नेपाल पत्रकार महासंघ बेल्जियमको प्रथम अधिवेशन सम्पन्न
प्रकाशित मिति
२५ चैत्र २०७७, बुधबार ०२:३६
ओम शर्माको नेतृत्वमा ७ सदस्सीय समिति चयन
- सनत आचार्य/बेल्जियम
नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा चयन भएका छन् । शाखाको मंगलबार (६ अप्रिल) सम्पन्न अधिवेशनले शर्माको नेतृत्वमा सात सदस्सीय नयाँ समिति निर्विरोध चयन गरेको हो ।
नयाँ समितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्वागेलु शेर्पा, कोषाध्यक्षमा निलम घिमिरे सापकोटा र सदस्यहरूमा शेरबहादुर छन्त्याल, तेज नेपाली र सन्तोष न्यौपाने रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोप शाखाकी अध्यक्ष सरस्वती कार्कीले शुभकामना मन्तव्य दिँदै पत्रकारले समाचार लेखन र संगठन निर्माणमा राजनीतिक झोलालाई बिर्सेर स्वतन्त्र पत्रकारिता गर्नुपर्ने सुझाव दिइन् । पत्रकार कुनै दल वा समुदायविशेष नभएर समाजविशेष हुनुपर्ने अध्यक्ष कार्कीको भनाइ थियो ।
त्यस्तै, वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि भगीरथ योगीले संचारक्षेत्र विगतजस्तो नभई प्रविधि र अन्य दृष्टिकोणले साँघुरिँदै गएको बताउँदै समयसापेक्ष रूपले पत्रकारहरूको क्षमता अभिवृद्धि र सीपको विकास हुन आवश्यक रहेकोमा जोड दिए ।
योगीले पत्रकारितामा पनि हैकमवादी रवैयाले डेरा जमाउँदै महासंघ कब्जा गर्ने प्रवृत्ति बढेकोमा दुःख व्यक्त गरे । सञ्चारकर्मीले समुदायसँग मिलेर समाजलाई खबरदारी र सुसूचित गराउन हरहमेशा तत्पर हुनुपर्ने उल्लेख गर्दै योगीेले नेपाल पत्रकार महासंघद्वारा निर्माण गरिएको आचारसंहितालाई पूर्ण रूपले पालना गर्नु प्रत्येक पत्रकारको दायित्व भएकोमा जोड दिए ।
यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले सर्बसम्मत तरिकाले शाखा गठन गरेकोमा सबैलाई बधाई दिँदै प्रविधिले नेपाली पत्रकारितालाई कमजोर बनाउँदै गएको र यसको सुदृढीकरणका लागि अझ धेरै विषयबस्तुहरू आवश्यक रहेको र पत्रकारहरू यस विषयमा जानकार हुन आवश्यक रहेको तर्क गरे ।
नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका नवनिर्वाचित सभापति ओम शर्माले बेल्जियमको पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन संरचना आवश्यक भएकोले एकताका लागि संगठन निर्माण गरिएको जानकारी दिँदै पत्रकारहरूको नैतिक साहस बढाउन संगठित हुनु अपरिहार्य रहेको धारणा राखे । पत्रकारले समाजलाई सत्यतथ्य समाचार सम्प्रेषण गरी सशक्त बनाउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नवनिर्वाचित समितिको घोषणा युरोप शाखाका पूर्वअध्यक्ष एवं निर्वाचन समितिका संयोजक महेश थापाले गरेका थिए भने उक्त समितिलाई पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले गोपनीयताको सपथ दिलाएका थिए । कार्यक्रमको संचालन सचिव शेरबहादुर छन्त्यालले गरेका थिए ।