३ बैशाख २०७८, शुक्रबार

जापान-नेपाल सम्बन्ध थप उचाइमा पुर्‍याउन प्रयत्नशील रहने छु : जापानी राजदूत किकुता

  प्रकाशित मिति
२१ चैत्र २०७७, शनिबार ०७:३७



युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुनुहुन्छ । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त हुनुभएको हो । यसअघि उहाँ नाइजेरियाका लागि राजदूत हुनुहुन्थ्यो । त्योभन्दाअघि उहाँले भुटानमा डेपुटी चिफ अफ मिसन र सन् २०१५ मा भारतमा पनि डेपुटी चिफ अफ मिसनका रुपमा रहेर काम गर्नुभएको थियो । यसअघि थाइल्याण्ड, नेदरल्याण्डलगायतका देशमा रहेका जापानी मिसनमा रहेर काम गर्नुभएका एक अनुभवी कूटनीतिज्ञ किकुता हालैमात्र नेपालका लागि जापानी राजदूतमा नियुक्त हुनुभएको हो । राजदूत किकुतासँग राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक सोमनाथ लामिछाने र कार्यकारी सम्पादक एकराज पाठकले जापानी दूतावासमा गर्नुभएको कुराकानीको सम्पादित अंश ।

० महामहिम राजदूतज्यू, नेपाल र जापानबीच जनस्तरमा र सरकारीस्तरमा पनि विगत लामो समयदेखिको निकै सुमधुर सम्बन्ध रही आएको त यहाँलाई विदितै छ । यो सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि यहाँले आफ्नो कार्यकालमा के कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ?

  • सबैभन्दा पहिला त नेपालजस्तो देश जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा छ र जहाँका नागरिकले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने मान्यतालाई अघि सार्ने गर्दछन, यस्तो देशको राजदूतका रुपमा नियुक्त हुन पाउँदा मलाई निकै खुशी लागेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ का लागि म नेपाल सरकार र नेपाली नागरिकसँग आगामी दिनमा सहकार्य गरेर अघि बढ्न चाहन्छु । हो, नेपाल र जापान निकै लामो समयदेखि सुमधुर सम्बन्ध र असल मित्रका रुपमा अघि बढिरहेका छन् जुनकुरा म एकछिनमा बयान गर्नेछु । नेपाल र जापानबीचको सम्बन्धमा त मेरो दिमागमा पनि कतिपय अविस्मरणीय क्षणहरु पनि छन् । यस्तो सम्बन्धको जगमा रहेर यसलाई थप प्रगाढ बनाउनका लागि म पनि मेरो कार्यकालभर प्रयत्नशील रहने छु । मेरो यस्तो रणनीति छ कि म यहाँ रहुञ्जेल मैले धेरै भन्दा धेरै नेपाली नागरिक, नेपालका उच्चस्तरीय नेता, उच्च सरकारी अधिकारीसँग भेट तथा अन्तरक्रिया गर्नेछु । त्यसैगरी सम्भव भएसम्म म नेपालका धेरैभन्दा धेरै स्थानको भ्रमण पनि गर्नेछु ।

मलाई लाग्छ नेपाल जापान सम्बन्धलाई थप उचाइमा पुर्‍याउनका लागि जापानसँग धेरै साधन एवं प्रक्रियाहरु पनि छन् । जस्तो कि नागरिकका धारणा एवं आवाज सुनेर तथा नेपालका अनेकन अवसर अर्थात सम्भावना र चुनौती सुनेर पनि दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिन सकिनेछ, सजिलो पर्नेछ । मैले यस्ता र अरु पनि धेरै सम्भावनाको खोजी गरेर र आवश्यक र सम्भव विधिहरुको प्रयोग गरेर दुई देशबीचको सम्बन्धलाई थप विस्तारित र बलियो बनाउने पक्षमा काम गर्नेछु ।

