पुत्रशोकबाट गुज्रिरहेकै अवस्थामा पूर्व प्रधानसेनापतिको प्राणान्त
प्रकाशित मिति
२५ चैत्र २०७७, बुधबार १२:२२
नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुन नरसिंह राणाको कोरोनाका कारण निधन भएको छ । वि.सं. २००८ मा शाही नेपाली सेनामा प्रवेश गर्नुभएका राणा २०४० जेठदेखि ०४४ सालसम्म प्रधानसेनापति हुनुभएको थियो । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा भाग लिने पहिलो टोलीको कमाण्ड गर्नुभएका उहाँ पहिलो अब्जर्भर हुनुहुन्छ । शान्ति सेनामा नेपाली सेनाको इतिहास लेबनानबाट सुरु भएको हो । लेबनानपछि उहाँले सिनियर स्टाफ अफिसर भएर मध्यपूर्वको साइनाइमा नेपाली सेनाको नेतृत्व गर्नुभएको थियो ।
नेपाली सेनाको आधुनीकीरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका राणाले आफू प्रधानसेनापति हुँदा सेनाको मेकनाइज्ड कोर्सको सुरुवात गर्नुभएको थियो । वीरेन्द्र सैनिक अस्पतालको मास्टर प्लानर उहाँ नै हुनुहुन्थ्यो । सेनाले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व उहाँकै पालामा तात्कालिन शाही नेपाली सेनामा ल्याइएको हो ।
राष्ट्रको केन्द्रीय सुरक्षा समितिको अध्यक्ष भएका उहाँले श्री ५ त्रिभुवनको पालामा करियर सुरु गरेर श्री ५ महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसँग काम गर्नुभएको थियो । गणतन्त्रपछि राजसंस्थाको अवसान हुँदा उहाँ शाही पाश्र्ववर्ती हुनुहुन्थ्यो । अमेरिकाबाट स्टाफ कलेज गर्ने पहिलो सैनिक अधिकारी अर्जुन नरसिंह राणा प्रधानसेनापतिबाट अवकाश पाएपछि पाकिस्तानका लागि राजदुत नियुक्त हुनुभएको थियो । दिवंगत राणाकी पत्नी कृसु राणाको तीन वर्षअघि र एक मात्र छोराको एक महिनाअघि निधन भएको थियो ।
पुत्रशोकबाट गुज्रिरहेकै अवस्थामा उहाँलाई असहज भएपछि सैनिक अस्पताल लगिएको थियो । एक महिनाअघिसम्म उहाँ आफै जिम तथा मर्निङ वाक लगायतका शारीरिक अभ्यास गर्नुहुन्थ्यो । संगीतमा विशेष रुचि राख्नुहुने उहाँ हिन्दी र नेपाली भाषाका गीत गाउनमा शौखिन हुनुहुन्थ्यो । नयाँ तथा पुराना लोकगीतदेखि आधुनिक र पप गीतसम्म उहाँलाई कण्ठ थिए । स्व. राणाका चार छोरी हुनुहुन्छ ।