‘हाम्रो लक्ष्य अब १९औँ एसियाडमा पदक जित्ने हो’

‘हाम्रो लक्ष्य अब १९औँ एसियाडमा पदक जित्ने हो’


■ वीरबहादुर तामाङ (अध्यक्ष, नेपाल उसु महासङ्घ)

जसको चर्चा अहिले उसुमा मात्र सीमित छैन, नेपाली खेलकुदमा समेत त्यत्तिकै छ । उसु महासङ्घको बागडोर सम्हालेको छोटो अवधिमै उसु खेललाई ऐतिहासिक सफलता दिलाउन उनले निभाएको नेतृत्वदायी भूमिका अहिले ‘कोशेढुङ्गा’ सावित भएको छ । नेपालमा उसु खेलको इतिहासलाई अझ गर्विलो बनाउन उनले चालेको दूरदर्शी कदम आफैमा तारिफयोग्य छ । उनै बहुप्रतिभाशाली उसु खेलाडी, निर्णायक, प्रशिक्षक हुँदै नेपाल उसु महासङ्घका अध्यक्ष र दक्षिण एसियाली उसु महासङ्घका उपाध्यक्ष समेत बन्न सफल वीरबहादुर तामाङसँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले उसु खेलमा केन्द्रित रही गरेको कुराकानी :

० कोरोना सङ्क्रमणपछिको खेलकुदलाई कसरी विश्लेषण गर्नुहुन्छ, त्यो समयमा उसु खेल कित्तको प्रभावित रह्यो ?
– साँच्चिकै त्यो समय निकै चुनौतीपूर्ण थियो, चाहेर पनि केही गर्न सक्ने अवस्था थिएन । कोरोना सङ्क्रमणका कारण खेलाडीहरू निस्क्रिय भएर घरमा बस्नु परेको थियो । प्रशिक्षण र प्रतियोगिताको तयारी सबै ठप्प थिए । डर र सन्त्रासले सबै अन्योलमा थिए । यस्तो अवस्थामा अन्य खेलझैँ उसु पनि प्रभावित बनेको थियो । तर अहिले सबै खेलाडी सक्रिय भएर प्रशिक्षण गर्दै प्रतियोगिताको तयारीमा लागेका छन्, सबै उत्साहित र खुशी छन् ।

० मार्शल आर्टस्का खेलमध्ये उसुलाई सम्भावित अन्तर्राष्ट्रिय पदक जित्ने प्रमुख खेलको रूपमा हेरिन्छ, उसु यसमा कति खरो उत्रिएको महसुस गर्नुभएको छ ?
– यसमा कुनै दुई मत छैन, उसु अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउने प्राथमिकतामा परेको प्रमुख खेल हो । यसमा उसु हिजो पनि खरो उत्रिएको थियो, आज पनि खरो उत्रिएको छ र भविष्यमा पनि खरो उत्रिने कुरामा म विश्वस्त छु । तर यसलाई निरन्तरता दिन राज्यको तर्फबाट सकारात्मक नजरले हेर्नुपर्ने मैले महसुस गरेको छु ।

० १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उसुवाट नेपालले आठ वटा स्वर्ण पदकको आशा गरेको थियो, सो किसिमको प्रदर्शन हुन नसक्नुको कारण के होला ?
– हो, हामीले १३औँ सागमा ८ देखि १० वटासम्म स्वर्णपदक जित्ने आशा गरेका थियौं तर सोचेको जस्तो हुन सकेन् । कारण थियो– ‘विदेशी प्रशिक्षणमा खेलाडीहरूलाई समयमै पठाउन सकेनौँ, अन्तर्राष्ट्रिय मापडण्ड अनुसारको सान्सौँ प्लेटफर्म र थाउलो एरिना समयमै उपलब्ध हुन सकेन ।’ उत्कृष्ट नतिजा आउन नसकेको मुख्य कारण यिनै हुन् । साँचो अर्थमा भन्नुपर्दा खेलाडीहरू राष्ट्रिय प्रशिक्षणमा मात्रै सीमित हुनुले यस्तो नतिजा आएको हो । तैपनि खेलाडीहरूको मेहनतले हामीले ५ स्वर्ण, ६ रजत र ७ काँश्य पदक जित्न सफल भयौँ, जुन रोपेको बिउभन्दा राम्रो फल हो ।