जापान र नेपालका सम्बन्धको इतिहास धेरै लामो र गहिरो छ र जसको शुरुआत जापानी भिक्षु एकाइ कावागुचीको सन १८९९ मा भएको नेपाल भ्रमणबाट शुरु भएको हो । त्यस्तै जापान र नेपालले औपचारिक कूटनीतिक सम्बन्ध भने सन १९५६ माा स्थापित गरेका हुन् र त्यस यतादेखि नै हामीले दुई देशबीचको सम्बन्धलाई असल मित्रका विकास गर्दै आएका छौँ ।

यी दुई देशका बीचको उच्चस्तरीय भ्रमणको आदान प्रदान पनि भइरहेको छ र केही समयमात्र अघि नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको भ्रमण गर्नुभएको थियो र दुई देशका परराष्ट्र मन्त्रीबीचमा पनि औपचारिक भ्रमणको आदान प्रदान भएको छ । त्यस्तै आगामी वर्ष अर्थात सन २०२२ मा पहिलो पटक आठजना नेपाली विद्यार्थी जापान अध्ययन गर्न गएको १२० औँ वार्षिकोत्सव पनि हुनेछ ।

व्यक्तिगत कुरा गर्ने हो भने मेरो गृहनगर जापानको फुकुशिमा हो । सन् २०११ मा जापानमा आएको महाभूकम्प र सुनामीले गर्दा त्यहाँको तोहोकु क्षेत्रलाई निकै क्षति पुगेको थियो । त्यस समयमा हाम्रो दुःखमा हामीप्रति सहानुभूति राखेर हाम्रा लागि नेपाली नागरिकले प्रार्थना गर्नुभएको थियो । त्यसैले म व्यक्तिगत रुपमा यसका लागि नेपाली नागरिकप्रति कृतज्ञ छु । तपाईं पनि कल्पना गर्न सक्नुहुन्छ कि मार्च महिनामा त्यस क्षेत्रमा निकै चिसो हुन्छ । त्यस्तो आपतका बेलामा मेरा आमाबुबा, मेरो परिवार र आफन्तजन एवं त्यस क्षेत्रमा बसोबास गर्ने जापानी नागरिकहरु चिसोले निकै दुःख पाएका थिए । उनीहरु खाना, विद्युत, ग्यासलाइन विहीन भएर बस्नुपरेको थियो । त्यस्तो अवस्थामा नेपालले पाँच हजार ब्लाङकेट सहयोग स्वरुप त्यो क्षेत्रमा पठाएको थियो । यसबाट त्यहाँका हजारौँ नागरिकको ज्यान बचेको महसुस हामीले गरेका छौँ । त्यस्तो अप्ठेरो बेलामा नेपालीले पकाएर दिएको दालभात तथा तातो कफिले उनीहरुलाई बाँच्न ठूलो सहायता पुगेको थियो ।

यता नेपालमा सन् २०१५ मा गएको गोरखा भूकम्पका समयमा नेपाललाई पनि जापानले सक्दो सहयोग गरेको थियो । गोरखा भूकम्प, जुन म आफैँले पनि भारतको नयाँ दिल्लीमा रहेका बेला परकम्प महसुस गरेको थिएँ, यस्तो समयमा तत्कालै उद्धारकर्मी तथा राहत सामग्री पठाएको थियो । त्यस्तै भूकम्पले भत्किएका विद्यालयहरु भवन, आवासीय भवनहरुको पुनर्निर्माणका साथै अन्य सहायता पनि जापानले उपलब्ध गराएको थियो ।

