वर्षदिन बचे पनि अन्ततः कोरोना भाइरसले झुक्याइछोड्यो !

वर्षदिन बचे पनि अन्ततः कोरोना भाइरसले झुक्याइछोड्यो !



बेल्जियमको लुभेन शहरका अधिकांश नेपालीमा कोरोना सङ्क्रमणको आशङ्का

  • सनत आचार्य, बेल्जियम

कोभिडको संसारव्यापी महामारी शुरुवात भएको ठिक एक वर्षपछि अन्ततः हामी (पङ्क्तिकार र दुई छोरीहरू) पनि सङ्क्रमित हुन पुग्यौँ । एक वर्षसम्म त हामी जेनतेन बचेकै थियौँ, तर संक्रमण शुरु भएको वर्ष दिनपछि भने हामी परिवार नै संक्रमित भयौँ ।

हामी मात्र हैन अहिले बेल्जियमको लुभेन शहरमा अधिकांश नेपालीहरूमा कोरोना सङ्क्रमण देखापरेको बताइन्छ । नाम उल्लेख गर्न नचाहने एक जना प्रवासी नेपालीका अनुसार लुभेनमा प्रत्येक नेपालीको घरमा अहिले कोरोना छिरेको छ ।

कुनै पनि आकारप्रकार नभएको कोरोना जीवाणुबाट एक वर्षको यो अवधिमा बच्दै नेपालका थुप्रै जिल्ला र कार्यक्रमहरूमा सहभागी पनि भइयो । दुई पटक युरोपको यात्रा गरियो । जानेर बचियो या नजानेर, बचियो तर कोरोना कहरबीच युरोपमा छिरेको दोश्रो पटक छोरीहरूसहित आफू पनि एकसाथ सङ्क्रमित हुँदा खिन्नता र दुःख महसूस भइरहेको छ ।

सङ्क्रमणको एकवर्षे अवधिमा सङ्क्रमणको अनुभव सँगालिसकेका विभिन्न व्यक्तिद्वारा लिखित अनुभव–अनुभूति पढ्ने अवसर पाएको थिएँ । केही टेलिभिजनमा उनीहरूको अन्तरवार्ता सुनिएको थियो । तर आज आफ्नै परिवारले यो पीडा भोग्दा एक फरक अनुभूति गरेको छु ।

हामी कोरोनाका विरुद्ध सजग थियौँ । कुनै पनि पसलभित्र छिर्दा र बाहिरिँदा सेनिटाइजरको प्रयोग गर्दथ्यौँ । घरभित्र पस्दा पनि सेनिटाइजरको प्रयोग गर्दथ्यौँ । म आफैले छोरीहरू काम वा स्कुलबाट फर्किसकेपछि उनीहरूलाई साबुनपानीले मिचिमिची राम्रोसँग हात धुन सुझाउथेँ र लगाउथेँ पनि । सेनिटाइजरको प्रयोगलाई अनिवार्य तुल्याएको थिएँ ।

कपडा फेर्न लगाउथेँ अनि मात्र खाना खान प्रेरित गर्दथेँ । हामीले लिएको सजगतालाई हेर्दा मलाई लाग्दथ्यो हामीलाई कहिल्यै पनि कोरोना सङ्क्रमण हुन सक्दैन । तर, यसरी यी सबै मापदण्ड अपनाउँदा अपनाउँदै हामी सङ्क्रमणबाट अछुत रहन सकेनौँ ।

श्रीमती पारिवारिक कामका लागि नेपाल गएको पन्ध्र दिन भएको छ । यहाँ घरमा हामी तीन जना मात्र थियौँ । म पनि बाहिर साथिहरूसँग खासै निस्कने गरेको छैन । हप्ता दिनपहिले पारिलो घामको लोभले हिँड्न निस्किएको थिएँ । करिब अढाई घण्टाको हिँडाइपछि घर फर्किएँ । सोही दिन राती अलिक चिसो भएझैँ भयो । बिहानीपख कामज्वरो जस्तै भइ शरीर काँप्न थाल्यो । हिटर खोलेँ । थर्मामिटर लगाएँ तर ज्वरो थिएन । बिस्तारै–बिस्तारै कफविनाको खोकी शुरु भयो । ४–५ दिनसम्म खोकीले गलायो । शरीरमा खोकी भन्दा अरु केही थिएन । कहिलेकाहीँ हल्का टाउको दुखेजस्तो हून्थ्यो । छोरीहरूले कोरोना परीक्षणका लागि सुझाए । मैले मानिनँ । बरु गल्दै गएँ ।

