बलात्कारआरोपी कारागार चलान

बलात्कारआरोपी कारागार चलान



एक वर्षअघि भएको बलात्कार घटनाका आरोपितलाई अदालतले कारागार चलान गरेको छ । सप्तरी जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय मो. समरुद्दिन मियाँलाई शुक्रबार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेको हो ।

एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले बुधबार पक्राउ गरेको थियो । प्रहरीले आरोपितलाई अदालतमा पेश गरेकोमा अदालतले थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

आफ्नी आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।

खडक नगरपालिका-६ स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको आँपको बगैँचामा ०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितको भ नाइ छ । पीडितका अनुसार चिनजानका आरोपितले केही जरुरी कुरा गर्नु छ भनी आँपको बगैँचामा लगेर नियन्त्रणमा लिई डर, धाक, धम्की देखाई अनुचित प्रभावमा पारी मुख थुनी, भाग्न उम्कन, रुन कराउन नदिई बलात्कार गरेको र कसैलाई भने ज्यान मार्ने डर, धाक दिए थिए ।