कम्तिमा पच्चीस सांसदले ‘फ्लोर क्रस’ गर्ने सूचना पाएपछि…

कम्तिमा पच्चीस सांसदले ‘फ्लोर क्रस’ गर्ने सूचना पाएपछि…



माधव नेपाल पक्षमाथि केपी शर्मा ओली विश्वस्त हुन नसक्नुको कारण विगतमा भएको गालीगलौज भन्दा पनि माधव पक्षको रणनीतिक चालबारेको सूचनालाई मानिएको छ ।

प्राप्त जानकारीअनुसार एमाले र माओवादी विधिवत छुट्टिए पनि माधव नेपाल पक्ष रातारात एमालेमै फर्किएको देखेर प्रधानमन्त्री ओली छक्क पर्नुभएको थियो । केपीलाई माधव र प्रचण्ड मिलेर नयाँ कम्युनिष्ट पार्टी दर्ता गर्ने विश्वास भएको बताइन्छ । तर केपीको अनुमानविपरीत माधव र प्रचण्ड संयुक्त बैठक बसी परस्पर ‘अङ्गालो हालेर’ अलग्गिने निर्णय गरेपछि केपी सशङ्कित बन्नुभएको थियो । संसद्मा अविश्वासको प्रस्तावमा मतदान हुने या प्रधानमन्त्रीले विश्वासको मत लिने दुवै अवस्थामा माधव पक्षका कम्तिमा पच्चीस सांसदले ‘फ्लोर क्रस’ गर्ने र केपीलाई प्रधानमन्त्री पदबाट हटाउन सहयोग पुऱ्याउने नियोजित योजनाका साथ माधव पक्ष एमालेमा फर्किएको सूचना पाएपछि ओली सचेत बन्नुभएको बताइन्छ ।

जानकारीअनुसार त्यसरी ‘फ्लोर क्रस’ गर्दा केपीले सांसद पदबाट हटाउने निर्णय गरी सभामुखसमक्ष लेखि पठाउन सक्ने र, त्यसो भएमा सभामुखले सांसद पद खाली भएको घोषणा नगर्नेसम्मको योजना बनेको सूचना पनि प्रधानमन्त्रीले पाउनुभएको बुझिएको छ । त्यसरी अर्कै नियतले पार्टीमा फर्किएको सूचना पाएकै कारण केपी ओलीबाट फागुन २८ गते शुक्रबार एमाले केन्द्रीय समितिको बैठक राखी केही पदहरू खारेज गर्दै कतिपय नेताहरूको जिम्मेवारी हेरफेरसमेत गरिएको छ । निर्णयअनुसार अब सातवटै प्रदेशको कमाण्ड केपीसमर्थकहरूले मात्र गर्नेछन् । माधव पक्षलाई सातवटै प्रदेशको इञ्चार्ज र अध्यक्षको पदबाट मुक्त गरिएको छ ।

त्यस्तै, आगामी मङ्सिर (२०७८) २ देखि ६ गतेसम्म दशौँ महाधिवेशन गर्ने तथा पार्टीमा अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी नरहने निर्णय पनि बैठकले गरेको छ । यो निर्णयपछि माधवकुमार नेपालले वरिष्ठ नेता तथा विदेश विभाग प्रमुखको हैसियत गुमाउनुभएको छ । घनश्याम भुसाल र योगेश भट्टराई पनि पद गुमाउनेमा परेका छन् ।

फागुन २८ को एमाले निर्णयले माधव पक्षलाई थप सकसमा पारेको छ । गत सोमबार (चैत २ गते) भएको दुई पक्षीय बैठकमा फागुन २८ को निर्णय सच्याएर अघि बढ्न माधव नेपाल पक्षले गरेको आग्रहलाई केपीले सुन्न पनि चाहनुभएन । उक्त पक्षले चैत ४ र ५ गते राजधानीमा आफ्नो पक्षको राष्ट्रिय भेला बोलाएको छ । भेलाको निर्णयअनुसार माधव पक्षले भावी रणनीति बनाउने बताइएको छ ।

उता केपी ओलीले चैत ७ गते नेकपा एमाले केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ । बैठकमा सहभागी हुन केपीले माधव पक्षलाई सार्वजनिक रूपमै आह्वान गर्नुभएको छ । उक्त बैठकमा माधव पक्षको सहभागिता नरहने बुझिएको छ । तथापि कतिपय नेताहरूले केपीको बैठकमै सहभागी भएर प्रतिवाद गर्नुपर्ने धारणा पनि माधव नेपालसमक्ष राखेको बताइन्छ । अर्को पक्षले सहभागिता जनाए पनि नजनाए पनि चैत ७ गते हुने नेकपा एमाले केन्द्रीय समितिको बैठकले महाधिवेशन तयारी समिति बनाउने र यसअघि केन्द्रीय समिति सदस्य मनोनित गरिएका आफ्नो पक्षका सबैलाई आयोजक समितिमा मनोनयन गरिने जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।