाप्रतिको आफ्नो नीति, दृष्टिकोण र ब्यवहारमा ल्याएको परिवर्तनको सङ्केतका रूपमा भने बुझ्न सकिन्छ ।