स्वर्गको एक टुक्रा -बबिता बस्नेत

स्वर्गको एक टुक्रा -बबिता बस्नेत


काठमाडौंबाट नजिकको हिमाली जिल्ला रसुवा जानुअघि मनमा सामान्य खुल्दुली थियो, कस्तो होला ? जुन कुरा हरेक नयाँ ठाउँमा जाँदा हुने गर्छ । काठमाडौंको बालाजुबाट ककनी, त्रिशूली हुँदै उकालो लाग्दै जाँदा वरिपरिका अग्ला डाँडाहरू होचिँदै गए । गाडीमै गए पनि नेपालको इतिहसमै चर्चित बेत्रावती काटेर अलि माथि पुगेपछि कालिकास्थान गाविसस्थित एउटा चौतारोमा बसेर हावा खाँदै एकछिन गफगाफ गरियो । चौतारोमा आमुन्ने-सामुन्ने बसेर गफिँदै थिए स्थानीय राजनीतिकर्मीहरू नेपाली काङ्ग्रेसका छविलाल आचार्य, एमालेका बालकृष्ण घिमिरे र माओवादीका सुब्बा भट्ट । परिचयपछि हामीले भन्यौँ- केन्द्रमा दलहरू नमिले पनि यहाँ चौतारामा तपाईंहरू मिलेर कुराकानी गरिरहनुभएको रहेछ, खुसी लाग्यो । उनीहरूले भने- केन्द्रमा केही पाउनका लागि झगडा गर्छन्, पाएपछि मिलिहाल्छन् तर यहाँ स-साना कुरामा पनि एक-अर्काबीच झगडा हुन्छ र मिल्न गाह्रो हुन्छ, केन्द्रको झगडा देखावटी हो यहाँ त साँच्चिकै हुन्छ । ‘गाउँ तपाईंहरूले सोचेजति शान्त छैन’ भन्ने जवाफ पाएपछि हामी फेरि उकालो लाग्यौँ, साथमा हुनुहुन्थ्यो योगदानको मूल्याङ्कन हुने राजनीतिक दलसँग सम्बद्ध भएकी भए अहिले सभासद् या मन्त्री हुनुपर्ने तर नेपाली काङ्ग्रेससँग आबद्ध भएर राजनीति गरेकै कारण अधिकारवादी नेत्रीमा मात्र खुम्चिन बाध्य हरिप्रिया पाण्डे र इन्टरनेसनल अलर्टका भाष्कर काप\mले । हामी एउटा अनुसन्धानको क्रममा त्यता जाँदै थियौं । रसुवाको सदरमुकाम जति नजिक आउँदै गयो त्यति नै मनमोहक दृश्य वरिपरि देखिन थाल्यो । चारैतिर ठूला-ठुला पहाडहरू, पूर्वमा गोसाइँकुण्ड अवस्थित हिउँमिश्रति पहाड, उत्तरमा सेताम्मे हिमाल, वर्तिरपर्तिर कतै हिउँले खाएका चट्टानयुक्त पहाड त कतै हरियाली जङ्गलको बीचमा रहेको सदरमुकाम धुञ्चे स्वर्गको सानो टुक्राझैं लाग्यो ।
जम्मा ४४ हजार जनसङ्ख्या रहेको रसुवामा १८ वटा गाविस छन् । ४४ हजार मानिसमध्ये आधाजति त वैदेशिक रोजगारमा छन् र कतिपयचाहिँ काठमाडांैमा बस्छन् । थोरै जनसङ्ख्या भएका कारणले होला शायद आपराधिक गतिविधि त्यति छैन, अन्य जिल्लामा झैं राजनीतिक हिंसा र खिचातानीबाट भने यो जिल्ला पनि मुक्त छैन । विशेषगरी नेकपा माओवादी, एमाले र नेपाली काङ्ग्रेसका भ्रातृ सङ्गठनहरूको कुस्ताकुस्ती र तिनै पार्टीसम्बद्ध नेता तथा कार्यकर्ताहरूको झैं झगडा जिल्लाको प्रमुख समस्या हो । यी दलहरूबीच सहमति नहुँदा जिल्लामा हुनैपर्ने धेरै कामहरू रोकिएका छन् । गाउँगाउँदेखि नै शान्तिको जग दह्रो बनाउने उद्देश्यले गठन गरिएको स्थानीय शान्ति समितिको एकपटक पनि बैठक बस्न सकेको छैन । जसका कारण उक्त समितिमार्फत द्वन्द्वपीडितहरूले प्राप्त गर्नुपर्ने सहयोगलगायतका कामहरू हुन सकेका छैनन् । समिति गठन भएर कार्यालय पनि छ तर कठपुतली सरकारले गरेका काममा आफ्नो सहभागिता नहुने भनी आफैं संयोजक रहेको माओवादी पन्छिएपछि कामहरू रोकिएका हुन् । माओवादीको बढी नै प्रभाव भएको रुकुममा भने शान्ति समितिले प्राप्त ‘म्यान्डेट’अनुरूप फटाफट काम गरिरहेको पाइएको थियो । अवरोध नल्याई मिलेर काम गरे शान्ति समिति शान्तिको जग बसाउनका लागि सरकारले गरेको राम्रो प्रयासको थालनी हो, तर राजनीतिको सेप लागेका कारण थुप्रै जिल्लाका स्थानीय शान्ति समितिहरूले काम गर्न सकेका छैनन् । एउटा मात्र निर्वाचन क्षेत्र भएको रसुवामा संविधानसभाको चुनाव नेकपा माओवादीले जितेको हो, स्थानीय राजनीतिमा महिला प्रतिनिधित्व भने यहाँ न्यून छ ।
