नयाँ वर्षलाई यसरी गरौँ स्वागत !

नयाँ वर्षलाई यसरी गरौँ स्वागत !



कोभिड महामारीको महाब्यथाका साथ शुरु भएको वर्ष २०७७ बितेर गएको छ र, कोरोनाको अनिश्चित पिरोलोसँगै नयाँ वर्ष २०७८ आरम्भ भएको छ । अत्यन्त कठिन परिस्थितिमा स्वागत गरिएको थियो बितेको वर्षलाई नयाँ वर्षको रूपमा, त्यो पुरानो बनेर गुज्रिएको छ र पनि त्यसले दिएका घाउमा खाटा बसिनसक्दै नयाँ सम्वत् आरम्भ भएको छ । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने घडी वास्तवमा उल्लासपूर्ण हुनुपर्ने हो, तर त्यस्तो उमङ्ग प्रकट गर्न सकिरहेका छैनौँ हामी । समयविशेषले आरम्भमै यसरी दुःखको भाव प्रकट गर्न बाध्य तुल्याएको छ ।

तथापि, नयाँ वर्ष एउटा उत्सव हो । यसलाई उमङ्गका साथ मनाउने संस्कार विश्वका अन्य मुलुकमा झैँ हामीकहाँ पनि वर्षेनी विकसित हुँदो छ । आगतका प्रत्येक क्षण उमङ्ग-उत्सव वा खुशीका साथ मनाउने कामना-चाहनाका साथ नयाँ वर्षको पहिलो दिनलाई स्वागत गरिन्छ । पुरानो वर्षको विदाइसँगै नयाँ वर्षको स्वागत विशेष आशापेक्षाकै साथ गरिन्छ । बितेको वर्षभन्दा हरेक हिसाबले नयाँ वर्ष सुखदायी र उन्नत होस् भन्ने कामना गरिन्छ । पुरानो साल जसरी बिते पनि बितेर गएको वर्षलाई बिर्संदै फेरि सुखद कल्पना-कामनाका साथ नयाँ वर्षलाई स्वागत गरिन्छ । यही बिन्दुमा यतिबेला हामी उभिनपुगेका छौँ, पुरानो वर्षको बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै ।

नयाँ वर्षको आरम्भमा परम्परा धान्दै उल्लास-उमङ्गको कामना गरे पनि यथार्थ भने लुकाएर लुक्न सक्दैन । अर्थात्, बितेको वर्षले दिएको अनेक बोझको भारी बोकेर हिँड्न तमाम नेपाली अभिशप्त छौँ । कोभिड महामारीका साथै राजनीतिक रूपले पनि अत्यन्त अस्थिर र उथलपुथलको वर्ष बन्यो वि.सं. २०७७ । यसरी महिनौँदेखि लगातार देशको राजनीति अन्योलपूर्ण छ र, धमिलिएको राजनीतिले अझै सङ्लिने लक्षण देखाइरहेको छैन । विकृत राजनीतिका कारण नेपाली जनतामा वितृष्णा बढिरहेकै छ, मुलुकको राजनीति र राजनीतिकर्मीप्रतिको आशा एवम् विश्वास लगातार डग्मगाइरहेको छ । मुलुकका समस्त अवयवमा राजनीतिको सोझो पकड र प्रभाव रहने हुँदा बिग्रिएको राजनीतिले स्वभावतः सबै क्षेत्रमा नकारात्मक प्रभाव नै छोडिरहेको छ । यसमाथि कोरोना महामारीको दोस्रो लहरको कहर पनि यतिबेला ब्याप्त छ । तथापि, यसैमा पिरोलो गरी बस्ने छुट हामीलाई छैन, निराशाबाट निस्कने बाटोको खोजी गर्नैपर्छ, आशावादी त हुनैपर्छ । यही नै नर्या वर्ष आरम्भको मूल विशेषता हो ।

