जङ्गबहादुरसँग अङ्ग्रेज डराउँदा…

जङ्गबहादुरसँग अङ्ग्रेज डराउँदा…


(इतिहास)

वि.सं. १९०५ पुस, तदनुसार डिसेम्बर २२ ता. १८४८ ई. का दिन प्रधानमन्त्री जंगले राजा सुरेन्द्रबाट राजगद्दी प्राप्त गरेको खुशीयालीमा एक भव्य शिकारको आयोजना गरे । यो शिकारमा राजा सुरेन्द्रका साथ जंगबहादुरसमेत नेपाल–भारत सिमाना पूर्वतराईको जंगल पत्थरघट्टातर्फ जाने भए ।

भर्खरै प्राप्त भएको सत्तामा अनेक विद्रोहीहरू थिए । कसैले विद्रोहको आँट नगरुन् भन्ने उद्देश्यले शिकारको आयोजना गरिएको थियो । साथै यस आयोजनाको अर्को कारण अंग्रेजलाई आफ्नो सैनिक शक्तिको प्रदर्शन गर्न थियो । यो शिकारमा पैदल सेना ३२ हजार, घोडचढी सेना ५ सय, ठूलो तोप तान्ने खच्चड २ सय ५०, साधारण तोप ५२, सामान बोक्ने पिपा २ हजार जवान, रसद इत्यादिको प्रबन्धक ७ सय जना सहभागी थिए । प्रधानमन्त्री जंगबहादुर अंग्रेजलाई आफ्नो सैनिक शक्तिको प्रदर्शन गराइ परिआएमा नेपालीले रगतको खोलो बगाउन पनि किञ्चित पछि हट्ने छैनन् भन्ने कुरा देखाउन चाहन्थे । त्यस समय यी सबै देखी अंग्रेजहरू दच्किए पनि ।

नेपाल–भारत सीमा तराईमा हुने शिकारको निमित्त जंग यत्रो ठूलो दलबलका साथ उत्रेको सूचना पाइ अंग्रेजले पनि एक ठूलो सेना नेपाल–भारत सिमानातर्फ बढाउने चेष्टा नगरेको होइन, तत्कालीन गभर्नर जनरल लर्ड हार्डिङ्ग त्यस समय धेरै हडबडाएका थिए । त्यसैबेला अंग्रेज र सिखबीच निकै झैझगडा पनि चलि नै रहेको बेलामा भारत सीमामा यत्रो ठूलो सेना लिइ प्रधानमन्त्री जंगबहादुर उत्रिएपछि लर्ड हार्डिङ्ग आत्तिनु स्वाभाविकै थियो ।

लर्ड हार्डिङ्ग र कायममुकायम रेजिडेन्ट मेजर थर्सवेबीच यस विषयमा खूब लेखापढी भयो । रेजिडेन्ट मेजर थर्सवले प्रधानमन्त्री जंगले अंग्रेजविरोधि कार्य गर्न आँटेको कदापि होइन, सिर्फ आफ्नै बचाउको निमित्त दलबलका साथ भारत–सिमानातर्फ शिकारको निमित्त उत्रेको मात्र हो भनी सल्टाए ।

यसरी प्रधानमन्त्री जंगले परिस्थितिलाई आफ्नो अनुकूल बनाएर कुटनैतिक चाल चल्दै हमेसै अंग्रेजकै समर्थन पनि गर्दै गए । उनले अंग्रेजको प्रशस्त समर्थन गरे, जुन उनको निमित्त मात्र होइन नेपाली जनताको निमित्त पनि उपलब्धि थियो । साम्राज्यवादी अंग्रेजले नेपालको छिमेकी राष्ट्र भारतलाई एक–एक गरी निलिसकेको र सम्पूर्ण भारतमा बृटिश झण्डा फहराइसकेको थियो । यसैक्रमले नेपाललाई पनि निल्न खोजिरहेको अंग्रेजलाई आफ्नो पक्षमा पारी अंग्रेजहरूद्वारा प्रधानमन्त्री जंगले निकै ठूलो उपलब्धि हासिल गराउन सके । हुन त अंग्रेज पनि समयको प्रतीक्षामा थियो होला तर शायद अंग्रेजले जंगबहादुरलाई मिरजाफर ‘भारत–बंगालको प्रधानमन्त्री’ र राजा सुरेन्द्रलाई शिराजुद्दौला ‘भारत–बंगालको नवावबादशाह’को दाँजोमा दाँजेका थिए होला, तर यस्तो धारणा पूर्ण गलत थियो ।