० विगतमा दक्षिण एसियाली मुलुकमा उसुमा नेपाल नम्बर एक स्थानमा थियो, अहिले स्तरमा ह्रास आएको छ, यस्तो हुनुमा खेलाडी या पदाधिकारी कसको कमजोरी ठान्नुहुन्छ ?
– ह्रास नै त आएको म ठान्दिनँ, सुरुवाती दिनमा नेपालले दक्षिण एसियाली मुलुकमा गरेको प्रदर्शन हेर्दा केही खस्केको हुन सक्छ । ती सबै विगतका सङ्घ पदाधिकारी र सम्बन्धित निकायका कारणले यस्तो हुन गएको हो । त्यतिबेला उसुको समग्र विकासभन्दा त्यसमा स्वार्थ गासिँदा उसु उँधोगतितर्फ उन्मूख भएको देखिन्छ । तर अहिले अवस्था सामान्य छ, उसु फड्को मार्दै अगाडि बढ्दै छ । जुन कुरालाई अन्तर्राष्ट्रिय नतिजाले पनि प्रस्ट पारेको छ ।

० उसुको समग्र विकासका लागि राखेपको भूमिकाप्रति सन्तुष्ट हुनुहुन्छ, कस्तो रणनीति अख्तियार गरे उसुले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलाङ माथ्र्यो होला, कुनै योजना र सोच बनाउनुभएको छ ?
– राखेप सम्पूर्ण राष्ट्रिय खेलकुद सङ्घको माउ संस्था भएकोले उसले जहिले पनि सबै खेललाई सकारात्मक रूपमा हेरेको हुन्छ र भूमिका पनि सोहीबमोजिम निभाएको हुन्छ । उसुको बारेमा भन्नुपर्दा अहिलेसम्म राखेपले राम्रै भूमिका निर्वाह गरेको पाएको छु । जहाँसम्म सोच र योजनाको कुरा छ, त्यसमा मैले उसु सङ्घको जिम्मेवारी सम्हालेपछि समग्र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएको छु । सङ्घका पदाधिकारी साथीहरू पनि यसमा सकारात्मक हुनुुहुन्छ । यदि हाम्रो योजना सफल भएको खण्डमा उसुले दक्षिण एसियाली मुलुकमा मात्र नभै एसियाडमा पनि पदक जित्ने हाम्रो विश्वास छ । हाम्रो भविष्यको रणनीति र योजना यही हो ।

० उसु खेलाडीहरूले नियमित प्रशिक्षण र उत्कृष्ट प्रशिक्षक नभएका कारण आफ्नो प्रदर्शन कमजोर भएको गुनासो गर्दै आएका छन्, के यो सत्य हो ?
– साँचो कुरा के हो भने खेलाडी साथीहरूले भनेको कुरा एक हिसाबले सत्य हो । किनभने, जुनबेला हामीले वैदेशिक प्रशिक्षणमा लानुपर्ने थियो वा विदेशी प्रशिक्षक नेपालमा ल्याएर प्रशिक्षण गराउनुपर्ने थियो त्यो दुवैको ब्यवस्था गर्न सकेनौँ, त्यसको लागि म दुःखी छु । यसका बाबजुद पनि नेपाली प्रशिक्षकहरूले लक्ष्यप्राप्तिका लागि जुन अहम् भूमिका निर्वाह गर्नुभयो तारिफयोग्य छ । यस्तो विषम परिस्थितिमा खेलाडीहरूले अथक मेहनत गरेर राष्ट्रलाई विभिन्न पदक जिताएर गौरवान्वित बनाउनुभयो त्यसको जति प्रशंसा गरे पनि पुग्दैन । १३औँ सागको नतिजाले हामी निकै उत्साहित भएका छौँ, सोही कुरालाई आत्मसात गर्दै आगामी दिनमा यो भन्दा उत्कृष्ट नजिता दिन समयमै स्वदेशी र विदेशी प्रशिक्षणको व्यवस्था गर्ने छौँ, यो हाम्रो महासङ्घको प्रतिबद्धता पनि हो ।

० अन्तर्राष्ट्रिय प्रतियोगिताको समयमा मात्र विदेशी प्रशिक्षक ल्याउनुको कारण के हो, अन्य समयमा विदेशी प्रशिक्षकको आवश्यकता छ कि छैन, स्वदेशी प्रशिक्षकका बारेमा तपाईं राय के छ ?
– अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि मात्रै विदेशी प्रशिक्षक ल्याउनुको तात्पर्य समय सापेक्षित हो । यसर्थमा कि अन्तर्राष्ट्रिय नियम हरेक वर्ष परिवर्तन हुन्छ । सम्बन्धित खेलको प्रशिक्षकलाई सो कुराको अनुभव हुने हुँदा परिवर्तित नियमको जानकारीबाट खेलाडीहरू वञ्चित हुन नदिन विदेशी प्रशिक्षक राख्न उचित मानिन्छ । अर्को कुरा विदेशी प्रशिक्षकको तुलनामा स्वदेशी प्रशिक्षकको स्तर कम छैन । यस्तो स्थितिमा राष्ट्रिय प्रशिक्षकको वृद्धि विकासका लागि पनि विदेशी प्रशिक्षकको निरन्तरतालाई आवश्यक नठानिएको हो ।

