यसरी ल्याइएको थियो सात सालको प्रजातन्त्र !

यसरी ल्याइएको थियो सात सालको प्रजातन्त्र !


(इतिहास)

जंगबहादुरले श्री ५ राजेन्द्र भारततर्फ जान लाग्दा ‘राजीनामा’ लेखाई सो राजीनामा जंगले साथै राखेका थिए तर मोहनशमशेरले त्यस विषयको वास्तै नगरी साथै जंगबहादुरको तत्कालीन १९०३/४ साल पुरानो समयका जनता र मोहनशमशेरको समयका अर्थात् २००७ सालको आधनिक, जागृति आइसकेका जनता समेतको ख्याल र वास्ता नगरी जंगबहादुरले गरेझैँ भाइभारदार, जंगी, निजामती उच्च पदाधिकारी करिब सबैको हस्ताक्षर गराई कठपुतली सभासद् समेतले यी क्रूर सामन्ती रोलवाला राणाहरूको आशयअनुसार निर्णय गऱ्यो जसमा भारतीय दूतावासतर्फ श्री ५ सपरिवार जाँदा बाजे हरिशमशेरकहाँ छोडी गएका चार वर्षीय बालक श्री ५ महाराजाधिराज त्रिभुवनका माहिला नाती युवराज ज्ञानेन्द्रलाई वि.सं. २००७ कार्तिक २२ गते, तदनुसार नोभेम्बर ७ ता १९५० ई. का दिन सिंहासनमा राखी नायव बडागुरुज्यू हेमराज पाण्डेले ‘राजमुकुट-श्रीपेच’ लगाइदिएर श्री ५ महाराजाधिराज घोषित गरियो ।

भोलिपल्टै अर्थात् शीघ्रातिशीघ्र कार्तिक २३ गतेका दिन ‘राज्याभिषेक’ को कार्यक्रमसमेत सम्पन्न गरे । साथै शीघ्रातिशिघ्र ‘रुपिया र मोहर’ समेतमा ज्ञानेन्द्रका नामबाट ‘टक’ छपाइयो ।

यसै अवसरमा भारतबाट मुक्तिसेना ‘रक्षादल’का साथै भारतीय गोर्खाली सेनासमेत मुक्तिसेनामै सम्मिलित भई संघर्ष गर्न काठमाडौं चार भञ्ज्याङभित्र पसिसकेका छन् भन्ने व्यापक होहल्ला काठमाडौंमा चल्यो । हप्ताको एक दिन काठमाडौं कलकत्ता चल्ने भारतीय वायुसेवा समेत नेपाल सरकारले रोक्यो । कार्तिक २४ गते, तदनुसार नोभेम्बर ९ ता. का दिन सबेरै भारतको रेडियो समाचारले श्री ५ महाराजाधिराज त्रिभुवन सपरिवार भारत नयाँ दिल्लीतर्फ जाने कुराको पुष्टि गऱ्यो ।

भोलिपल्ट अर्थात् कार्तिक २५ गते, तदनुसार नोभेम्बर १० ता. का दिन भारतीय सैनिक विमान (Air force) को दुइवटा डकोटा गौचर (हाल त्रिभुवन विमान स्थल) मा उत्रिए । श्री ५ त्रिभुवन सपरिवार गौचर हवाई मैदानतर्फ जान लाग्दा काठमाडौंको सडकमा जनताको अपार भीड लाग्यो । जनताले श्री ५ त्रिभुवनसमक्ष काठमाडौं छोडेर नजानका निमित्त आग्रह समेत गरे ।

साथै यी एकतन्त्रीय, निरङ्कुश शासकहरू विरुद्ध संघर्ष गर्दछौं भने । श्री ५ त्रिभुवनले ‘म औषधि उपचारका निमित्त भारततर्फ जाँदैछु, पछि अवश्य फर्किआउने छु’ भने । भारतीय दूतावास शितलनिवासबाट गौचर हवाई मैदान हाल त्रिभुवन विमानस्थलसम्म पुग्न मोटरमा श्री ५ त्रिभुवनलाई करिब ३ घण्टा लाग्यो । सोही दिन श्री ५ त्रिभुवन सपरिवार भारतको नयाँ दिल्ली ‘पालम हवाई मैदान’ (हाल इन्दिरा गान्धी हवाई मैदान)मा उत्रँदा भारतका तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीगणहरू, उच्च पदाधिकारीहरूका साथै विदेशी कुटनैतिकहरूले श्री ५ त्रिभुवनको स्वागत गरे र श्री ५ हरूलाई हैदराबाद हाउसमा राखे । भारत सरकारको तर्फबाट श्री ५ हरूको सुरक्षार्थ कम्पाउण्ड बाहिर चारैतर्फ कुना कुनामा समेत ‘सिक्स रेजिमेन्ट’ र कम्पाउण्डभित्र चारैतर्फ र महलभित्र भऱ्याङका तल माथि ठाउँ-ठाउँमा ‘गोरखा रेजिमेन्ट’ को कडा पहरा तैनाथ गरिएको थियो ।

यसै दिन साँझ महावीरशमशेरद्वारा खरिद गरिएको अर्थात् नेपाली काँग्रेसको डकोटा हवाईजहाँजद्वारा काठमाडौं, ललितपुर, भक्तपुर तीनै शहर माथिबाट यी क्रूर सामन्ती राणाहरुको विरुद्ध प्रचार गरिएको पर्चा भीमभक्तमानसिंह बस्नेतले छरी सो हवाईजहाज सकुशल भारत कलकत्ताको डम-ठम हवाई मैदानमा फर्क्यो । भोलिपल्ट कात्तिक २६ गते, तदनुसार नोभेम्बर ११ ता. का दिन सम्पूर्ण तराई क्षेत्रमा पनि सोही हवाईजहाजद्वारा सोही पर्चा छरियो । यसले नेपाली जनतामा ‘रक्तबीज’ झैँ जागरण उत्पन्न गऱ्यो, क्रान्तिको चेतना अझ जाग्रित भयो । नेपाली काँग्रेसले आफ्ना सेनाका जवानहरूलाई ‘मुक्तिसेना अथवा रक्षादल’ को नाउँबाट सम्बोधन गरी तुरुन्त सशस्त्र क्रान्ति छेड्ने निर्णय गऱ्यो ।