यो बीचमा भोक पटक्कै लागेन र अझै पनि छैन । स्वाद र बास्ना हरायो । खुर्सानी र पिरो लसुन खाँदा पनि जिब्रोले कुनै स्वाद पाएन । एक दिन बिहान तौल लिँदा थाहा भयो– ३ किलो ४०० ग्राम वजन घटेछ ।

यसैबीच ठुली छोरीमा पनि मलाईजस्तै केही लक्षण देखा पर्न थाल्यो । उनले अलिक गलेको महसूस गरेको देखेँ । अनि मंगलबार (२४ मार्च) उनलाई कोरोना परीक्षणका लागि डाक्टरसँग समय लिन भनेँ । उनले मैले भनेअनुसार गरिन् । मंगलबार नै परीक्षण भयो र बुधबार दिउँसो रिपोर्ट आयो ।

म बिछ्यौनामा ललिरहेको थिएँ । छोरी मेरो नजिक आएर ‘पापा मेरो रिपोर्ट त पोजेटिभ आयो’ भनिन् । मलाई विश्वासै भएन । हैन होला भनिरहेँ । उनले वेभसाइड लगायतबाट मलाई विश्वस्त गराउन कोशिस गरिन् । अन्तमा उनको खाएको कसमका कारण पोजेटिभ भएको पत्याउनै पर्यो ।

तारन्तार आएका फोनले कुनै प्रकारको चिडचिडाहट पैदा गरेन । मैले ती फोनहरूलाई जनउत्तरदायी सरकारको कर्तव्यको रूपमा बुझेँ । नागरिकप्रति सरकारको चासो र नागरिकले सरकारलाई तिर्ने करको लाभान्सको रुपमा बुझेँ । यहाँका कर्मचारी प्रशासन नागरिकप्रति कति सचेत रहेछन् भन्ने बुझेँ । सरकार कोरोना सङ्क्रमण रोकथामका लागि कति संवेदनशील छ भन्ने बुझेँ ।

अब चिन्ता भयो सानो छोरीको । उनीहरू दुवै जना एउटै बेडमा सुत्दथे । सानी पनि मंगलबारबाट साकसुक गर्न थालिसकेकी थिइन् । बुधबार सानीको पहिलो परीक्षा थियो । परीक्षा सकाएर उनी करिब २ बजे स्कुलबाट आइन् । स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ । सानीका आँखाहरू रसाए झैँ देखिन्थे । उनले अलि-अलि टाउको दुखेको सुनाइन् ।

मैले तत्काल ठुली छोरीसँग सल्लाह गरी उनको लागि पनि कोभिड परीक्षणका लागि समय मिलाउन भनेँ । ठुलीले सोहीअनुसार दिउँसोको लागि परीक्षणको समय मिलाइन् ।

मेरो पनि मनले मानेन । मैले पनि बुधबार कोभिड परीक्षणका लागि साढे सात बजेको समय मिलाएँ र परीक्षण गराए । अब चिन्ता भयो रिपोर्टको ।

ठुलीछोरीलाई पोजेटिभ भइसकेको अवस्थामा कान्छी छोरी र म मध्ये एक जनालाई चाहिँ पक्कै पोजेटिभ होला भन्ने अनुमान थियो । तर बिहीबार बिहान करिब १० बजे हाउस डाक्टरद्वारा सानी र म समेत दुवै जना कोरोनासङ्क्रमित भएको फोनबाट जानकारी मिल्यो । केही समयसम्म म स्तब्ध भए । श्रीमती घर नभएको अवस्थामा यो सङ्क्रमित परिवारलाई कसरी हेरचाह गर्ने भन्नेबारे निकै सोचेँ ।

तत्कालका लागि हामीसँग के–के खानेकुरा छ त ? अब के गर्ने भन्ने योजना बनाएँ । एकपटक सर्सर्ती भान्छा र भण्डार चेक गरेँ । त्यसपछि छोरीहरूको मनस्थिति बुझ्नतर्फ लागेँ ।

यो बीचमा नेपालमा रहेकी श्रीमतीलाई आफुहरू सबै कोभिड सङ्क्रमित भएको जानकारी गराएँ । उन्ले शुरुमा त विश्वास गरिनन्, तर एकछिनपछि दुखित हुँदै ‘कति दुःख दिएको तिमीहरूले मलाई ?’ भन्दै आँखाका डिलभरी आँशु पारिन् । म सम्झाउन थालेँ । उनी विस्तारै सामान्य अवस्थामा फर्किइन् ।