त्यसपछि नेपाली नागरिकले सन् २०१६ को अप्रिलमा जापानको कुमामोतोमा गएको भूकम्पबाट प्रभावितहरुलाई दालभात पकाएर खुवाएका थिए । सन् २०१५ मा गएको नेपालको भूकम्पपछि जसरी जापानले सहयोग र सदभाव दर्शाएको थियो त्यस्तैगरी कुमामोतोको भूकम्पमा पनि नेपालीले सहयोग गरेका थिए र उनीहरुले जापानले पुर्‍याएको सहयोगको सराहना पनि गरेका थिए । यसरी यस्ता अप्ठ्यारा परिस्थितिमा पनि दुई देशका सरकार र जनताका बीचमा भएका सहृदयी सदभावका यी उदाहरणहरुले पनि नेपाल र जापानको सम्बन्ध पारस्परिक सहयोग र सम्मानका साथ अघि बढेको प्रमाणित भएको छ भन्ने मलाई लाग्दछ ।

० पूर्वाधार विकास, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै नेपालको विकासका प्रयासहरुमा जापानले एक प्रमुख दाता राष्ट्रका रुपमा सहयोग पुर्‍याउँदै आएको त विदितै छ । विकसित विश्व परिवेशमा नेपालका उद्यमीहरुले जापानी लगानी, प्रविधि र प्राविधिक सहयोग नेपालमा कसरी आकर्षित गर्न सक्लान् ? नेपाली उद्यमीहरुको यो लक्ष्य प्राप्तिका लागि जापानी दूतावासले के कस्तो सहयोग गर्न सक्छ ?

  • नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले हालै बङ्गलादेशको भ्रमण गर्नुभएको थियो । त्यसक्रममा उहाँले व्यापारमा सन्तुलन तथा व्यापार वृद्धिका लागि यस क्षेत्रमा भएका व्यवधानहरु हटाउनुका साथै पूर्वाधारको विकास र बजारमा सहज पहुँचमा वृद्धि गर्नुपर्ने बताउनुभएको थियो । म यस विचारप्रति पूर्णरुपमा सहमत छु । म भन्न चाहन्छु कि नेपालमा वैदेशिक लगानी आकर्षण गर्न पनि यस्तै वातावरण निर्माण गर्नु आवश्यक छ । नेपाली उद्यमीले पनि लगानीमैत्री वातावरणको निर्माणबाट जापानी लगानीकर्तालाई आकर्षित गर्न सक्छन् र त्यस्तो अनुकूल वातावरण बनाउन नीतिगत व्यवस्थाले ठूलो अर्थ राख्दछ । यसका लागि धेरै अवसर हुन सक्छन् र यस्तै एउटा हो सन् २०२५ मा जापान, ओसाका, कानसाईमा हुने एक्स्पो २०२५ । नेपालले पनि सहभागिता जनाउने यस एक्स्पो पनि नेपाली उद्यमीका लागि अवसर हुन सक्दछ । यो एक्स्पो नेपालले आफ्नो समृद्धि र खुशी विश्वसामु प्रस्तुत गर्ने एउटा उपयुक्त अवसर पनि हुनसक्छ ।

जापानले नेपाललाई निकै लामो समयदेखि सहयोग गर्दै आएको छ । जापानले नेपाललाई कृषि, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास, सुशासन, शान्ति निर्माण तथा भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसका साथै नेपालका सामाजिक तथा आर्थिक क्षेत्रका अन्य कार्यक्रममा पनि जापानले नेपाललाई सहयोग गर्दै आएको छ । यहाँ पैसाको कुरामात्र होइन कि जापानले नेपाललाई प्राविधिक सहायता पनि उपलब्ध गराउँदै आएको छ किनभने राष्ट्र निर्माणको काम वास्तवमा मानवीय स्रोतको विकासबाट नै शुरु हुन्छ भन्ने विश्वास जापानले राख्दछ । यस हिसाबबाट पनि नेपालको एक असल मित्रराष्ट्रका हैसियतबाट जापानले विगत लामो समयदेखि नेपाललाई सहयोग पुर्‍याउँदै आएको छ ।

० महामहिम, कोभिड-१९ को महामारीले विश्वभर नै रोजगारी, आर्थिक अवसरमा व्यापक क्षति पुग्नुका साथै स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवाको पहुँचमा असर पुगेको छ । जापान सरकारले नेपालजस्ता मुलुकलाई कसरी सहयोग पुर्‍याउने सोचिरहेको छ ?