आशावादी मानिसहरू भन्छन्- नव वर्ष एक सुन्दर फूल हो जसमा सुखद् भविष्यको बीज देख्न सकिन्छ । नव वर्षको ढोकाबाट प्रवेश गर्दैगर्दा व्यक्ति-व्यक्ति अनि सिङ्गै देश र विश्वकै भविष्य सुखद्-सुन्दर देख्नुपर्छ, सुख-समृद्धिको कामना गर्नुपर्छ । सुखद् कल्पनाले नै मानिसलाई वास्तविक सुखदावस्थामा पुग्न-पुर्‍याउन सघाउँछ । विपरीत सोच बोकेर सुखद् गन्तव्यमा पुग्न नसकिने हुँदा नवीन वर्षको आरम्भमा सुखद् र सुन्दर सोच बनाउनैपर्छ ।

नयाँ वर्ष वास्तवमा नयाँ सुरुवातसँगै एउटा परिवर्तन पनि हो र, परिवर्तन भनेको नयाँ स्फुरण, नयाँ अनुभव, नयाँ ज्ञान, नयाँ परिणाम प्रदान गर्ने एक विशेष परिस्थिति हो । मानिस पुरानोमा बाँच्न चाहँदैन, नयाँ-नयाँ पल-परिवेशले उसलाई बाँच्न र बाँचिरहन उत्प्रेरित तुल्याउँछ । सुन्दर सृष्टिलाई निरन्तरता प्रदान गर्न यही उत्प्रेरणाले अहम् भूमिका निर्वाह गरिरहेको छुन्छ । त्यसैले परिवर्तन, अर्थात् नयाँ वर्षलाई सु–स्वागत गरिन्छ । यहाँनेर यो मनन गर्नैपर्छ कि आफूलाई परिवर्तन नगरे परिवर्तनको आगमन जीवनमा अवश्यमेव हुँदैन । बितेको वर्षभरिमा कति गल्ती गरियो ? त्याज्य काम-कुरा कति अपनाइयो ? खराब कुरा त्यागेर असल सोच-आचरण अवलम्बन गर्ने प्रयत्न गरियो-गरिएन ? नराम्रा बानी-ब्यहोरा हटाउने सोच कहिल्यै आयो-आएन ? यो मनन गर्दै नयाँवर्षको बिहानीसँगै आफूलाई निर्माण गर्ने अठोट गर्नु अपरिहार्य छ यदि नयाँ वर्षलाई सुखद् तुल्याउने हो भने । नवनिर्माणको मार्ग सहज छैन, हाम्रो राजनीतिक परिवेशले यो बाटोलाई झनै कठिन तुल्याइदिएको छ, तर नयाँवर्षले हामीमा बेग्लै उमङ्ग दिन्छ, मन-मगजमा जोश भरिदिन्छ, जसले अप्ठ्यारो वा गाह्रो-साह्रोलाई चिरेर अघि बढ्ने उर्जा प्रदान गर्दछ । नव वर्षको विशेषता नै यस्तै हुन्छ । त्यसैले पुरानो र खराबलाई भत्काउँदै, फ्याँक्दै नयाँ र असल निर्माण गर्न शुरु गरौँ ।

सङ्कटले सम्भावनाको ढोका पनि खोल्छ भन्ने मान्यता छ । सङ्कटको वर्षको रूपमा बितेर गएको वर्षले सम्भावनाको ढोका कति खोल्नेछ, प्रतीक्षाकै विषय हो । जे भयो भयो, नराम्रोले पनि राम्रोको निम्ति पाठ सिकाएर गयो भन्ने ठानौँ । अबको वर्ष शुभ हुन्छ, सही हुन्छ अनि स्वस्थ र कल्याणकारी हुन्छ भन्ने कामना गरौँ, विश्वास राखौँ । वि.सं. २०७८ ले सम्पूर्ण नेपालीजनका सारा असल आकाङ्क्षालाई सफलताको शिखरतर्फ डोर्‍याओस्, सुख-समृद्धिले सबैका कदम चुमोस् । यस्तै-यस्तै शब्दका साथ नयाँ साललाई स्वागत गरौँ । सबैलाई नव वर्षको शुभकामना !