बर्दिया निकुन्जमा बाघले पुनः लियो मानिसको ज्यान

बर्दिया निकुन्जमा बाघले पुनः लियो मानिसको ज्यान


निकुन्ज क्षेत्र आसपासमा त्रास

सनत आचार्य

बर्दिया राष्ट्रिय निकुन्जमा बाघले झम्टेर एक जना वृद्धलाई लगेको छ ।

भैँसी चराउन गएका राजापुर नगरपालिका-१० कालाबन्जाराका ६५ वर्षीय लालबहादुर थारुलाई सोमबार करिव ४ बजेको आसपासमा बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने कर्णाली नदीको टापुबाट झम्टेर लगेको हो ।

घटनाका प्रत्यक्षदर्शी एवम् मृतकका दाजु बजारु थारुले भाइलाई बाघले आक्रमण गरेर लगेको देखेपछि प्रहरी चौकी मनाउमा खबर गरेका थिए ।

प्रहरीले खबर पाएलगत्तै प्रहरी चौकी मनाउले इलाका प्रहरी कार्यालय पाताभारलाई जानकारी गराएको थियो । जानकारी पाएलगत्तै इप्रका पाताभारले नेपाली सेनाको बन्जरिया पोष्टसँग समन्वय गरी नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले लालबहादुरको खोजी गरेको थियो ।

घटना घटेको स्थानवरपर खोजतलास गर्ने क्रममा लालबहादुरको शव बेलुकी पौने ७ बजे घटना घटेको टापुको करिव ३ सय मिटर उत्तर-पूर्व झाडीमा फेला परेको थियो ।

प्रहरीले मृतक थारुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पठाएको छ ।

यसरी दिनदहाडै बाघको आक्रमण बढेपछि सो स्थानवरपरका बासिन्दाहरूमा त्रास बढेको छ ।

बर्दिया राष्ट्रिय निकुन्जमा बाघले मान्छे झम्टेर लग्ने गरेको यो पहिलो घटना होइन । गत पुष १७ गते पनि बर्दिया राष्ट्रिय निकुन्जको कर्णाली-चिसापानी खण्डमा कैलाली लम्कीचुहा नगरपालिका–४ की ४५ वर्षीया नन्दकला थापालाई छोराले चलाएको मोटर साइकलबाट झम्टेर लगी निकुन्जभित्र मृत अवस्थामा शव फेला परेको थियो । थापाको भोलिपल्ट टाउको, घाँटी र खुट्टाका डुँडुलोसमेत खाएको अवस्थामा निकुन्जका सुरक्षाकर्मीहरुले फेला पारेका थिए ।

पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुन्ज र यसको आसपासका क्षेत्रमा बाघको आक्रमण बढ्दो छ । गत एक वर्षमा मात्र बाघले बर्दिया जिल्लाको गेरुवा आसपासको क्षेत्रबाट ६ जना स्थानीयको ज्यान लिइसकेको छ ।