यसकारण आत्मघाती छ ‘इम्बोष्ड नम्बर’ !

यसकारण आत्मघाती छ ‘इम्बोष्ड नम्बर’ !


  • रामेश्वर राउत ‘मातृदास’

शास्त्रले भाषा सुधारे सकल सुधार, भाषा बिगारे सकल बिगार भनेको छ, यो मननीय कुरा हो । ‘वेदोखिलो धर्म मूलम् बसुधैव कुटुम्बकम्’ भन्ने महान्, उदात्त र विशाल संस्कार, संस्कृति र परम्पराबाट प्रशिक्षित हामी नेपाली संसारमा भएका कुनै पनि भाषा, साहित्य, कला, संस्कार, संस्कृति र ऋतिरिवाज, परम्परा र लिपिका वैरी वा विरोधी हैनौँ र छैनौँ । हाम्रो यही सहनशीलताको भऱ्याङ बनाएर हाम्रो भाषाको देवनागरी लिपि, वर्णाक्षरहरू, अङ्क र गोपनियताको संवैधानिक हकलाई सधैंका लागि समाप्त पार्ने आत्मघाती र पीडादायी ‘इम्बोष्ड नम्बर प्लेट’ हाम्रा लागि कुनै पनि हालतमा मान्य र स्वीकार्य छैन । मात्र ट्राफिक र यात्रुहरूको हितरक्षासँग सरोकार राख्ने संख्यापाटी (नम्बर प्लेट) मा हाम्रो आफ्नै भाषाको वर्णाक्षरहरू र अंक प्रयोगले नै पर्याप्त हुन्छ । यो आत्मघाती असंवैधानिक ‘इम्बोष्ड नम्बर प्लेट’ प्रयोगले हामी सम्पूर्ण नेपालीहरूको नैसर्गिक भाषिक र गोपनियताको हक हनन भएको हुँदा कुनै पनि जिम्दा नेपालीका लागि यो अत्याचारबाट बचाउने मूल र कुल दायित्व र जिम्मेवारी सम्पूर्ण रूपले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाकै भएको हुँदा सार्वभौमसत्ता सम्पन्न नेपाल र नेपालीको प्राणशक्तिको स्थानमा रहेको ‘देवनागरी लिपि, वर्णाक्षर, अंक र गोपनियताको हक’ सधैंका लागि गुमाउने र गुम्ने असंवैधानिक कार्य यथाशीघ्र रद्द र बन्द गरिनु अनिवार्य छ ।

तथाकथित सरल र प्रविधिमैत्रीको आवरणमा हामी सम्पूर्ण नेपालीहरूको अस्तित्व र महत्वसँग जोडिएको देवनागरी लिपि, वर्णाक्षर, अंक, भाषा र संवैधानिक गोपनीयताको हकलाई नै समाप्त पार्ने ब्वाँसे-नीति थोपरिनु स्वीकार्य हुन सक्दैन । विश्वमा विकसित र प्रयोग भएको प्रविधिबाट संसारका अन्य देशले उनीहरूको चौतर्फी प्रभावलाई व्यापक रूपमा विस्तार गर्ने तर त्यही प्रविधिको आवरणमा हामी नेपालीहरूले चाहिँ आफ्नो नैसर्गिक संवैधानिक भाषिक र गोपनियताको हकसमेत गुमाउनु पर्ने बाध्यता किन ? के यो तथाकथित ‘सरल र प्रविधि’ हाम्रो अस्तित्व र महत्वलाई समाप्त पार्ने उद्देश्यबाट मात्र बनाएको र विकसित भएको हो ? नेपाल र नेपालीकै सार्वभौम अस्तित्वमाथि धावा बोल्ने आत्मघाती ‘इम्बोष्ड नम्बर प्लेट’ त्याज्य भएकोले यसमा सबैले आवाज बुलन्द गर्नु समयको माग हो ।

राज्यका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र विशेषगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल र गुप्तचर निकायको नियमन र निगरानी निर्माता कम्पनीबाट नै हुन सक्ने यो असंवैधानिक आत्मघाती ‘इम्बोष्ड नम्बर प्लेट’को प्रतिलिपि अधिकार नेपाल सरकार, यातायात मन्त्रालयलाई समेत नभएको हुँदा यो आपत्तिजनक अवैधानिक आत्मघाती सम्झौताबाट नेपालको राष्ट्रिय सुरक्षामा चिरकालपर्यन्त गम्भीर र दीर्घकालिन आघात र प्रभाव पार्ने हुँदा यसको प्रयोग नगर्न सरोकारवाला सबै उत्प्रेरित हुनु अपरिहार्य छ । यसलाई रद्द र बन्द गरी आफ्ना सवारी साधनहरूमा हाम्रै सर्वगुणसम्पन्न देवनागरी लिपि, वर्णाक्षर र अंकहरूको प्रयोग गरौँ ।

आफ्नो भाषामा वर्णाक्षर, अंक र छुट्टै लिपि नभएका देशहरूले मात्र अरु भाषाको लिपि र वर्णाक्षरहरू एवं अंक लिएर काम चलाउ (वैकल्पिक उपाय) अपनाउने हो । हाम्रो भाषामा भएका पर्याप्त वर्णाक्षर, अंक र संसारकै सर्वाेत्कृष्ट देवनागरी लिपिलाई नै समाप्त पारेर १२५ जात र १२३ भाषा, साहित्य, कला, संस्कृति, संस्कार, ऋतिऋवाज र परम्परालाई कथ्यमा मात्र सीमित राख्ने विषाक्त योजनामा ल्याइएको हो आत्मघाती ‘इम्बोष्ड नम्बर प्लेट’, यो बुझौँ ।