० उसुका दुई विधा (सान्दा र थाउलो) मध्य कुन विधामा नेपाली खेलाडी खेल्न रुचाउँछन्, अन्तर्राष्ट्रिय स्तरमा पदक जित्नका लागि कुन विधालाई प्राथमिकतामा राखे राम्रो हुन्थ्यो ?
– यसमा कुरा यस्तो हो । सान्दा विधामा पक्ष र विपक्षबीच भीडन्त हुन्छ भने थाउलो विधामा प्रदर्शन मात्रै हुन्छ । त्यस्तै सान्दामा तौल समुहअनुसार प्रतिस्पर्धा हुन्छ भने थाउलोमा विभिन्न क्याटोगरीमा प्रदर्शन गर्नुपर्ने हुन्छ । जसमा तरबारबाजी, लठ्ठी र भालाको खुला रूपमा प्रदर्शन गरिन्छ । मेरो विचारमा यी दुवै विधामा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने सम्भावना उत्तिकै भए पनि तुलनात्मक रूपमा भन्नुपर्दा थाउलोमा नेपालको भविष्य राम्रो देख्छु ।

० तुलनात्मक रूपमा अन्य राष्ट्रिय खेलको जस्तो उसुको नियमित प्रतियोगिता नहुनुको कारण के होला, प्रतियोगिता आयोजनाको लागि सङ्घले नै पहलकदमी गर्नुपर्ने होइन र ?
– यो सम्बन्धमा उसुको नियमित कार्यक्रम नभएको भन्ने होइन, उसुको पनि वार्षिक क्यालेण्डर अनुसार कार्यक्रम भैरहेको छ । पछिल्लो समय कोरोना संक्रमणले गर्दा केही सुस्तता देखिए पनि बाहिरबाट हेर्दा कुनै गतिविधि नभएको जस्तो मात्रै देखिएको हो । महासङ्घले हरेक कार्यक्रम गर्नको लागि सधैं आफ्नो तर्फबाट पहल गर्दै प्रतियोगिताको आयोजना गर्दै आएको छ । कोरोनाका कारणले मात्रै यसमा अलिकति अवरुद्ध भएको हो । अब निरन्तर रूपमा सबै प्रतियोगिता योजनाबद्ध तरिकाले आयोजना हुन्छ । महासङ्घ यसमा ज्यादै संवेदनशील छ ।

० उसुलाई आत्मसात गरेको व्यक्ति महासङ्घको अध्यक्ष भएपछि खेलाडीहरूले ठूलो राहत महसुस गरेका थिए, आफ्नो कार्यकालको कसरी विश्लेषण गर्नुहुन्छ ?
– यो सम्बन्धमा खेलाडीहरूले आशा र विश्वास गर्नु स्वभाविकै हो । म यसमा साह्रै भाग्यमानी सावित भए । जब मैले महासङ्घको अध्यक्षको जिम्मेवारी सम्हाले त्यसको केही समयपश्चात नै नेपालमा दक्षिण एसियाली निर्णायक तथा प्रशिक्षक गोष्ठीको गर्न सफल भए । जुन लामो समयदेखि नेपालमा आयोजना हुन सकेको थिएन । यो मेरो कार्यकालको ठूलो उपलब्धि हो । त्यसको लगत्तै आयोजना भएको १३औँ सागमा उसुले पाँच स्वर्ण जितेर ऐतिहासिक कीर्तिमान बनायो । जब कि १२औँ सागमा नेपालले एक स्वर्ण जितेको थियो ।

त्यस्तै १५औँ विश्व उसु च्याम्पियनसिपमा खेलाडीहरूको सहभागिता आफैमा प्रेरणादायिक र उपलब्धि मुलक बन्यो । उक्त प्रतियोगितामा खेलाडीहरूले पदक जित्न नसके पनि अहिलेसम्मकै सर्वोकृष्ट प्रदर्शन गर्न सफल भए । मेरो उद्देश्य उसुको समग्र विकास हो, राष्ट्रिय स्तरमा स्तरीय खेलाडी उत्पादन गरेर अन्तर्राष्ट्रिय पदक जित्ने हो । त्यसको लागि हामी प्रयासरत छौँ । नतिजा कहिल्यै पनि सोचेको जस्तो आउँदैन, तर मेहनत गर्नचाहिँ छोडनु हुँदैन ।