  • हो, हामीले शुरुदेखि नै निकै महत्वपूर्ण योगदान गरेका छौँ र हामीसँग भविष्यका केही योजना पनि छन् । गत वर्षदेखि जापानले कोभाक्स संयन्त्र निर्माणमा योगदान गरिरहेको छ र हालसम्म कोभाक्समा २० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिसकेको छ । म मार्च ७, २०२१ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिएँ, र म नाइजेरियाबाट यहाँ पदस्थापन भएर आएको हुँ । म यहाँ आउँदा यात्रुवाहक विमानसेवामै आएको हुँ जसले नेपालका लागि कोभाक्स सुविधाको खोप लिएर आएको थियो । मैले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी, दातृ मुलुकका राजदूतहरु र अन्तरराष्ट्रिय संस्थाका सदस्यसँग कुरा गर्ने मौका पनि पाएको थिएँ । उहाँहरु कोभाक्स सुविधाको खोप स्वीकार्न विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । यो संयोग हो, तर मेरा लागि यो पहिलो अनुभव थियो ।

खोप निकै अत्यावश्यक र महत्वपूर्ण पक्ष हो, तर यसका लागि कोल्ड चेन (चिस्याउने सुविधा) पनि जरुरी हुन्छ । मार्च ९, २०२१ मा जापान सरकारले नेपालसहित दक्षिण पूर्व र दक्षिण पश्चिम एसिया एवं प्रशान्त द्वीपका २५ वटा देशका लागि करिब चार करोड १० लाख अमेरिकी डलर आपतकालीन अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । यो अनुदान कोल्ड चेन निर्माणका साथै कोल्ड स्टोरेज सुविधा र ढुवानी जस्ता मेडिकल उपकरणका लागि उपयोग गरिने छ । सबै जनतालाई खोप उपलब्ध गराउने सुनिश्चित गर्न राष्ट्रसङ्घीय बालकोषमार्फत यो रकम उपयोग गरिने छ ।

यी प्रत्यक्ष सहायताबाहेक जापानले कोभिड–१९ बाट सिर्जित अन्य विषयमा नेपाललाई सहयोग गर्दैछ । उदाहरणका लागि, हामीले नेपालको खाद्य सुरक्षामा विश्वखाद्य कार्यक्रममार्फत सहयोग गरिरहेका छौं । यस कार्यक्रमबाट प्रदेश नं १ र २ का जोखिममा परेका जिल्लामा मातृ तथा बाल स्वास्थ्य एवं पोषण कार्यक्रम सञ्चालन गर्न ३४ लाख ७० हजार अमेरिकी डलर सहायता प्रदान गरिएको छ ।

आउँदा दिनहरुमा जापानले कोभिड–१९ विरुद्धको लडाइँमा अन्तरराष्ट्रिय समुदायसँगको साझेदारीलाई निरन्तरता दिनेछ । प्रमुख सात औद्योगिक राष्ट्रको समूह (जी७) र क्वेड (जापान, अमेरिका, भारत, अस्ट्रेलिया) का सदस्य मुलुकले निम्न प्रतिबद्धता छन्-
–समूह सातका रुपमा हामी कोभिड–१९ लाई परास्त गर्न मिलेर कार्य गर्नेछौँ (जी), फेब्रुअरी १९०
– हामी विश्वव्यापी रुपमा खोपको विकास र वितरणलाई तिव्रता दिनेछौँ । (जी७)
– संयुक्त अधिराज्यमा जुन महिनामा सम्पन्न जी७ शिखर बैठकमा व्यक्त प्राथमिकतालाई ठोस कार्यद्वारा सुल्झाउन सहमत छौँ । (जी७)
– हामी सुरक्षित, पहुँचयोग्य रुपमा सस्तो र प्रभावकारी खोप उत्पादन र विस्तार गर्न तथा त्यसको समतामूलक पहुँचका लागि मिलेर कार्य गर्न प्रतिबद्ध छौँ, र आर्थिक पुनरुत्थानलाई तीव्र बनाउन र विश्व स्वास्थ्यलाई लाभ पुर्‍याउने छौँ । (क्वेड, मार्च १२)
– हामी हाम्रो राष्ट्रको मेडिकल, वैज्ञानिक, वित्तीय, म्यानुफ्याक्चरिङ र ढुवानी, र विकास क्षमतालाई एकीकृत गर्नेछौं र सुरक्षित एवं प्रभावकारी खोप वितरणको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन एउटा खोप विज्ञ कार्यसमूह स्थापना गर्नेछौँ । (क्वेड)

