अब राजालाई सक्रिय राजनीतिमा आउन दिनुपर्छ : ऋषिकेश शाह

अब राजालाई सक्रिय राजनीतिमा आउन दिनुपर्छ : ऋषिकेश शाह


(बाइस वर्षअघिको घटना र विचार)

० देशको राजनीति अहिले कुन मोडतिर गइरहेको छ ?
– हरेक दृष्टिबाट राजनीतिक रुचिको ह्रास भइरहेको छ । राजनीतिक क्रियाकलाप ठीक छैन । नेपालको राजनीति जटिल मोडमा छ ।
० कसको कारणले यस्तो स्थिति आयो ?
– खासगरी नेपालका राजनीतिक पार्टीहरूकै कारण यसो भइरहेको छ । पार्टीहरूले दायित्व पूरा गर्न सकेनन्, सबै पार्टीले ।
० सतारुढ पार्टी कांग्रेस जिम्मेवार छैन ?
– सबै कानचिरुवा पार्टीहरू जिम्मेवार छन् । सांसदहरू पनि जिम्मेवार छन् ।
० भनेपछि यी पार्टीहरूको कुनै औचित्य छैन ?
– यहाँका कुनै पनि पार्टीको औचित्य छैन । ती पार्टीले जवाफदेही काम गरेनन् । चुनाव जितेर सरकार बनाएर मात्र हुँदैन चुनाव जितेपछि आफ्नो जिम्मेवारी बहन गर्न सक्नुपर्छ ।
० राजनीतिक पार्टी र नेताहरूको औचित्य नभएपछि नेपालमा कस्तो शासन ल्याउनुपर्छ त ?
– जनता चुप लागेर बस्दैनन् । तिनलाई सजाय दिनेछन् । तिनको करतुतले नेपाल भन्ने देशकै अस्तित्व खतम पार्दैछ ।
० नेपालको भविष्य अन्धकारमय भएको हो ?
– मैले त त्यस्तै देखेको छु । भविष्य जताततै अन्धकार छ । नेपालको राज्यमै भोलि गएर आँच आउन सक्छ, नेताहरू सुध्रिएनन् भने ।
० बहुदलीय व्यवस्थाको आवश्यकता छ त, शाहज्यू ?
– संसारभरि नै प्रजातन्त्रको आवश्यकता भइरहेको बेला नेपालमा छैन कसरी भनूँ ।
० प्रजातन्त्र निर्विकल्प व्यवस्था नै हो त ?
– प्रजातन्त्रलाई एउटा बाटोमा ल्याउन सक्नुपर्‍यो । राजा वीरेन्द्रले मात्र यो व्यवस्थालाई सही बाटोमा ल्याउन सकिबक्सन्छ ।
० राजा सक्रिय राजनीतिमा आउनुपर्छ भन्न खोज्नुभएको ?
– एकदम ! सुन्नुस्, म भन्छु तपाईंलाई अब यहाँ संविधानसभाको चुनाव गराउनुपर्छ । किनभने सबैले अहिलेको संविधानमा खोट छ, गलत छ भनेका छन् । राजा सक्रिय राजनीतिमा नआइकन त्यसको समाधान हुँदैन । अब राजाले नेताहरूलाई भन्नुपर्छ– हेर्नुस् पहिलेको संविधान पनि मैले दिएको हो । तपाईंहरूलाई मैले १० वर्षसम्म जाँचे । तपाईंहरूले राम्रो काम गर्न सक्नुभएन । त्यसैले अब जनताले बनाएको संविधानसभाबाट संविधान बनाउँ । १८ महिनाभित्र जो आउँछ, उसैले सविधान बनाउँछ । र, शासन व्यवस्था पनि उनीहरूले लिन्छन् ।
० राजाले त्यो आँट गर्लान् र ?
– मलाई थाहा छैन । त्यो राजालाई सोध्नुस् ।
० राजासँग तपाईंको कुरा भएको छैन ?
– राजाको कुरा मैले बुझ्दिनँ । तर अरूले गरेर यो मुलुकमा केही हुँदैन, राजाले नै गर्नुपर्छ भन्ने मेरो आशय हो ।
० राजा सक्रिय हुनुपऱ्यो ?
– सक्रियताको कुरा छोडौँ । राजा अहिले पनि सक्रिय हुनुहुन्छ होला । मुलुकलाई सही बाटोमा हाँक्न यो सक्रिय हुनुपर्छ भनेको हो । राजाले
बाहेक यो मुलुकमा सही दिशा कसैले दिन सक्दैन । राजा भएर जन्मेपछि मुलुकमा सही स्थिति बसाइनुपर्छ ।
० राजाले सबैको कुरा मानिरहनुभएको छ नि ?
– जाँचिबक्सँदैछ जनतालाई । अब उहाँ अघि सर्नुपर्छ अनि मात्र मुलुकमा स्थिति बस्छ ।
० राजा अघि सर्दा यहाँका नेताहरूको हैसियत के रहला त ?
– यो मुलुकमा राजा मात्र राजनेता हो । अरूले त राजनेताको कामै गरेका छैनन् ।
० कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीहरू कस्ता नेता हुन् ?
– पैसा खाने नेता । चुनावमा आउने अनि करोडपति हुने नेताहरू हुन् । तिनीहरू सत्तामा आएर पनि केही गर्न सकेनन्, खालि पैसा कमाउने काम मात्र गरे ।
