राष्ट्रिय टोलीको ‘आईस ब्रेक’ : फुटबलमा शुभ सङ्केत !

राष्ट्रिय टोलीको ‘आईस ब्रेक’ : फुटबलमा शुभ सङ्केत !


  • श्रीविक्रम भण्डारी

विश्व फुटबल महासङ्घ (फिफा) द्वारा मान्यता प्राप्त थ्री नेसन कप फुटबल प्रतियोगिता हालै नेपालमा सम्पन्न भएको छ । आयोजक नेपालसहित बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको यो प्रतियोगिताको उपाधि जित्न नेपाल सफल भएको छ । दुई खेलमा गोलरहित दुई अङ्क बटुलेर फाइनलमा पुगेको नेपालले फाइनलमा बंगलादेशलाई दुई एकको अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । यो उपाधिसँगै सिनियर राष्ट्रिय फुटबल टोलीले करिव चार दशकपछि उपाधि उचाल्ने अवसर पायो । सिनियर टोलीले यसरी लामो समयपछि ‘आइस ब्रेक’ गरेपछि नेपाली फुटबलमा नौलौ तरङ्ग उत्पन्न भएको छ । साथै सिनियर राष्ट्रिय टोलीले पनि गोल गर्न र उपाधि जित्न सक्छ भन्ने प्रमाणित भएको छ ।

२० महिनामा ७ वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरेको राष्ट्रिय फुटबल टोली गोलरहित बनेको थियो । प्रतियोगिता जित्न त परै जाओस् विनागोलको यात्रा गरेको नेपाली टोलीले यी प्रतियोगितामा उल्टै ११ गोल खाएको थियो । उत्कृष्ट फुटबल टोली भएर पनि सुखद् नतिजा दिन नसक्दा नेपाली टोलीले निकै आलोचनाको सामना गर्नु परिरहेको थियो । आफूभन्दा कमजोर टोलीसँग बराबरीमा रोकिनु र पराजयको सामना गर्नुले नेपाली फुटबल टोलीमाथि ठूलो प्रश्नचिन्ह खडा गरिदियो । यस्तो परिणामले आम फुटबलप्रेमीहरूलाई निरास मात्रै बनायो, उनीहरूको सोचमा समेत नकारात्मक प्रभाव पार्न पुग्यो । उनीहरूबीच नेपाली फुटबलको विश्वसनियतामाथि चर्चा चल्न थाल्यो- ‘कतै नेपाली फुटबल अधोगतितर्फ उन्मूख भएको त होइन ?!’ परिणामले यस्तै देखाइरहेको अवस्थामा खेलपे्रमीको मानसपटलमा यस्तो प्रश्न उठ्नु अस्वाभाविक पनि थिएन । नेपाली फुटबल टोली असफल मात्र नभइ निरीह सावित भइरहेको परिवेशमा फुटबलप्रेमीहतको मन कुँढिनु स्वाभाविक थियो ।

यसको प्रमुख कारण थियो- ‘अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गोल गर्न नसक्नु !’ गोल गरेर मात्रै जित्न सकिने खेलमा २० महिनादेखि विपक्षीको पोस्टमा एउटै गोल गर्न नसक्नु साँच्चिकै पीडादायी प्रसङ्ग बनेको थियो । पछिल्लो पटक सन् २०१९ मा सिनियर फुटबल टोलीले फिफा विश्वकप र एसिया कप छनोटअन्तर्गत भएका खेलमा चाइनिज ताइपेइलाई पराजित गरेयता अहिलेसम्म कुनै पनि विदेशी टोलीलाई पराजित गर्न त परै जाओस् गोल गर्नसमेत सकेको थिएन । नेपाली फुटबलको पछिल्लो कालखण्डलाई दृष्टिगत गर्दा ‘नो स्कोरिङ’ निकै हाबी थियो । जसका कारण राष्ट्रिय फुटबल टोलीले सुखद नतिजा दिन नसकेको जगजाहेर थियो । त्यतिबेला नेपालका स्ट्राइकर उत्कृष्ट थिए तर गोल गर्न असक्षम रहन्थे । एन्फाको व्यवस्थापन पक्ष दरिलो थियो तर परिणाम सोचेअनुरुप प्राप्त भएको थिएन । साँचो अर्थमा भन्नुपर्दा ‘हात लाग्यो सून्य’ नै भइरहेको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाको दुई दशकभन्दा लामो कार्यकाल ‘नो स्कोरिङ’ले गर्दा नै प्रभावित बनेको थियो । उनको कार्यकालमा नेपालमा फुटबलको विकास चुचुरोमा पुगे पनि अन्तर्राष्ट्रिय स्तरमा कुनै उपलब्धि हासिल गर्न नसक्दा उनको कार्यकाल छायामा पऱ्यो । यसको अन्य कारण केही नभई ‘नो स्कोरिङ’ नै प्रमुख कारण थियो । त्यसैले अहिले पनि गणेश थापा र राष्ट्रिय फुटबल टोलीमध्ये कुन चाहिँ असफल थिए भन्ने कुराको चर्चा गर्दा प्रश्न जति गम्भीर छ, उत्तर पनि त्यति नै पेचिलो र अनुत्तरित छ । यहाँ खेलाडी दोषी थिए कि पदाधिकारी त्यसको बारेमा मौनता साधिनु आफैमा रोचक छ । किनकि दुवै पक्षले सफलताको लागि प्रयास गरेका थिए, दुर्भाग्यले उनीहरूको कदमलाई सफलताले चुम्न सकेन । सफलता चुम्न भाग्यको पनि त्यत्तिकै साथ चाहिन्छ, त्यो अवधिमा थापा र खेलाडीलाई भाग्यले साथ दिएन, चुरो र सत्य कुरो यही हो ।