० भविष्यमा नेपाल र जापानबीच के कस्ता क्षेत्रमा सहयोग हुनेछन् ? दुवै देशले दिगो साझेदारी कसरी विकास गर्न सक्लान् ?

  • सहयोगको एउटा प्रमुख क्षेत्र समाजको पुनर्निर्माण नै हुनु पर्दछ जुन प्राकृतिक विपदाबाट जतिसक्दो चाँडो पुनर्पाप्ती हुनेछ, र यो “बिल्ड ब्याक बेटर” (बलियो निर्माण) को अवधारणामा आधारित हुनेछ । उदाहरणका लागि, घर र विद्यालयको बलियो संरचना बनाउन सकिए यो प्रभावित समुदायका लागि निकै प्रभावकारी हुनेछ र त्यसले उनीहरुलाई जीवन सहज हुनुका साथै अघि बढ्न सक्षम तुल्याउने छ । मैले माथि भने झैँ, यस्ता प्राकृतिक विपदको हामीसँग साझा अनुभव पनि छन् ।

यसबाहेक, जापानले सामाजिक तथा आर्थिक पूर्वाधार, जलविद्युत् र पानी, स्वास्थ्य प्रणाली र शिक्षामार्फत नेपालको आर्थिक विकासमा मद्दत गरिरहेको छ । उदाहरणका लागि, सिन्धुली राजमार्ग (बिपी राजमार्ग)को निर्माणले मानिसको दैनिक जीवनका साथै सामानको ढुवानीमा निकै सहजता ल्याएको छ । स्वास्थ्य सेवा र शिक्षाको राम्रो पहुँचका लागि हामीले नेपाल सरकार र स्थानीय गैरसरकारी संस्थासँग मिलेर काम गरिरहेका छौँ ।

खानेपानीका सन्दर्भमा, मेलम्चीको पानी अन्ततः यही मार्च २८ तारिख आइतबारका दिन काठमाडौँ आइपुगेकामा मलाई धेरै खुशी लागेको छ । जापान सरकारको लगानीमा सुन्दरीजलमा पानी प्रशोधन प्लान्ट निर्माण सम्पन्न हुनु मेलम्ची आयोजनाकै एक सफलता हो । यस आयोजनालाई सफल बनाउन एशियाली विकास बैंक र अन्यले पनि लगानी गरेका छन् । जापानले प्लान्ट निर्माणमा करीब रु पाँच अर्ब ८० करोड ६० लाख (करीब पाँच अर्ब ४९ करोड ४० लाख जापानी येन) उपलब्ध गराएको छ जसले प्रतिदिन आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्न सक्नेछ । मेरो आशा छ, मेलम्ची नदीबाट आउने सफा पानीले काठमाडौँवासीको दैनिक जीवनमा सहजता ल्याउनुका साथै जीवनस्तर उकास्न मद्दत गर्नेछ ।