० तपाईंले राजालाई सक्रिय पार्नुपर्छ भन्नुभयो, देशका अन्य पार्टी र नेताहरूले मान्लान् र ?
– सबै पार्टी, नेता र कार्यकर्ताले अब राजालाई सम्मानपूर्वक सक्रिय राजनीतिमा आउन दिनुपर्छ र राजाको कदमलाई सबैले सहयोग गर्नुपर्छ ।
० अहिलेको संविधानले त्यसो गर्न देला ?
– यो संविधानको औचित्य नै छैन । सबै यसको विरोधमा छन् ।
० माओवादी नेता डा. बाबुराम भट्टराईसँग अहिले तपाईंको कस्तो सम्बन्ध छ ?
– म हतियार उठाउने कुरामा विश्वास गर्दिनँ । हतियार नउठाइकन गरिबी हटाउने कुरामा म जसको पनि साथी हुँ ।
० डा. भट्टराईले हतियार छाडेर शान्तिपूर्ण बाटो लिएमा तपाईं उहाँको पार्टीमा लाग्नुहुन्छ ?
– डा. भट्टराईले हतियार फालेर जनताको समस्या समाधान गर्न खुला राजनीतिमा भाग लिन्छन् भने उनलाई सबभन्दा पहिला सहयोग गर्ने मान्छे मै हुनेछु ।
० माओवादी गतिविधि झन्–झन् बढ्दै छ, यसलाई कसरी हेरिरहनुभएको छ त ?
– माओवादी गतिविधि बढ्यो भनेर मैले के गर्ने ? नेताहरूले राम्रो काम गर्न सकेनन् माओवादी त बढ्ने नै भए । नेताहरूले राम्रो काम गर्न सकेको भए माओवादीलाई यत्रो जनसमर्थन हुने थिएन । अहिले चारैतिर जनताहरू माओवादी नेताहरूलाई लुकाइरहेका छन् । संसदीय नेताहरू फेल भएकोले माओवादी बढेका हुन् ।
० यसको समाधान के त ?
– वार्ताको लागि वातावरण बनाउनुपर्छ । थुनिएका मान्छेहरू सबैलाई रिहा गरेर, उनीहरूका माग पूरा गर्न सरकारले टेबुलमा बोलाउनुपर्छ । माओवादीहरू वार्ता गर्न तयार छन्, तर वातावरण बनाउन सरकार तयार देखिँदैन । मसँग माओवादी नेताहरूको कुरा हुँदा माओवादीहरूले वार्ताको वातावरण बनाएमा वार्ता गर्न तयार भएको बताएका छन् । तर सरकारले त्यसतर्फ ध्यान दिएको छैन । माओवादीहरूले हतियार उठाउनुबाहेक अरू सबै काम जायज गरेका छन् ।
० बाबुराम भट्टराईसँग तपाईंको घनिष्ठ सम्बन्ध छ नि, हैन ?
– ऊ मेरो कुनै जमानाको शिष्य हो । सूर्यबहादुर पनि मेरो शिष्य हो । सात जना प्रधानमन्त्रीलाई मैले कलेजको पहिलो वर्षमा पढाएको हुँ । बाबुराम भट्टराईसँग मेरो भारतमा रहँदा, नेपालमा रहँदा मित्रता भयो । उहाँ र मैले एउटै कार्यक्रममा धेरैपल्ट भाषण गर्‍यौँ । उहाँको विचारसँग मैले कहिल्यै समर्थन जनाइनँ । तर मित्रताचाहिँ सधै रहिरह्यो । बाबुराम कस्तो मान्छे हो मैले चिनेको छु ।
० बाबुराम कस्तो मान्छे हो ?
– बाबुराम बुद्धि भएको र मुलुकमा केही गरौँ भन्ने भावना भएको मान्छे हो ।
० भूमिगत भएपछि उहाँसँग तपाईंको भेट भएको छ कि छैन ?
– बाबुरामसँग भेट गरेको कुरा तपाईंलाई किन भन्ने ? नेपालका धेरैजसो नेतासँग बाबुरामको भेट भइरहेको छ । तपाईंलाई के थाहा छ ? मेरो एउटा मित्रसँग मैले भेटेँ, तपाईंलाई केको सरोकार ?
० बाबुरामको लाइन त राजतन्त्रविरोधी छ, तपाईं चाहिँ किन उहाँको तारिफ गर्दै हुनुहुन्छ ?
– जसले काम गर्छ म त्यसको तारिफ गर्छु । बाबुरामले जुन सपना लिएर अगाडि बढेका छन् त्यसमा मेरो केही कम्प्लेन छ । राजाविरोधीसँग मेरो सम्झौता हुँदैन, तर बाबुरामले समाजमा परिवर्तन गर्न देखाएको उत्साहप्रति मेरो सम्मान छ ।
० तपाईंलाई माओवादीसँग वार्ता गर्ने जिम्मा दिएमा समस्या समाधान गर्नुहुन्छ ?
– सरकारले मलाई पूर्ण अधिकार दिनुपर्छ । म यो समस्या समाधान गरिदिन्छु ।

(घटना र विचार साप्ताहिक, १५ फागुन ०५५)