अवैध रकम विदेश लैजान खोज्ने यात्रु विमानस्थलबाट पक्राउ गर्ने असई पुरस्कृत

अवैध रकम विदेश लैजान खोज्ने यात्रु विमानस्थलबाट पक्राउ गर्ने असई पुरस्कृत



सनत आचार्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको १० लाख रकम नियन्त्रणमा लिन सफल प्रहरी सहायक निरीक्षक (असई) राजाबाबु यादवलाई पुरस्कृत गरेको छ ।

असई यादवले गत माघ १६ गते नेपाल एअरलाइन्सको काठमाडौं–दुबई उडानबाट दुबई जान लागेका काठमाडौं–१४ कलंकीनिवासी आशिष खाती क्षेत्रीबाट स्रोत नखुलेको १० लाख नगदसहित उनलाई नियन्त्रणमा लिएका थिए ।

कालो रङ्गको ब्यागमा स्रोत नखुलेको र उद्घोषसमेत नगरेको १० लाख रकम लुकाइछिपाइ लैजान खोजेको अवस्थामा एक्सरे मसिनद्वारा उल्लिखित रकम पत्ता लगाइ नियन्त्रणमा लिएका कारण उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

‘यादवलाई आफ्नो ड्युटी समयमा तोकिएको जिम्मेवारीलाई विभागीय मूल्यमान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च व्यवसायिकता र लगनशीलताका साथ कार्यपथमा तल्लिन रही उच्च मनोबलका साथ काम गरेकोले पुरस्कृत गरिएको’ त्रिभुवन अन्र्तराष्ट्रिय सुरक्षा कार्यालयले जनाएको छ ।

असई यादवलाई पुरस्कृत गर्दै त्रिभूवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले मातहतका प्रहरीले इमान्दारिताका साथ काम गरे विमानस्थलभित्र हुने सबै प्रकारका गैरकानुनी क्रियाकलाप निस्तेज हुने बताउनुभयो । अझ उच्च मनोबलका साथ काम गर्न सबै प्रहरीलाई उहाँले आग्रहसमेत गर्नुभयो ।

त्रिभूवन विमानस्थल सुरक्षा कार्यालयका डिएसपी सुमित खड्काले विगत केही दिनयता नेपालबाट विदेश जान लागेका यात्रुहरूबाट अवैध मुद्रा फेला पर्न थालेको र यसलाई विमानस्थल सुरक्षा कार्यालयले अत्यन्त सजगता अपनाइ कडाइका साथ चेकजाँच गर्ने गरेको बताए ।

डिएसपी खड्काले फागुन ११ मा पनि एक जना बेलायती नागरिक नेल उइलियम ग्रिनउडबाट २६ हजार ३ सय १० अमेरिकी डलर बरामद भएको र निजलाई आवश्यक अनुसन्धान र कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाएको जानकारी दिए ।