न्ह्यूको स्वर-संगीत र निरुको शब्दमा आयो ‘पेरिस्कानो’

न्ह्यूको स्वर-संगीत र निरुको शब्दमा आयो ‘पेरिस्कानो’


युवा सर्जक निरु त्रिपाठीद्वारा लिखित ‘पेरिस्कानो’ उपन्यासको वार्षिकोत्सवमा उपन्यासमा आधारित गीत रिलिज गरिएको छ । ‘मैले पढ्ने हरेक किताबको पानामा…’ बोलको गीत उपन्यासकार निरु त्रिपाठीले लेखेकी हुन् भने यसमा स्वर र संगीत वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले दिएका छन् । निरुको उपन्यास ‘पेरिस्कानो’ गत वर्ष प्रकाशित भएको थियो ।

पेरिस्कानो क्रियसनको प्रस्तुति उक्त म्यूजिक भिडियोलाई मेल्वर्न फोटो प्रोजेक्ट टिमले छायाङ्कन गरेको हो भने कँडेल कन्सल्टेन्सिले सपोर्ट गरेको छ । भिडियोको सम्पादन भने भरत रेग्मीले गरेका हुन् ।

उपन्यासमा उल्लेख भएअनुसार भिडियोमा पनि मनु र पेरिसबीचको प्रगाढ प्रेम देखाइएको छ । अष्ट्रेलियाबाट सगरमाथा आरोहीहरूलाई नेपाल लिएर गएको पेरिस २०७२ सालमा नेपालमा गएको विनासकारी भुकम्पले नाम्चेबजारमा नै अड्किन्छ । म्यूजिक भिडियो पनि त्यहीँबाट सुरु भएको छ ।

नाम्चेबाट पेरिसले मनुलाई इमेल लेख्दै छिट्टै मेल्वर्न आउने वाचा गर्छन्, तर वाचा पूरा नहुँदै सगरमाथाको नजिक केन्द्रविन्दु बनाएर आएको दोश्रो भुकम्पको झट्काले पेरिस हराउँछ । पाँच वर्ष हुँदा पनि पेरिसको केही खबर नआउँदा भिडियोमा मनु अझै शोकमा रहेको देखाइएको छ ।

मनु रातमा आफ्नो विगतलाई सम्झँदै घरको गार्डेनमा टहलिरहेकी हुन्छे । यसरी विगत र वर्तमानलाई देखाएर अन्त्यमा त्यसबखत टेलिभिजनमा प्रशारण भएको पेरिस हराएको समाचारसँगै म्यूजिक भिडियो सकिएको छ ।

भिडियोमा मनुको चरित्र स्वयंम् निरु त्रिपाठीले गरेकी छन् भने पेरिसको चरित्र मेल्वर्नका रंगमन्चका कलाकार केविन जेम्स प्रिस्टलीले निभाएका छन् ।