त्यसको केही क्षणपछि मलाई बेल्जियम सरकारको विभिन्न निकायबाट फोनको वर्षा हुन थाल्यो । ‘तिम्रो स्वास्थ्यमा के–कस्तो समस्या छ ?’ भन्ने लगायतका सवाल पूरै चेकलिष्ट जस्तै सोध्न थालियो । आफूमा देखापरेका लक्षणहरू सबै बताएँ । ‘तत्काल डाक्टरको सेवा आवश्यक महसूस गरेका छौ कि छैनौ ? यदि छौ भने तिमी बाहिर जान मिल्दैन, हामी डाक्टर घरमै पठाइदिन्छौँ’ भन्ने सुझाव चिकित्सकबाट पाइयो । मैले तत्काल त्यस्तो प्रकारको सेवा आवश्यक नदेखिएको जवाफ फर्काएँ, समस्या आए तत्काल डाक्टरलाई फोन गर्नु भन्ने सुझाव मिल्यो ।

पुनः अर्को फोन आयो । उक्त फोनमार्फत आइतबार–सोमबारदेखि क–कसलाई भेटेको ? कुनै जन्म वा मृत्युसंस्कारमा सहभागी भए–नभएको, कुनै पार्टी वा अन्य सामुहिक भेलामा गए–नगएको विषयमा सोधिएको थियो ।

त्यसपछि फेरि अर्को फोन आयो । उक्त फोन पनि हाम्रो स्वास्थ्यावस्था र घरको किनमेल सम्बन्धमा थियो । फोनले किनमेलका लागि घरबाहिर नजान र यदि घरमा सामग्रीहरू आवश्यक भए ‘यो’ नम्बरमा फोन गर्न वा आफ्नो नजिकको साथीभाइलाई भन्न आग्रह गरिएको थियो । घरमा कुनै पनि सामग्री आवश्यक भए उक्त फोनमा टिपाउने भनिएको थियो ।

त्यस्तै, घरका झ्यालढोकाहरू खुल्ला राख्न र कोठामा ताजा हावाको बहाव कायम राख्न आग्रह गरियो । स्वास्थ्यमा कुनै समस्या आए तत्काल फोन गर्न जानकारी गराइएको थियो ।

यसरी तारन्तार आएका फोनले मलाई हतोत्साही तुल्याएन, कुनै प्रकारको चिडचिडाहट पैदा गरेन । मैले ती फोनहरूलाई जनउत्तरदायी सरकारको कर्तव्यको रूपमा बुझेँ । नागरिकप्रति सरकारको चासो र नागरिकले सरकारलाई तिर्ने करको लाभान्सको रुपमा बुझेँ । प्रजातान्त्रिक सरकारले नागरिकलाई दिने सेवा-सुविधा र हेर्ने दृष्टिकोणका बारेमा बुझेँ । यहाँका कर्मचारी प्रशासन नागरिकप्रति कति सचेत रहेछन् भन्ने बुझेँ । सरकार कोरोना सङ्क्रमण रोकथामका लागि कति संवेदनशील छ भन्ने बुझेँ । र, नेपालमा यस्तो सरकार कहिले आउला, कर्मचारीहरू यसरी सभ्य र नम्र भएर कहिले बोल्लान् भनी सोच्न बाध्य भएँ । नागरिक आधारभूत अधिकारबाट वञ्चित नहुन् भन्नेतर्फ सरकार सजग रहेको भन्ने यहाँको सरकारी निकायको व्यवहारबाट बुझेँ । जे बुझेँ.. अत्यन्त मार्मिक भावमा बुझेँ ।

कोभिड सङ्क्रमणका बाबजुद आजसम्म हामी तीनै जनामा उच्च साहस छ । समय–समयमा तातोपानी र काँडा पिउँछौँ । फलफुल, जुस लिन्छौँ । खानामा रुचि नभए पनि खानका लागि एकअर्कामा जबर्जस्ती प्रेरित गर्छौं । हाँस्छौँ, हसाउँछौ र नाच्छौँ पनि । सामान्य योग अभ्यास गर्छौं । एकअर्कालाई हौसला प्रदान गर्छौं । सरकारले अप्रिल ३ सम्म आइसोलेशन अवधि तोकेको छ । उक्त अवधिसम्म हामीले कोरोनालाई परास्त गर्छौं भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।