अधिकांश परिवारका एकभन्दा बढी नै सदस्य वैदेशिक रोजगारमा भएको रसुवा जिल्लामा पुरुषभन्दा महिला बढी विदेशमा छन् । नागरिकता र पासपोर्ट बनाउने उमेर नै नपुगेका बालिका र किशोरीहरू जिल्ला प्रशासन कार्यलयमा उमेर पुगेको दाबीसहित निवेदन दिन पुग्छन् । यति सानो मान्छेको उमेर नपुगी नागरिकता र पासपोर्ट बन्दैन भनेर कर्मचारीले भनेपछि तिनका अविभावकको भनाइ हुन्छ- यसको उमेर नपुगेको कहाँ हो र – घाँस-दाउराको भारीले थिचेर पो नबढेकी त, पासपोर्ट त बनाइदिनैपर्छ । यतिभन्दा पनि पासपोर्ट नबन्ने भएपछि निहुँ खोजेर जिल्ला प्रशासनका कर्मचारीसँग ठूलो-ठूलो स्वरले कराउँछन्- यसलाई मैले जन्माएको कि तैंले जन्माएको हँ – मेरो छोरीको बारेमा मलाई थाहा हुन्छ कि तँलाई – यही कुरा गाविससचिवहरूमा पनि लागू हुने रहेछ । नागरिकता र पासपोर्ट बनाउन गर्नुपर्ने सिफारिसका लागि सचिवहरूले तपाईंकी छोरीको उमेर पुगेको छैन भन्दा उनीहरूले पाउने जवाफ पनि यही नै हो । वैदेशिक रोजगारीका अनेक पाटाहरू यो जिल्लामा देख्न पाइन्छ, किशोरीहरू यहाँबाट जान्छन् तर कहाँ जान्छन्, के गर्छन् त्यसको कुनै खोजखबर र जानकारी छैन । कति राम्रै कमाइ गरेर फरि्कएका छन्, कति विभिन्न समस्या भोगेर आएका छन् र कतिचाहिँ वर्षौं भयो गएदेखि अहिलेसम्म फरि्कएकै छैनन् । कहाँ गए, के भए, किन फरि्कएनन् कुनै जानकारी छैन । भारतका विभिन्न सहरमा बेचिनेहरूको सङ्ख्या पनि धेरै छ भनिन्छ तर कति छ तथ्याङ्क भने छैन । १३ देखि ३० वर्ष उमेर समूहका युवती गाउँमा भेटिँदैनन् । जसले गर्दा युवाहरूलाई विवाह गर्न केटी पाउन मुस्किल छ । विवाह भएपछि पनि श्रीमतीलाई वैदेशिक रोजगारमा पठाउनु यहाँको सामान्य चलन नै भइसक्यो । अरू जिल्लामा फलानाका छोरा विदेश गए मेरा मात्रै गएनन् भनेर बाबुआमाले भनेझैं यहाँ कसैका श्रीमती घरमै बसे भने सबैका स्वास्नी विदेशमा छन् मेरीचाहि घरमा भनेर श्रीमान्ले चित्त दुखाउने रहेछन् । सबै ठाउँमा होइन तर अधिकांश गाउँका तामाङ समुदायका श्रीमती र छोरीहरू वैदेशिक रोजगारमै छन् । वैदेशिक रोजगारबाट फरि्कएका केटीहरूलाई विवाह गर्न पनि तँछाड-मछाड नै हुन्छ । प्रायः युवाहरू वैदेशिक रोजगारबाट फरि्कएका केटीलाई नै विवाह गर्न चाहने रहेछन् । अरू जिल्लामा भए वैदेशिक रोजगारबाट फरि्कएका केटाहरूको ‘म्यारिज मार्केट हाइ’ हुन्छ केटीको होइन । अविवाहित केटाले विवाहित महिला विवाह गर्ने चलन पनि त्यत्तिकै रहेछ । बिहाबारी र सम्बन्धलाई सामान्य रूपमा लिइने तामाङ समुदायमा सम्बन्ध तोडेर अरूसँगै गएकी पूर्वश्रीमती र उनका पतिसँग आउजाउ र खानपिनजस्ता कुराहरू सामान्य रूपमै चल्छन् । यो समुदायमा ज्वाइँ बन्न भने निकै कठिन छ, ससुराली आउँदा क्षेत्री-बाहुनका ज्वाइँझैं उपरखुट्टी लगाएर अनेक गफ हाँक्दै तिनले बस्न पाउँदैनन् । घरको सबै काम ज्वाइँले नै गर्नुपर्छ, गरेनन् या अल्छी गरे भने गाली मात्र होइन ससुरा र साला-जेठानको पिटाइसमेत खान्छन् ।
रसुवा जाने भनेपछि फेसबुकका केही साथीहरूले यात्रा सफलताको कामना गर्दै विभिन्न कुरा लेख्नुभएको थियो । त्यसमध्ये वरिष्ठ पत्रकार साथी तीर्थ कोइरालाजीको रसुवामा ढिँडो खाएर आउनु है भन्ने गतिलो सल्लाह-सुझावलाई भने कार्यान्वयन गर्न सकिएन । रसुवाको स्थानीय पिठो, आलु सबै काठमाडौं जाँदो रहेछ, यहाँ त तरकारी, पिठोलगायतका कुराहरू काठमाडौंबाटै ल्याइँदो रहेछ । होटल-व्यवसायीसमेत रहेका नेकपा एमालेका जिल्ला अध्यक्ष छोवाङ तेन्जिन लामा भन्दै थिए, ‘गाउँगाउँबाट पिठो आउनै छोड्यो के गर्नु, सुगर भएकोले म त काठमाडौंबाटै मकैको पिठो ल्याएर ढिँडो खान्छु ।’ त्यसैले ढिँडो खान भने खासै उत्साहित भइएन ।