यतिबेला पनि ‘नो स्कोरिङ’को पुरानै रोगले नेपाली फुटबललाई गाँजेको प्रस्ट रूपमा देखिन्छ । गत साता काठमाडौंमा सम्पन्न थ्री नेसन फुटबल प्रतियोगितामा पनि नेपाली फुटबल टोलीमा यही ‘नो स्कोरिङ’को रोगले ग्रसित देखियो । आफ्नै भूमिमा किर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको नेपाली टोलीले गोल गर्न सकेन । जबकि प्रतियोगिताकै सबैभन्दा बलियो मानिएको टोली नेपालले किर्गिस्तानको युवा टोलीलाई सहजै पराजित गरी गोलको खाता खोल्ने अपेक्षा गरिएको थियो । तर त्यसमा नेपाली टोली खरो उत्रिन सकेन, गोलरहित बराबरीमा रोकियो । गोल गर्नका लागि प्रशिक्षक बालगोपाल महर्जन चार जना प्रमुख स्ट्राइकर अञ्जन विष्ट, अभिषेक रिजाल, भरत खवास र दर्शक गुरुङलाई मैदानमा उतारेपनि ति सवै प्रयास असफल भए । जसलाई नेपाली फुटबलको लागि कदापि राम्रो संकेत मान्न सकिँदैन । यसले अवसरको सदुपयोग भन्दा पनि नेपाली स्ट्राइकरको गोल गर्ने क्षमतामाथि प्रश्न खडा गरिदिएको छ ।

त्यस्तै बंगलादेशविरुद्धको दोश्रो खेलमा पनि यही रोग दोहरियो । नेपाली टोलीले दोश्रो खेलमा पनि गोल गर्न सकेन, खेल गोलरहित बराबरीमा टुङ्गियो । नेपाली टोली गोलको खाता नै नखोली फाइनलमा प्रवेश गऱ्यो । पछिल्लो दुई खेलमा नेपाली टोलीले गरेको प्रदर्शनको आधारमा नेपालले फाइनलमा गोल गर्ने कुरामा कमैलाई विश्वास थियो । तर, फुटबलप्रेमीहरूको धैर्यताको बाँध तोडिनुपूर्व नै नेपाली टोलीले फाइनलमा दुई गोल गरेर राहतको सास फेरेको थियो । जसले नेपाली टोलीको साख बच्नुको साथै फुटबलप्रेमीको मनमा आशाको नवीन किरण देखाउन सफल भएको थियो । यदि तेस्रो खेलमा पनि गोल नगरेको भए त्यो नेपाली फुटबल टोलीको लागि प्रत्युत्पादक बन्ने पक्का थियो । धन्य पशुपतिनाथ दाहिने भइदिए र, नेपाली फुटबल टोलीको लाज जोगियो । नेपालले लामो समयपछि अन्तर्राष्ट्रिय उपाधि जित्यो । जुन अहिले नेपालका लागि नहुनु मामा भन्दा कानो जस्तै उपलब्धिपूर्ण भएको छ ।

थ्री नेसन कप फुटबल कुनै ठूलो अफिसियल प्रतियोगिता नभए पनि फिफाद्वारा मान्यता प्राप्त प्रतियोगिता थियो । त्यसैले नेपाल, बंगलादेश र किर्गिस्तानजस्ता मुलुकका लागि यो फुटबल प्रतियोगिताले निकै अर्थ राख्थ्यो । तीनै मुलुकका लागि उपाधि जित्नु प्रतिष्ठाको विषय बनेको थियो । नेपालले यसमा बाजी माऱ्यो, खेलकुदका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीदेखि फुटबलप्रेमीलाई खुशी तुल्यायो । साथै ०७७ सालको उत्तराद्र्ध र नयाँ वर्ष ०७८ को आगमनको पूर्वसंध्यामा नेपाली फुटबल टोलीले ‘आइस ब्रेक’ गरेर जुन आशा जगाएको छ त्यो नेपाली फुटबलका लागि निकै सकारात्मक पक्ष बनेको छ । यो सफलताले खेलाडीहरूमा मात्र नभइ पदाधिकारी र समग्र फुटबलप्रेमीमा नौलो रक्तसञ्चार गराएको छ । जुन कोरोनाले सिथिल पारेको नेपाली फुटबलको लागि शुभ सङ्केतको रूपमा हेरिएको छ ।

यो जितले अन्तर्राष्ट्रिय छवि सुध्रियो : शेर्पा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा थ्री नेसन कपमा नेपाली टोलीको जितपछि खेलाडीहरूको मनोबल उच्च भएको बताएका छन् । यो जितले सकारात्मक सन्देश दिएको र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रो भएको बताए । साथै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने दाबीसमेत गरे । कोरोना महामारीका कारण खेलाडीहरूमा यसको मनोवैज्ञानिक असर परेको खुलासा गर्दै सोचेअनुरुपको प्रदर्शन हुन नसके पनि समग्रमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको उनको कथन थियो । यस्तो विषम परिस्थितिमा पनि नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सफल आयोजना गरेको र आगामी दिनमा पनि गर्न सक्ने सन्देश दिएको उनले प्रस्ट पारे । साथै प्रोत्साहनस्वरुप एन्फाले विजयी खेलाडीलाई जनही एक-एक लाख रुपैयाँ दिने निर्णय गरेको पनि उनले जानकारी दिए ।