हामीले के बुझेका छौँ भने लोकतन्त्रको सुदृढीकरणमा नेपाल प्रयत्नशील रहेको छ र जापानले पनि सुशासनका लागि नेपालसँग मिलेर कार्य गरिरहेको छ । सन् २०२२ मा अतिकम विकसित मुलुक (एलएलडिसी०)बाट माथि जाने नेपालको लक्ष्यलाई जापानले प्रोत्साहित र मद्दत गर्न चाहेको छ, र नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको देशमा रुपान्तरण हुनेछ । यो कार्य नेपाल सरकारको गरिबी न्यूनीकरण कार्यक्रम मार्फत हासिल गर्न सकिने छ ।

वातावरण संरक्षण र जलवायु परिवर्तन निकै चुनौतीपूर्ण विषय हुन् जसलाई हामी अन्तरराष्ट्रिय समुदायसमेत सबै मिलेर सम्बोधन गर्नु पर्नेछ । उदाहरणका लागि, विश्वव्यापी तापमानका सन्दर्भमा नेपाल एक्लो छैन, र हिमाली हिमनदीको मुलुक नेपाल पनि जलवायु परिवर्तनको असरबाट अछुतो छैन । अर्को उदाहरण, शहरी क्षेत्रमा वायुको गुणस्तर पनि छलफलको विषय हुन सक्दछ । काठमाडौँ उपत्यकामा सवारी ट्राफिक कम गरेर वायुको गुणस्तरमा सुधार ल्याउन सकिन्छ, र यसमा पनि जापानले काम गरिरहेको छ । मैले भन्नैपर्छ, यस्ता समस्या सुल्झाउन सकिए भावी पुस्ताको स्वास्थ्य राम्रो बनाउन सकिने छ ।

जापान र नेपाल दुवै मुलुकका लागि जनता–जनताबीचको ओहोरदोहोर पनि एउटा निकै महत्वपूर्ण पक्ष हो जसबाट एकअर्कालाई अरु बढी बुझ्न सकिन्छ र हाम्रो दिर्घकालीन साझेदारीलाई थप अभिवृद्धि गर्न मद्दत पुग्नेछ । जापानको शिक्षा, संस्कृति, खेलकूद, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम पनि जारी छ जसबाट धेरै नेपाली प्राज्ञिक वर्गले जापानमा पढ्ने अवसर पाएका छन् भने नेपाली निजामती सेवाका युवा कर्मचारीका लागि जापानी ग्राजुएट स्कुलमा जाइका मार्फत जेडिएस (मानव संशाधन विकास छात्रवृत्ति परियोजना) पनि सञ्चालनमा छ ।

हामीले एलुम्नाई मार्फत नेपाली समाजका धेरै क्षेत्रमा पुगिरहेको योगदानलाई पनि यहाँ प्रशंसा गर्न चाहन्छौं । जापानबाट अनुभवप्राप्त यी व्यक्तिले जापानलाई आफ्नो दोस्रो घर सम्झिरहेका हुन्छन् । विद्यार्थी आदानप्रदानका अलावा सन् २०१९ मा अर्को नयाँ अवसर सिर्जना भएको छ । नेपालीका लागि जापान सरकारले ‘विशिष्टीकृत दक्ष कामदार’ कार्यक्रममा समेटेको छ जसबाट नेपाली दक्ष व्यक्तिले जापानमा गएर काम गर्न पाउने छन् ।

हामी दुई देशबीचको पर्यटन क्षेत्र अरु विस्तारित होस् भन्ने चाहिरहेका छौँ, किनभने पर्यटनले हाम्रो विश्वमा नयाँ परिदृश्य सिर्जना गरिरहेको हुन्छ । दुःखलाग्दो कुरा के भने नेपाल भ्रमण वर्ष सन् २०२० अभियानलाई कोभिड–१९ ले असर पु¥यायो । तैपनि, नेपाल एयरलाइन्सबाट हुने जापान र नेपालबीचको सोझो हवाई उडान यात्रुका लागि निकै महत्वपूर्ण हुनेछ ।

