बढेको ‘चेतनास्तर’मा नेपालीको खोजी

बढेको ‘चेतनास्तर’मा नेपालीको खोजी


  • स्वयम्भूनाथ कार्की

स्वभाविक रूपले सबैले अस्तिभन्दा हिजो धेरै जान्दछन्, हिजोभन्दा आज र आजभन्दा भोलि ज्यादा जान्दछन् । तर यो जानेको कुरा ज्ञान हो, बुद्धि वा चेतना हैन । समाजले प्रतिपल थप प्रगति गर्दै जान्छ तर विकास थप नै हुन्छ भन्ने छैन । यो बुद्धि र ज्ञान अनि विकास र प्रगतिको अन्तर थाहा नपाउने गरेर मान्छेको मगज नै कुन्ठित भइसकेको छ । तर यो स्वभाविक ज्ञानप्राप्तिलाई नेपाली जनताको चेतनास्तर बढेको छ भनेर लगातार फुर्ती लगाइने गरेको छ । यसलाई चेतनास्तर बढेकै मान्दा पनि यतिबेला नेपालमा नेपाली दुर्लभ वा लोपोन्मुख नै भएका छन् । वि.सं. २०२८-३० ताका नेपालमा नेपाली मात्र थिए । हिमालमा बस्ने नेपाली, चुच्चेनाक भएका नेपाली, थेप्चे नाक भएका नेपाली ।

नेपालमा रहेका हरेक समुदायको पहिलो परिचय नेपाली थियो । दोक्चा लगाउने, दौरा लगाउने, धोतीत्रगम्छा धारण गर्ने सबै नेपाली थिए । नेपाल मुलुकलाई माया गर्थे, पागलपनमा पनि देशको अवमानना गर्न सक्दैन थिए भने देश खारेज गर्ने कुरो बोेल्ने त के सपनामा देख्यो भने पनि अपराधबोधले ग्रस्त हुन्थे । त्यसपछि चेतनास्तर बढ्यो, अनि मण्डले भनेर नाम कमाउनेहरू देखा पर्न लागे । उनीहरूले नेपालीलाई इतर र भितरमा बाँड्ने कोशिस गरे । तैपनि बुधनी खवास र महाप्रसाद उपाध्याय नेपाली नै थिए । शौकत अलि र पेम्वालामा, आइतमान मिजार अनि बलबहादुर छेत्री नेपाली भनेर नै चिनिन्थे । केवल राजनीति गर्नेहरू भने नेपाली नभनाइए पञ्च, महापञ्च भितर थिए भने तीबाहेकका इतर । तैपनि देशलाई नै अवहेलना गर्न सक्ने गरेर चेतनास्तर बढेको थिएन ।

त्यसपछि सुधारिएको पञ्चायत आयो । अब इतरले पनि ‘प्र’ जोडेर स्थान पाए । भितर समुहले यसलाई रोक्न न्वारनदेखिको बल लगायो । राजाले सबै नेपाली पञ्च सबै पञ्च नेपाली भने, तर महापञ्चले यसलाई पचाएनन् र, पञ्च र जनताबीच विभाजन ल्याए । आफूलाई मन परेकोलाई तानतुन पारेर पञ्च बनाई भितरमा ल्याउने नत्र इतर बनाइ ‘प्र’ थपेर गतिविधि गर्न पाएका दलहरूतर्फ धकेल्ने अनि नाम दिने व्यवस्थाविरोधि । यसरी ढोका थुनेर गरेको निम्ताले भित्रिने हैन बाहिरिने एकतर्फी बाटो खोेल्यो । बिस्तारै जनमत सङ्ग्रहको चार लाखको फरक शुन्यमा झर्‍यो, उल्टियो अनि थपिँदै गयो । महापञ्चहरू भने सञ्च मानेर आफूलाई निष्कण्टक ठानेरै बसे । एकै परिवारमै ‘इतर’ र ‘भितर’ पैदा भए । नेपाली हुनुको गौरव घट्दै गयो ।

बाँच्न त अरबको बालुवामा उँट चराएर पनि नेपाली बाँचेकै छन् । हिम्मत गरे स्वदेशमै नेपाली भएर शिर ठाडो गरेर बाँच्न सकिन्छ ।यो मुलुक, परम्परा अनि आ-आफ्नो सभ्यता बचाउने र प्रवर्द्धन गर्ने हो भने जनता कडा हुनै पर्दछ ।

जब बहुदल आयो मान्छे नेपालीभन्दा पनि काङ्ग्रेस, एमाले भनेर चिनिनुमा गौरव गर्न थाले । श्रीमान् ‘वाम’ श्रीमती ‘काङ’ वा यस्तै विभाजन एकै ओछ्यानमा पनि देखिन थाल्यो । सिद्धान्त, दर्शन आदिले मात्र पनि दलहरूलाई संगठन बनाउने बल पुगेन । जाति, सम्प्रदाय आदिमा संघ-संगठन भनेर विभाजन शुरु भयो । नेपाली अब नेपाली हुनु भन्दा हिमाली, पहाडी, तराइवासी हुन थाल्यो ।

जति चेतनास्तर बढ्दै जाँदैछ त्यति नै नेपाली भन्ने परिचय धुमिल हुँदैछ । गणतान्त्रिक नेपालमा त नेपालीलाई जातिय लिङ्गीय परिचय दिइएको छ । बसोबासको भूगोलको परिचय दिइएको छ । देशको नाम नेपाल नै ठिक भएन भन्न पनि पाइएको छ । जब देशको नाम नै नमानेपछि त्यो नाम जोडेर भएको नेपाली परिचय नमान्न पाइने भएको छ । नेपाली-नेपाली एक हौँ भन्नेलाई कारवाहीको धम्की दिने चेतनाको स्तर बढेको छ । देश नै खारेज गर्ने नारा लगाउने, नेपालको झण्डा जलाउने काम गर्नेलाई तुल बिछ्याउने चेतना बढेको छ ।

दलहरूको शिक्षाबाट बढेको चेतनास्तरले भिट्टामोडको रामआसरे र पाँचथरको वीर नेम्बाङले परिचय साझा गर्नु हुन्न । रौतहटको रहमत खाँ र जुम्लाको प्रेम हमालले अलग-अलग परिचय दिनु पर्दछ । देशको निमित्त योगदान दिन आवश्यक छैन बरु देशको बासिन्दा भएवापत देशले आफूलाई केही गरेन भनेर कोपर्न, चिथोर्न पाइन्छ ।

त्यसैले, यस्तो चेतनास्तर बढेको चाहिएन, नेपाली-नेपाली मिल्न नदिने दलहरूको उपस्थिति नहोस् भन्ने नेपाली जमात चाहिएको छ । यो मुलुक, परम्परा अनि आ-आफ्नो सभ्यता बचाउने र प्रवर्द्धन गर्ने हो भने जनता कडा हुनै पर्दछ । बाँच्न त अरबको बालुवामा उँट चराएर पनि नेपाली बाँचेकै छन् । हिम्मत गरे स्वदेशमै नेपाली भएर शिर ठाडो गरेर बाँच्न सकिन्छ ।