० राखेप हुँदै अहिले राष्ट्रिय सङ्घहरूमा पनि राजनीति घुसिसकेको छ, उसु पनि यसबाट अछुतो छैन, के सङ्घमा राजनीति गर्नु जरुरी छ, यो बारेमा के भन्नुहुन्छ ?
– राखेपमा राजनीति घुसेको बारेमा मलाई केहि थाहा छैन, हुन पनि सक्ला नहुन पनि सक्ला, यो बारेमा नबोल्दा नै उचित होला । तर जहाँसम्म उसु महासङ्घको कुरा छ, हाम्रो सङ्घमा कुनै किसिमको राजनीति छैन । हामी सबै मिलेर काम गरिरहेका छौँ । मेरो विचारमा खेलकुद सङ्घमा काम गर्ने हो, राजनीति कदापि गर्नु हुँदैन । किनकि त्यसको प्रत्यक्ष प्रभाव खेल र खेलाडीमा पर्छ । त्यसैले हामी यो विषयमा निकै गम्भीर छौँ ।

० नेपालको लोकप्रिय खेलमध्येको एक उसु खेलको अहिलेसम्म आफ्नै कवर्डहल नहुनुको कारण के हो, यसको लागि अहिलेसम्म कुनै पहल गर्नु भएको छ कि छैन ?
– निकै महत्वपूर्ण प्रश्न गर्नु भो, म यही प्रश्नको प्रतीक्षामा थिए । कवर्डहलको सम्बन्धमा हाम्रो महासङ्घले वर्षौंदेखि सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदसँग पहल गर्दै आएको छ र अहिले पनि गरिरहेको छ । तर दुःखको कुरा, सम्बन्धित निकायले अन्तर्राष्ट्रिय स्तरमा सम्भावित पदक जित्ने खेल उसुलाई भन्दा अन्य खेललाई प्राथमिकतामा राख्दा यस्तो स्थितिको सृजना भएको हो । अन्यथा उहिल्यै उसुको कवर्डहल बनिसक्थ्यो । पहुँच र पावर भयो भने सबै हुँदो रहेछ, हाम्रो पुगेन त्यसैले पछाडि परेका हौँ । र पनि, हामीले हिम्मत हारेका छैनौँ, उसुको कवर्ड हल बनाउनका लागि पहल गर्दै आएका छौँ, यसपटक राखेप पनि सकारात्मक देखिएको छ ।

० उसुका खेलाडीले अहिलेसम्म एसियाली खेलकुद प्रतियोगितामा पदक जित्न सकेका छैनन्, कहिलेसम्म पदक जित्ने लक्ष्य बनाउनु भएको छ ?
– हामीले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितिसकेका छौं । तसर्थ अबको लक्ष्य भनेकै एसियाली खेलकुद प्रतियोगिता हो । त्यसको लागि अहिलेदेखि नै हामी तयारीमा जुटेका छौँ । चीनमा हुने १९औँ एसियाडमा उसु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने कुरामा म आशावादी छु । १३औँ सागमा खेलाडीहरूले गरेको उत्कृष्ट प्रदर्शनको आधारमा एसियाडमा पदक जित्ने कुरामा म आशावादी बनेको हुँ ।

० अन्य मार्शल आर्ट्सका खेलसँग उसुलाई दाँज्नुपर्दा कहाँ पाउनुहुन्छ, के उसुले खेलाडीहरूलाई आत्मनिर्भर बनाउन सक्छ, खेलकुद लागेर केही हुँदैन भन्नेलाई कस्तो सन्देश दिन चाहनुहुन्छ ?
– म अन्य खेलसँग दाँज्नुभन्दा पनि उसु खेलाडीहरूको आत्मनिर्भरताको कुरा गर्न चाहन्छु । राखेपले सबै खेलाडी तथा प्रशिक्षकलाई जागिर दिन सक्ने अवस्था छैन । यस्तो स्थितिमा समेत हालसम्म जति पनि उसुसँग सम्बन्धित खेलाडी तथा प्रशिक्षक छन् उनीहरूले बेरोजगार भएर बस्नु परेको छैन । उनीहरूलाई राज्यले केही गर्न नसके पनि आफ्नै क्वान र विभिन्न विद्यालयमा उसुको प्रशिक्षण गराएर राम्रैसँग आफ्नो जीवीका चलाउन सफल भएका छन् । जसको लागि भित्रैदेखि आफू पनि आत्मनिर्भरताको मानसिकता बनाउनु जरुरी छ । जुन उसुका खेलाडी र प्रशिक्षकले गर्दै आएका छन् । यस्तोमा भविष्यमा उसुका कुनै खेलाडी बेरोजगार रहने कुरामा म विश्वास गर्दैन । उनीहरूले कसैको मुख ताक्नु र कसैको सामु हात फैलाउनु पर्ने छैन ।