विप्लव-रेखा भेटघाटले पैदा गरेको तरङ्ग

विप्लव-रेखा भेटघाटले पैदा गरेको तरङ्ग


  • राजन घिमिरे

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र चर्चित नायिका रेखा थापाबीच भएको भेटघाटको चर्चा यतिबेला ब्याप्त छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि रेखाले सरकारी कदमको विरोध गर्दै विप्लवको पक्षमा अभिव्यक्ति दिँदै आएकी थिइन् । हक्की स्वभावकी रेखाले निडरतापूर्वक निरन्तर आफू विप्लवको समर्थनमा रहेको बताउँदै आउँदा एकथरीले अचम्म माने पनि धेरैले उनको साहसको प्रशंसा गरेका थिए ।

प्रतिबन्ध फुकुवा भएर विप्लव सार्वजनिक भएलगत्तै रेखा थापा र विप्लवबीच भेटघाटको मौका जुरेको छ । विप्लवलाई भेट्न रेखा लाजिम्पाटस्थित एक क्याफे पुगेकी थिइन् । त्यसपछि विप्लव र रेखा सँगै बसेर खिचाइएको एक शालिन तस्बिर सार्वजनिक हुनुका साथै भाइरल नै बन्न पुग्यो । विप्लवसँग लोकप्रिय नायिकाले सँगै तस्बिर खिचाएपछि नयाँ पुस्ताका युवाहरू पनि आर्कषित भएका अनुभूति गरिएको छ ।

भन्नैपर्दा एक समयकी नम्बर एक अभिनेत्री रेखा थापा अचेल फिल्मभन्दा राजनीतिमा बढ्ता चासो राख्छिन् । राजनीतिक हिसाबले यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य हुन् उनी । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएलगत्तै प्रचण्डसँग नाचेर उनी राजनीतिक वृत्तमा ‘भाइरल’ किसिमले चर्चामा छाएकी थिइन् । लगत्तै उनी माओवादीमै प्रवेश पनि गरिन् । संसदीय राजनीतिको आरोह–अवरोहमा माओवादी फसेपछि भने रेखाले प्रचण्ड र पार्टी दुवै छोडिदिइन् ।
नेपालको राजनीतिमा बेग्लै स्थान बनाएका विप्लव र लोकप्रिय नायिका रेखाबीचको भेटमा आखिर के कुराकानी भयो होला त ? जिज्ञासा जाग्नु स्वभाविक नै हो । यही जिज्ञासा मेटाउन रेखासँग प्रश्न गरियो– ‘विप्लवसँग के कुरा भयो नि ?’

‘त्यस्तो खास र धेरै कुरा केही भएन ।’ रेखाले प्रष्ट्याइन्– ‘खुला राजनीतिमा आउनुभएकोमा बधाई दिन भेटेको हुँ । नेपालको समसामयिक राजनीति र यसको भविष्यबारे हल्काफुल्का कुरा भयो । देश र जनताको विषयमा छलफल भयो । उहाँको पार्टी, आगामी कार्यदिशा र योजनाको बारेमा मैले जिज्ञासा राखेँ, उहाँले आफ्नो कोणबाट कुरा राख्नुभयो । उहाँको सरल स्वभावबाट म प्रभावित भएँ ।’

सरकारसँग तीन बुँदे सहमति गरेर सार्वजनिक हुँदा राष्ट्रिय सभागृहबाट दिन खोजेको सन्देशमा विप्लव अडिग रहेको रेखाको भनाइ छ । उनी भन्छिन्, ‘उहाँले राष्ट्रियसभा गृहबाट जे म्यासेज दिनुभएको थियो, त्यो कुरामा अडानमा हुनुहुन्छ । जनतालाई केन्द्रमा राखेर, मजदुर, महिला र उत्पीडित वर्गबारे उहाँको स्पष्ट एजेन्डा छ । नेपाली जनताप्रतिको उहाँको त्याग र फकिरपन हामीलाई थाहा छ, कुनै पद र प्रतिष्ठाको लोभ नगरिकन क्रान्तिलाई निरन्तरता दिनु भएको हो । बोलेको कुरा उहाँले शतप्रतिशत पूरा गर्नुहुन्छ भन्ने कुरामा किन–किन म विश्वस्त छु ।’

विप्लवको प्रशंसा गर्दै रेखाले थप भनिन्- ‘कसैसँग नझुक्ने स्वभाव म उहाँमा पाउँछु । यो देशप्रति उहाँभित्र ठूलो निष्ठा छ । अनावश्यक रूपले ठूलो आशा नदेखाउने र आफूले भनेको कुरालाई कार्यान्वयन गर्न सक्ने एउटा राम्रो नेतृत्व, यो देशलाई चाहिने अभिभावकै रूपमा मैले उहाँलाई लिएकी थिएँ, भेटपछि मेरो सोच सही नै रहेछ भन्ने लागेको छ । माओवादीले उठाएर अलपत्र पारेका दलित, उत्पीडित, महिला आदिका जेन्युइन मुद्दालाई विप्लवले निरन्तरता दिनुहुनेछ भन्ने लाग्छ । त्यो कुरा समय–परिस्थितिमा पनि भर पर्छ ।’

समय–समयमा रेखाले विप्लवजस्तो युवा नेतृत्व नेपालको राजनीतिमा आउनुपर्छ भन्दै उनको प्रशंसा गर्दै आएकी थिइन् । यस कोणबाट भन्नुपर्दा विप्लवप्रति रेखाले दर्शाएको आशा र आदरभाव स्वभाविक नै हुन आउँछ ।

ज्ञातव्य छ, सरकारले प्रतिबन्ध लगाएपछि २ वर्ष भूमिगत रहेका विप्लव गत शुक्रबार सार्वजनिक भएका थिए । सार्वजनिक भएपछि विप्लवले आफूहरू नेपाली युवाको चाहनाअनुसार नयाँ ढङ्गले अगाडि बढ्न खोजेको बताएका छन् ।