भारतको संविधानबाट समेत मान्यता पाएको नेपाली भाषा, आज आफ्नै देश नेपालबाट प्रयोजनहीन बनाउने पीडादायी अत्याचार र अत्याचारीहरू नै नेपाल र हामी आम नेपालीहरूका दुश्मनहरू हुन् । ती भाषाघातीहरूबाट हाम्रो भाषाको लिपि, वर्णाक्षर, अंक बचाउन सम्पूर्ण जिम्दा नेपालीहरू जाग्न ढिला भइसकेको छ । हामीहरूलाई आफ्नै देशभित्र बँधुवा दास बनाउने अमानवीय अत्याचारबाट देशलाई बचाऊँ, आफू बचौँ र भविष्यका कर्णधारहरूलाई बचाऊँ !

आफ्नै भाषाको अक्षर, अंक र आफ्नो गोपनीयताको हक बेच्ने र समाप्त पार्ने अत्याचार पशुपन्छी र जनावरहरूले समेत गर्दैनन्, गरेका छैनन् । दुर्भाग्य ! नेपालका विवेकहीन द्रव्यमोहीहरूले पैसाको प्रलोभनमा परेर आफ्नै भाषामा भएका वर्णाक्षर, अंक र देवनागरी लिपिसमेत समाप्त पार्ने अमानवीय बेइमानी गरेकाले यो अत्याचारबाट देश र समाजलाई जोगाउन सम्पूर्ण सचेत र जिम्दा नेपालीहरू जागरुक बनौँ ।

सवारी साधनहरूमा प्रयोग हुने संख्यापाटी (नम्बर प्लेट) लेखेर आफ्नो पेशा-व्यवसाय चलाइराखेका आफ्नो देशभित्रका सम्पूर्ण नेपाली मजदुरहरूको रोजीरोटी (मुख मोस्ने) र व्यवसायमा गैरकानूनी ढङ्गबाट ताल्चा लगाउने बेइमानी भएकाले यस्तो राष्ट्रमारा अत्याचारलाई परास्त गर्न सार्वभौमसत्तासम्पन्न सम्पूर्ण जिम्दा नेपालीहरू जागरुक बनौँ ।

यसका लागि नेपालमा सञ्चालन हुने नेपाली सवारी साधनहरूमा देवनागरी लिपिमा आधारित भएका अक्षर र अंकहरूलाई नै प्रयोग गर्नुपर्दछ । आफ्नो भाषामा वर्णाक्षर, अंक र छुट्टै लिपि नभएका देशहरूले मात्र अरु भाषाको लिपि र वर्णाक्षरहरू एवं अंक लिएर काम चलाउ (वैकल्पिक उपाय) अपनाउने हो । हाम्रो भाषामा भएका पर्याप्त वर्णाक्षर, अंक र संसारकै सर्वाेत्कृष्ट देवनागरी लिपिलाई नै समाप्त पारेर १२५ जात र १२३ भाषा, साहित्य, कला, संस्कृति, संस्कार, ऋतिऋवाज र परम्परालाई कथ्यमा मात्र सीमित राख्ने विषाक्त योजनामा ल्याइएको हो आत्मघाती ‘इम्बोष्ड नम्बर प्लेट’, यो बुझौँ ।

नेपालमा सञ्चालन हुने सवारी साधनहरूमा प्रयोग हुने संख्यापाटी (नम्बर प्लेट) नेपालकै ट्राफिक प्रहरि र यात्रुहरूको हित प्रयोजनका लागि हो र हुनुपर्दछ । असंवैधानिक आत्मघाती ‘इम्बोष्ड नम्बर प्लेट’ प्रयोगपछि हाम्रा यातायातका साधनहरूलाई चालकहरूले अरु देशहरूमा सञ्चालन गरेर आफ्नो आम्दानीको श्रोत बढाउन सक्ने हैनन् । उल्टो आफ्नो भाषिक अधिकार, गोपनीयताको हक र आफ्नो देशमा रहने राजस्वसमेत सधैंका लागि विदेशी कम्पनीलाई बुझाउन बाध्य र विवश बनाउने र नेपालका ट्राफिक प्रहरी र सडकमा यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई सधैंभरि भ्रम उत्पन्न गराएर तस्कर र माफियाहरूको रैरकममा आफ्नो देशको अस्तित्व र महत्वलाई निस्तेज बनाउने यो गैरकानूनी आत्मघाती ‘इम्बोष्ड नम्बर प्लेट’ नेपालको संविधान २०७२ को धारा १(१), धारा ७(१), धारा २८ र धारा ३२(३) समेतको विपरित भएको हुँदा नेपाली धरातलबाट सधैंका लागि सम्पूर्ण नेपालीले परित्याग गर्नु अनिवार्य छ, परित्याग गरौं । भाषा बचाऊँ, देश जोगाऊँ !!

(लेखक देवनागरी लिपि तथा वर्णाक्षर बचाऊँ अभियानका अभियन्ता हुन् ।)