शिलान्यासको १८ वर्षपछि संचालनमा आयो इएनटी अस्पताल

शिलान्यासको १८ वर्षपछि संचालनमा आयो इएनटी अस्पताल



सरकार निर्माणको साँचो कांग्रेससँग रहेको कांग्रेस महामन्त्रीको दाबी

हेमशंकर सिंह, राजविराज

शिलान्यास भएको झण्डै १८ वर्षपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा कान, नाक र घाँटीेसम्बन्धी अस्पताल सञ्चालनमा आएको छ ।

साविकको तिलाठी गाउँविकास समिति र हालको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ को तिलाठी गाउँमा शुक्रबारदेखि विधिवत रुपमा सो अस्पताल सञ्चालनमा आएको हो ।

नेपाली कांग्रेसका नेता समेत रहेका तिलाठी निवासी डा. अनिल कुमार झाको अगुवाईमाा त्यहाँ १८ वर्षअघि तृप्तीनारायण मेमोरियल इएनटी अस्पतालको शिलान्यास भएको थियो । त्यतिबेला त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा कार्यरत डा. शंशाक कोइरालाले अस्पतालको शिलान्यास गरेका थिए ।

यतिबेला नेपाली कांग्रेसका महामन्त्री रहेका डा. कोइरालाले नै आज शुक्रबार सो अस्पतालको उद्घाटन गरेका छन् । अस्पतालको उद्घाटन गर्दै महामन्त्री डा. कोइरालाले करिब २० वर्षअगाडि अस्पतालको अवधारणा आपूmले नै अस्पतालका अध्यक्ष डा. अनिल झालाई दिएको स्मरण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार छिट्टै आँखा सम्बन्धि सेवा समेत सञ्चालन गरिने बताए ।

अस्पतालका महासचिव ई. किशोरकुमार झाले कान, नाक र घाटीसम्बन्धी विशेषज्ञ सेवा प्रधान गर्दै अस्पताललाई निकट भविष्यमा तालिम केन्द्रको रुपमा विकसित गरिने उनले बताए ।

अस्पताल सञ्चालनका लागि अध्यक्ष झाको परिवारबाट २ विघा जग्गा उपलब्ध गराइनुको साथै रोटरी फोउण्डेसनबाट अस्पतालाई उपकरण प्राप्त भएको जानकारी समेत उनले दिए ।

सोही कार्यक्रममा बोल्दै तिलाठी कोइलाठी गाउँपालिका वडा नम्वर १ का अध्यक्ष दिनेश्वर मिश्रले अस्पताल संचालनमा सहयोग पर्‍याउन आफ्नो तर्फबाट १ लाख ५१ हजार नगद सहयोगको घोषणा गरे ।

अस्पतालका जग्गादाता र अस्पताल निर्माणमा सहयोग पुर्‍याउने प्राडा शैलेन्द्रकुमार झा, सुगान्द झा, रविनाथ झा, शैलासकुमार झा र रविकान्त झालाई नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले दोसल्ला ओढाएर सम्मान गरे ।

यसैगरी कांग्रेस महामन्त्री डा. कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउनुपूर्व नै भावी प्रधानमन्त्रीको निर्णय हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित तृप्तिनारायण मेमोरियल अस्पतालको उदघाटन गर्दै डा. कोइरालाले सो धारणा व्यक्त गरेका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदमा ल्याइने अविस्वासको प्रस्तावको नेपाली कांग्रेसले समर्थन गर्नुपर्छ तर कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालमध्ये को प्रधानमन्त्री हुने हो त्यसको पनि निर्णय पहिले नै गर्नुपर्छ’– उनले भने ।

देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको र दुई कम्युनिष्ट पार्टी फुटेको जस्तो नफुटेको जस्तो अवस्थामा रहेका बेला सरकार निर्माणको साँचो कांग्रेससँग रहेको तर्कसमेत उनले गरे ।