गएको वर्ष हामीले सगरमाथा आरोहणमा पहिलो जापानीले आरोहण गरेको स्वर्ण वर्षगाँठ मनाएका थियौं । जापानी आरोही उमुरा नाओमी र मात्सुरा तेरुओले यो सफलता हासिल गर्नु भएको थियो । र फुकुशिमा निवासी महिला जुन्को ताबेईले सगरमाथा आरोहण गरेको पनि ४५ वर्ष पुगेको छ । उहाँ सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला आरोही बन्न सफल हुनु भएको थियो । कोभिड-१९ मा सुधार भएलगत्तै हामीहरु धेरै नेपालीलाई जापानमा स्वागत गर्न चाहन्छौं, ताकि उहाँहरुले जापानी संस्कृतिका साथै परम्परागत खाना ‘वाशोकु’ को स्वाद लिन पाउनु हुनेछ । त्यस्तै, धेरै जापानी पर्वतारोही र यात्रा गर्न रुचि राख्ने व्यक्ति पनि नेपालको भ्रमण गर्न प्रतिक्षारत छन् ।

० जापानमा नेपालप्रतिको दृष्टिकोण कस्तो छ ? के यसअघि तपाईं नेपाल आउनुभएको थियो ? कुनै स्मरणयोग्य क्षण छ ?

  • मेरो सोचाइमा जापानी जनतामाझ नेपालसँग विशेष घनिष्टतापूर्ण सम्बन्ध रहेको भन्ने नै छ । नेपालको प्राकृतिक सुन्दरता, बौद्ध परम्परा र संस्कृति, खाना र यहाँका मानिसप्रति जापानीको उच्च सम्मान छ । मेरो घर रहेको फुकुशिमाको मुख्य फूल नै लालीगुराँश हो, जुन नेपालको राष्ट्रिय फूल पनि हो ।

म सम्झन्छु, केही वर्ष पहिले जापानको विदेश मन्त्रालयको दक्षिणपूर्व एशिया डिभिजनमा रहँदा म काठमाडौं भ्रमणमा आएको थिएँ जतिबेला यहाँ उपत्यकाभित्र सडक किनारामा ढकमक्क फुलेका हल्का कलेजी रङका जापानी फूल देखिएका थिए । त्यतिबेला म बुडोकान पनि पुगेको थिएँ, यो एक प्रकारको जापानी शैलीको खेल स्थल हो । यो खेल स्थल काठमाडौँ महानगरको भगिनी सम्बन्ध रहेको जापानस्थित नागानो प्रिफेक्चरको मात्सुमोतो नगरले बनाएको थियो । नेपालका हिमशृङ्खलाप्रति प्रगाढ माया गर्ने जापानका पूर्व प्रधानमन्त्री रिउतारो हाशिमोतो सन् २००२ को उद्घाटन समारोहमा यही बुडोकानको भ्रमण गर्नुभएको थियो । हाशिमोतो र म दुवैजना केन्डो ब्लाकबेल्टका छैटौं श्रेणीका खेलाडी पनि हौं । यो जापानको मार्शल आर्टको एक खेल कौशल पनि हो । मलाई युवा नेपाली केन्डो खेलाडीहरुसँग बुडोकानमा केन्डो अभ्यास गर्न पाउँदा निकै रमाइलो लाग्ने गरेको छ ।

सन् २००५ मा तत्कालीन अधिराजकुमार पारस शाह र अधिराजकुमारी हिमानीलाई जापानको आइची एक्स्पो २००५ मा स्वागत गरेको थिएँ । राजकुमारी हिमानीले मलाई दिनुभएको काठले कुँदिएको कलाकृति मेरो घरमा अझै सजिएको छ । त्यही शैलीको एउटा गहना यहाँ जापानी राजदूतावासको कार्यालयमा पनि पाएको छु ।

picture:rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि

नारद कोहार, कपिलवस्तु तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।