प्रधानमन्त्री मिरजाफरले नवाव शिराजुद्दौलाको राजसिंहासन नै हत्याएझैँ गद्दारीपन प्रधानमन्त्री जंगले सोचेनन् । तर चतुर जंगबहादुर आफै अरू शक्तिशाली बन्नतिर मात्र लागे र नेपाललाई बृटिश झण्डामुनि कदापि रहन दिएनन् । हुन त त्यस समयको भौगोलिक, सामाजिक, राजनैतिक र आर्थिक दष्टिकोणबाटै पनि नेपालको राजतन्त्र दरिलो थिएन, खालि नाम मात्रको वैधानिक आडमा थियो । जंगबहादुरले नेपाल राष्ट्रलाई नै अंग्रेजको हातमा सुम्पिनबाट जोगाए । भारत, बर्मा, सिलोन आदि कतिपय मुलुकहरूझै नेपाल अंग्रेजको झण्डामुनि कहिल्यै पर्नु परेन । अंग्रेजले प्रधानमन्त्री जंगको चालढालको अध्ययन भने गर्दै थियो र पूर्ण रूपले विश्वास गर्न सकेको थिएन । जंगउपर शंकै गर्ने गर्दथ्यो र हमेसै सतर्क रहन्थ्यो ।

उपरोक्त शिकार–सवारीको निमित्त विसौलियामा क्याम्प खडा गरियो । त्यस ठाउँदेखि शिकार आरम्भ भयो । पत्थरघट्टा पुग्न्अगावै जंगले ८ बाघ र २ जरायो मारे । अचानक औलोको ज्वरो क्याम्पमा फैलियो । जंगबहादुर आफै पनि औलोको ज्वरोले पीडित भए । जम्मा ३ सय ७१ जवान यस रोगबाट पीडित भए, तसर्थ जनवरी १७ ता. १८४९ ई. का दिन सबेरै क्याम्प उठाउने बिगुल बज्यो । जनवरी १८ ता. का राति करिव ११ बजेतिर जंगबहादुर आफ्नो थापाथलीस्थित दरबारभित्र पसे । जनवरी २२ ता. का दिन उनी गोकर्णतर्फ गए र त्यहीँ बसे । गोकर्णमा केही दिन शिकार खेली पुनः थापाथली दरबार फर्के ।

जंगबहादरलाई घोडा चढ्नका अति रहर थियो, साथै यिनी पारखी र सिपालुसमेत थिए । अरब देशका अरेवियनहरूले जहाजद्वारा भारतको बम्बई र कलकत्तामा अरबी घोडाहरू ल्याइ बेच्ने गर्दथे । जंगले तत्कालीन भारतस्थित नेपाली वकिलमार्फत ३० वटा अरबी घोडाहरू झिकाएका थिए । ती घोडाहरू फेब्रुअरी १६ ता. का दिन काठमाडौं आइपुगेकाले ती घोडाहरू सबै एक–एक गरी बहादुर आफैले चढी जाँच गरे । तीमध्ये भाइ रणोद्दीप सिंह र भाइ जगतशमशेरहरूले एक–एक घोडा बक्सिस पाए ।

(पद्यजङ्ग राणाकृत ‘जङ्गबहादुरको जीवनयात्रा’बाट)