हात गुमे पनि आँटले उचाइ छोएका सुदर्शन

हात गुमे पनि आँटले उचाइ छोएका सुदर्शन


  • राजन घिमिरे

शारीरिक विकलाङ्गताले जीवनको लक्ष्य, उद्देश्य वा गन्तब्यमा खासै असर पार्दैनरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन ‘एभरेष्टर’ सुर्दशन गौतम । मानिसमा चाहिन्छ त केवल आँट, साहस, लगन, धैर्यता र केही गरेर देखाउने आत्मविश्वाससहितको दृढ संकल्प ।

यस्तै विशेषता भएकै कारण आज सुर्दशन गौतम विश्वमा रहेका नेपालीमाझ मात्र नभइ विदेशीका सामु पनि उत्तिकै चिनिएका छन् । जीवनमा अकल्पनीय घटना अकस्मात आइपरेरदुवै हात गुमाउन पुगेका सुदर्शनले हातविना पनि हात भएकाहरूको भन्दा जोखिमयुक्त, उदाहरणीय तथा प्रशंसनीय काम, कर्तब्य पेश गरेपछि उनी आफूजस्ता सबैका लागि प्रेरक पात्र पनि बनेका छन् ।

रामेछाप गुन्सी भदौरे वडा नं १ मा २०३७ सालमा जन्मिएका सुदर्शनको २०५२ साल असार महिनामा बानेश्वर थापा गाउँमा ११ हजार भोल्टको करेन्टमा परेर दुवै हात गुमेको थियो । यस्तो अवस्थासँग जुधे पनि उनले जीवनमा कहिल्यै हार खाएनन्, बरू यस्तो दूरावस्थालाई शक्तिमा बदलेर उपचारको क्रममा अस्पतालमै खुट्टाबाट खाने, नुहाउने र लेख्ने जस्ता अदभूत कार्य गर्न सिके । र, यस्तै मिहेनत एमव् कौशलताका कारण सुदर्शन यो भीडमा चामत्कारिक युवाको रूपमा स्थापित हुन पुगे ।

२०५३ सालमा खुट्टालाई नै माध्यम एसएलसी दिएका उनी दोस्रो क्षेणीमा पास भए । त्यसपछि उनको नामको ख्याति झनै फैलियो । उनले २०५८ सालमा दुई हातबिना खुट्टाकै भरमा कार चलाएपछि सबै चकित भए । अन्ततः यही विलक्षण प्रतिभा नै उनलाई सबैले नोटिस गर्ने सशक्त माध्यम बन्यो ।

यो भन्दा पनि ठूलो कुरा त सन् २०१३ मा २० दिनका लागि बिनाहात सगरमाथाको चुचुरोमा सुदर्शनले नेपाल र क्यानडाको झण्डा फराएपछि उनको चर्चा सगरमाथा जस्तै चुलियो । करिव दश वर्ष तयारी गरेपछि सुदर्शनले सगरमाथा चढ्ने योजना बनाएका थिए ।

सुदर्शन अहिले क्यानडामा श्रीमती र दुई सन्तानका साथ सुखमय जीवन बिताइरहेका छन् भने क्यानडा र अमेरिकामा कार वास एवम् रेष्टुरेण्ट व्यवसायमा आवद्ध छन् । शरिरको कुनै अंग गुमेगा केही गर्न सकिँदैन भनी हरेस खाएर जीवन नै बर्बाद भयो भनी सोच्नेहरूका लागि सुदर्शन उदाहरण, ढाडस र सशक्त प्रेरणा हुन् । शारीरिक विकलाङ्ताको शिकार भएका हरेकका लागि बुलन्द हौसला तथा आँटका हिमाल हुन् सुदर्शन, जो कहिले हल्लिँदैन, भत्किँदैन र चर्किंदैन ।

समाजसेवामा समेत नाम चम्काइरहेका सुदर्शन सामाजिक कार्यलाई निरन्तरता दिँदै आफ्नो जीवन अब सामाजिक अभियन्ताकै रूपमा अगाडि बढाउने योजनामा छन् । नेपाली चलचित्रमा नायकको रूपमा पनि उपस्थिति जनाइसकेका उनी अब सामाजिक सन्देश प्रवाह गर्ने सिनेमा निर्माणलाई निरन्तरता दिने योजना, सोच र तयारीमा जुटेका छन् ।