७५ वर्षीया वृद्धाको हत्या गर्ने फरार अभियुक्त पक्राउ

७५ वर्षीया वृद्धाको हत्या गर्ने फरार अभियुक्त पक्राउ


  • विकास रौनियार, धादिङ

जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने मुद्धामा संलग्न ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत पुष २४ गते धुनीवेशी नगरपालिका ४ धादिङकी ७५ वर्षीया सान्नानी सार्कीको हत्या गरि फरार भएका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।

पक्राउ पर्नेमा घटनामा संलग्न मकवानपुरका २५ वर्षीय अनिल थिङ भन्ने जयबहादुर सिंगार, खोटाङका ३२ वर्षीय साजन विक, ओखलढुङ्गाका अविसराज कार्की रहेका छन् । त्यसैगरी, लुटिएको गरगहना खरिद गर्नेमा काभ्रे जिल्ला घर भइ हाल काठमाडौं कालिमाटीमा धनरत्न सुन चाँदी पसलका संचालक ४२ वर्षीय धनबहादुर कालिराज र सुन बिक्री गर्न सघाउने नुवाकोटकी ३३ वर्षीया पुष्पा कुमारी पौडललाई पक्राउ गरिएको हो ।

एसपी खड्काका अनुसार प्रतिवादीहरुले वृद्धाको ज्यान लिनुका साथै निजले लगाएको गरगहना समेत लुटेर लगेका थिए । लुटेर लगेको गरगहना ५० हजार ३८९ नगदमा बिक्री गरी रकम भागबन्डा गरेको अनुसन्धानबाट खुलेको हो । प्रहरीको विशेष अनुसन्धानमा उनीहरु विभिन्न समय र ठाउँबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट सुनका गरगहना समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिवादीहरुविरुद्ध मुलकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर र सोही संहिताको परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धीको कसुरमा अनुसन्धान भैरहेको एसपी खड्काले बताउनुभयो ।